कसरी मनाइन्छ नयाँ वर्ष ? सबैका आ-आफ्नै तरिका

आज बाट विक्रम संवत् २०७७ साल हामीमाझ आइपुगेको छ । नयाँ वर्ष, नयाँ उमंग, नयाँ उल्लास, नयाँ थालनी । सबै कुरा नयाँ छ आज । वर्षभरि रमाइलो होस् भन्ने कामनाका साथ धूमधामले नयाँ वर्ष मनाइदै छ ।

एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन छ । पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाई नयाँ वर्ष भनिन्छ । नयाँ वर्ष विश्वमा अलग-अलग तिथिमितिमा फरक-फरक तरिकाले मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न नयाँ वर्ष मनाइन्छ । तीमध्ये विक्रम संवत्को नयाँ वर्षको सुरुवात वैशाख एक गतेदेखि हुन्छ । नयाँ वर्ष फरक प्रकारको उत्साह एवं विश्वासको क्षणका रूपमा मनाइने नेपाली संस्कृति रहिआएको छ । लहरा तथा रुख-बिरुवामा देखिने नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावा अनि कोइलीको कुहूकुहू र अन्य चराहरूको चिर्बिरले सजिएको वसन्तऋतुको  मनोरम दिनहरूसँगै नवीन उमङ्ग, उल्लास एवं आशा लिएर विक्रम संवतको नयाँ वर्षको आगमन हुन्छ ।

नेपालको राष्ट्रिय पात्रो पनि हिन्दू पञ्चाङ्गमा आधारित विक्रम संवतअनुसार छ । यो प्राचीन हिन्दू परम्परा एवं वैदिक गणितमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (इस्वी संवतको पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । विक्रम संवत् नेपालमा आधिकारिक रूपमा चन्ऽ शमशेरको पालादेखि सुरू भएको हो ।

संस्कृतिका ज्ञाताहरु भन्छन्-‘विश्वमै समय गणनाका विभिन्न आधार प्राचीन कालदेखि नै चलिआएको पाइन्छ । पश्चिममा विभिन्न एरा तथा भारतवर्षमा युगको चलन छ । तिनै युगहरूभित्र पनि समयका विभिन्न चक्रका रूपमा संवत्लाई लिइन्छ । संवत्को अर्थ वर्ष, साल, इयर आदि हुन् । कालगणनाअनुसार तिनै फेरिने क्रममा अर्थात् पुरानो वर्ष पूरा भएर नयाँ वर्ष लाग्ने क्रममा त्यसलाई विशेष उत्साह एवं उमङ्गका साथ मनाइने विश्वव्यापी चलन छ । अहिलेसम्म विश्वमा कहिलेदेखि नयाँ वर्ष मनाउन थालियो भन्ने कुनै स्पष्ट प्रमाण छैन तैपनि पृथ्वीमा जहिलेदेखि समयको गणना वर्षमा गन्ने चलनको विकास भयो, त्यहीँबाट नयाँ वर्ष मनाउने चलन चलेको हो भन्न सकिन्छ । नेपालमा विभिन्न किसिमका नयाँ वर्ष मनाइन्छन् । तीमध्ये विक्रम संवत् पनि एक हो ।

विक्रमादित्यले चलाएको मानिने यो संवत् कहिलेदेखि, किन र कसले चलायो भन्ने विषयमा विद्वान्हरूबीच मतैक्य छैन । विक्रमको अर्थ पराक्रम भएको हुँदा यो उज्जैनका विक्रमादित्यले चलाएका हुन् कि गुप्त शासकहरूमध्ये कसैले चलाएका हुन् कुनै टुङ्गो छैन । कतिपयले यो संवत् नेपालकै एक राजाबाट चलाइएको हो समेत भनेका छन् तर त्यसको पनि पर्याप्त आधार पाइँदैन । यसमा पनि अलि भरपर्दो के देखिन्छ भने भारतको मालवा राज्यमा गणतन्त्र आएपछि विक्रम संवत् त्यहीँबाट ईशापूर्व ५७ देखि सुरु भएको हो ।

विक्रम संवत् सौरमानअनुसार सूर्य मेष आदि १२ राशिमा प्रवेश गर्दै जाँदा मीनपछि फेरि मेष राशिमै प्रवेश गरेपछि एक चक्र पूरा हुन्छ र नयाँ वर्ष फेरिन्छ । नेपालमा भने विक्रम संवत् लिच्छवि कालतिरदेखि नै चलिआएको पाइन्छ । यो दिनलाई नेपालमा धर्म एवं संस्कृतिसँग पनि जोडिएको पाइन्छ ।

नेपालीको नयाँ वर्षका रूपमा प्रचलित मेष संक्रान्ति अर्थात् वैशाख संक्रान्तिलाई हर्षोल्लासपूर्वक मनाइन्छ । यसले नयाँ आशा सञ्चार गराउने भएकाले पुरानो कुरा छाडेर नवीनतातर्फ पाइला चाल्ने सुअवसरका रूपमा नेपालीहरूले नयाँ वर्ष मनाउने संस्कृति पछ्याएका हुन्  । नयाँ वर्षको दिन सूर्य मीन राशिबाट मेष राशिमा सर्छ । मेष सूर्यको उच्च राशि पनि हो । फेरि मेष राशिको स्वामी मंगललाई ज्योतिष शास्त्रमा सूर्यको मित्र राशि मानिन्छ । यी दुई प्रक्रियालाई हेर्दा के भन्न सकिन्छ भने जसरी मित्रको घरमा गएर बस्दा आनन्द र खुसी प्राप्त हुन्छ, उच्च पदमा पुग्दा उत्सव मनाइन्छ त्यसरी नै सूर्यको अवस्थिति विचार गरेर नयाँ वर्षका दिन उत्सव एवं मांगलिक कार्य गर्ने चलन चलेको हो ।

सूर्य चराचर जगत्को जीवनको आधार हो । मानव जातिको पनि सूर्यसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैले नयाँ वर्षको दिन रमाइलो गर्ने चलन चलेको हो । धार्मिक हिसाबले हेर्दा ग्रहजन्य पीडा हटाउन गरिने सानो कार्यबाट पनि ठूलो फल मिल्ने भएकाले यज्ञ-अनुष्ठान आदिका लागि यो दिन शुभ मानिन्छ ।’

हामीकहाँ नयाँ वर्षले धार्मिक स्वरूप मात्र ग्रहण नगरी सामाजिक प्रचलनलाई समेत अँगालेर समाजमा नयाँ उत्साह सञ्चार गराउँदै आएको छ । आफ्नो परम्परा, धर्म, संस्कृति एवं सभ्यताको रक्षाका लागि नयाँ वर्ष मनाउनु त छँदै छ त्यसबाहेक वर्षभरिका तीतामीठा पलहरूलाई बिसाएर नवीन उत्साहका साथ नयाँ दिन थाल्ने र सुरुको दिन राम्रो बनाएपछि वर्षभरि नै राम्रो हुने विश्वास बोकेर नयाँ वर्ष मनाउनुपर्ने भनाइ छ । प्राचीनकालमा नेपालमा नयाँ वर्ष मनाउन विभिन्न मठ-मन्दिरमा पूजाआजा गरिन्थ्यो भने अहिले शुभकामना आदान-प्रदान गरेर तथा नयाँ कपडा लगाएर नयाँ वर्ष मनाउने चलनको विकास भएको छ ।

आम मानिसमा पनि नयाँ वर्ष भन्नासाथ खुसी र उमङ्ग सञ्चार हुन थाल्छ । उत्सवका रूपमा मनाइने भएकाले नेपाली लोक जीवनमा नयाँ वर्षको विशेष स्थान छ । नयाँ वर्ष मनाउने सबैको आ-आफ्नै तरिका भए पनि यो उत्सव शुभ होस् भन्ने साझा उद्देश्यका साथ मनाइन्छ । यो मानव वा कुनै पनि संघसस्थाले गरेका वर्ष दिनको कामको समीक्षा पनि हो । त्यसैले यो दिन विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन प्रयत्न गरिन्छ ।

नयाँ वर्षका दिन आपसमा सद्भावको आदानप्रदान गर्ने, शुभकामना लिने दिने, साथीभाइ ईष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाने आदि गरिन्छ । यो दिन नेपालमा सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।

यो त भयो विक्रम संवत्को कुरा । यो बाहेक पनि नेपालमा अन्य विभिन्न समुदायको नयाँ वर्ष मनाइन्छन् । ती के के हुन् त ?

नेपाल संवत्

नेपाल संवतलाई नेपालको मौलिक संवत पनि मानिन्छ । यसको सुरुवात शंखधर साख्वाले गरेका थिए । नेपाल संवत् ११३३ वर्ष पहिले भक्तपुरका राजा राघव देवको आज्ञामा चलाइएको थियो । यो संवत् नेपालमा चन्ऽसमशेर राणाको कार्यकालसम्म औपचारिक रूपले प्रचलनमा रहृयो । यो संवत्को पहिलो दिन विक्रम संवतको कार्तिक शुक्ल पक्ष प्रतिपदाका दिनमा हुन्छ । यो दिनलाई विशेषतः नेवार समुदायले न्हुदँ अर्थात् नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । यो संवत्मा एक औँसीबाट अर्काे औँसीलाई एक चन्ऽमास भनिन्छ । १२ औँसीको एक वर्ष हुन्छ त्यसैले ३५४ दिनको एक वर्ष हुन्छ । तीन वर्षमा एकचोटि अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना आउँछ ।

ल्होसार

ल्होसार नेपालमा तामाङ, शेर्पा, गुरुङ, थकाली आदि जातिले नयाँ वर्षको आरम्भको रूपमा मनाउँछन् । ‘ल्होछार’ शब्दमा ‘ल्हो’ को अर्थ वर्ष वा साल हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने हुन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर आदि वर्ष भनेर पशुपक्षी तथा जीवजन्तुका नामबाट राखिएको पाइन्छ । बाह्र वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ । यसरी यी समुदायले बार्‍ह वर्षको एक युगको परिकल्पना गरेको हुनसक्छ । नेपालमा ल्होसार पनि तमु, सोनाम र ग्याल्पो गरी तीन प्रकारका छन् जुन फरक-फरक समयमा मनाइन्छन् ।

इस्वी संवत्

इस्वी संवत् ग्रेगोरियन क्यालेण्डर वा क्रिश्चियन क्यालेण्डरमा आधारित साल हो । यसमा जनवरी १ तारिखको दिनमा नयाँ वर्षको सुरुवात हुन्छ । यो दिन विशेष क्रिश्चियन धर्मालम्बीहरूले नयाँ वर्षको रूपमा मनाउने भए तापनि हिजोआज विश्वका प्रायः सबै देशहरूमा यही दिन नयाँ वर्ष मनाउने गरिन्छ । यो संवत् विश्वमै बढी चलेको संवत् मानिन्छ । नेपालमा पनि यो संवत् अनुसारको नयाँ वर्ष धूमधामका साथ मनाइन्छ ।

हिजरी संवत्

इस्लामी पञ्चाङ्ग वा क्यालेण्डर वा मुस्लिम क्यालेण्डरअनुसार हिजरी संवत् मनाइन्छ । यो चन्ऽमानमा आधारित क्यालेण्डर हो । इस्लामिक धार्मिक पर्व यसै पात्रोअनुसार मनाइने हुँदा यो संवत् इस्लामिक मुलुकहरूका साथै विश्वभर छरिएर रहेका मुस्लिमहरूले जानकारीमा राखेका हुन्छन् ।  यो संवत्अनुसार वर्षमा बार्‍ह महिना तथा ३५४ वा ३५५ दिन हुन्छन् । यो सौर क्यालेन्डरदेखि ११ दिन कम छ । तर यसमा इस्लामिक धार्मिक तिथिहरू स्थिर हुन्छन् तसर्थ प्रत्येक वर्ष पछिल्लो सौर क्यालेण्डरदेखि ११ दिन पछि हुन जान्छन् । जसलाई हिजरा वा हिजरी पनि भनिन्छ । हजरत मुहम्मद मक्काबाट मदीना फर्किएको दिनदेखि हिजरी संवत् सुरु भएको मानिन्छ । इस्लामी क्यालेण्डरका महिनाहरू मुहर्रम, सफर, रबी अल अव्वल, रबी अल थानी, जुमाद अल उला, जुमाद अल थानी, रज्जब, शआबान, रमजाÞन, शआबान, धू अल किदाह र धू अल हिज्जाह हुन् । नेपनमा पनि मुस्लिम समुदायले यो संवत् मनाउने गरेका छन् ।

नयाँ वर्ष मनाइन्छ कसरी ?

विभिन्न देशमा नयाँ वर्ष मनाउने मौलिक तरिका छन् ।

हाम्रो छिमेकी देश भारतमा स्थानैपिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ । बङ्गालमा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाचगान र हाँसखेल गरिन्छ । कुमाउ र गढवालमा नयाँ वर्षको दिनमा पहेंलो लुगा लगाएर आफ्नो बन्धुलाई उपहार प्रदान गरिन्छ । आसाममा यस दिन पशुको पूजा गर्दछन् । पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै गणेश र लक्ष्मीको पूजा गरी सामूहिक रूपमा नाचगान गरिन्छ । राजस्थानमा पनि नयाँ वर्षको अवसरमा मीठामीठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ भने जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन समेत रहेको पाइन्छ ।

हाम्रो छिमेकी देश चिनमा नयाँ वर्ष लुनार (चन्द्रमामा आधारित) पात्रोको शुरुवातसँगै सुरु हुन्छ । त्यो दिन आकाशमा नयाँ चन्ऽमा हुन्छ जुन १४ दिनपछि लालटिन पर्वसँगै अन्त्य हुन्छ । चिनियाँ पात्रो र मितिहरू चन्ऽमामा आधारित हुन्छन् । चिनियाँ नयाँ वर्ष -स्प्रीङ फेस्टिवल) विश्वभर फैलिएका चिनियाँहरूले धूमधामका साथ मनाउँछन् ।

बिदाको दिन साँझमा चिनियाँहरू परिवारमा जम्मा भई खाना खान आउने गर्दछन् । त्यो खानालाई ‘रेयुनिनल डिनर’ भन्ने गरिन्छ । हाम्रो दशैंमा जस्तै चिनियाहरू जतिसुकै टाढा गएका भए पनि यो समय आफ्नो परिवारसँग भेट्ने कोसिस गर्छन् । खानामा रमाइलो गर्नुको साथसाथै परिवार सँगै नयाँ वर्षको सन्ध्याको पर्व पनि हेर्ने गर्छन । विवाहित छोरीहरू पनि आफ्नो आमाबुबालाई भेट्न माइत जाने गर्छन् ।

नयाँ वर्षको सुरुवातका पहिला केही दिनहरूमा चिनियाँहरू आफ्नो हजुरबुबा हजुरआमा, आमाबुबा साथीहरू र नातेदारहरूसँग भेटघाट गर्ने गर्छन । वृद्ध तथा विवाहित मानिसहरू बच्चाहरूलाई रातो कागजवाला प्याकेट दिन्छन् । त्यो प्याकेटभित्र पैसा हुन्छ जुन भाग्यले दिएको विश्वास गरिन्छ ।

चिनियाँहरू घुम्न जाँदा नयाँ कपडाहरू लगाएर जाने गर्छन् जुन प्रायः रातो रङ्गको हुन्छ । उनीहरू एकहर्कालाई शुभकामना दिन विशेष वाक्यांशहरू प्रयोग गर्छन् । शुभकामनाका लागि म्यान्डारिन सुन्तला पनि साटासाट गर्छन् ।

नयाँ वर्ष उत्सवको अन्तिम दिन अर्थात् लालटिन पर्वका दिन सबैजसो घरमा परिवारहरू जम्मा भई चिप्लो चामलबाट बनेको परिकार पकाउँछन् र यी परिकारहरूलाई गुलियो सुपसँग खान्छन् । सबैतिर लालटिनहरूले सजाइएको हुन्छ । यो दिनमा परम्परागत रुपमा युवक तथा युवतीहरूले आफ्नो जीवनसाथी छान्ने चलन रहिआएको छ ।

इन्डोनेसियामा नयाँ वर्षलाई ‘गोलुगान’ भन्छन् । त्यसदिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन् । मीठामीठा परिकार खाएर एक आमसमा बधाई तथा शुभकामना व्यक्त गर्दछन् ।

मङ्गोलियामा नयाँ वर्षका दिन रातभरि जागा रहेर आˆना आमाबाबु तथा मान्यजनबाट आशीर्वाद लिने तथा मीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।

खाडी मुलुक कुवेतमा नयाँ वर्षको अवसरमा रातभरि घरमा दीपावली गरी खुसीले शुभकामना आदानप्रदान गरी नाचगान गर्छन् ।

मेक्सिकोमा जनजातिको वाहुल्य भएको स्थानमा नयाँ वर्षका दिन चर्चमा गएर रमाइलो गर्छन् । यस दिन सामूहिक विवाह गर्ने चलन पनि छ ।

जर्मनीमा नयाँ वर्षका दिन पानीले भरिएको धातुको भाँडामा सिक्का खसालेर त्यसको आकृतिलाई नियाली भविष्यवक्ताहरूले सर्वसाधारणको भविष्यवाणी गर्ने चलन छ ।

पोर्चुगलमा नयाँ वर्षको दिन साँढे जुधाएर रमाइलो गर्नुका साथै सहरभरि धुनी जगाएर पटाकावाजी गरेर धूमधामका साथ रम्ने रमाउने प्रचलन छ ।

बेलायतमा ३१ डिसेम्बरदेखि नै झिलिमिली बत्ती बालिन्छ । मानिसहरू नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाच्छन् भने रातको ठीक १२ बजे बढाइँ हुन्छ । यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुआत भएको भन्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *