के हो हिन्दू धर्म, कुन ग्रन्थमा के लेखिएको छ ?

अधिकांश हिन्दूहरूलाई आफ्नो धर्मग्रन्थ पढ्ने फुर्सद छैन । वेद, उपनिषद त टाढाको कुरा उनीहरू गीतासम्म पनि पढ्दैनन् जब कि सरसर्ती पढ्ने हो भने यसलाई एक डेढ घन्टामै पढिसकिन्छ । जब कि कतिपय अवस्थामा मानिसहरू सात सात दिनसम्म भागवत पुराण सुन्न, रामचरितमानस तथा रामायण अखण्ड पाठ गर्न वा नवाह लगाउन समेत फुर्सद निकाल्छन् अथवा घरमा सत्यनारायण आदि पूजा तथा कथा श्रवण गर्नका लागि समय निकाल्छन् । यहाँनेर बुभ\mनुपर्ने कुरा के छ भने पुराण, रामायण, महाभारत आदि हिन्दूहरूको धर्मग्रन्थ होइन । धर्मग्रन्थ त वेद नै हो ।

शास्त्रहरूलाई दुई भागमा बाँडिएको छ- श्रुति र स्मृति । श्रुति भन्नाले वेद बुझिन्छ जुन हिन्दूहरूको धर्मग्रन्थ हो वा भनौं यो हिन्दूहरूको संविधान हो । स्मृतिअन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृतिहरू पर्दछन् । वेदको सार उपनिषद हो भने उपनिषदहरूको सार गीता हो ।

वेदमा के छ ?

वेदमा ब्रह्म -परमेश्वर), देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, संस्कार, रीतिरिवाज आदि लगभग सबै विषयसँग सम्बन्धित ज्ञान समाहित छ ।  वेद चारवटा छन्- ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । चारै वेदका उपवेद पनि छन् । ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्ववेद तथा अथर्ववेदको स्थापत्यवेद उपवेद हुन् । वेदका मन्त्रहरूलाई ऋचा भनिन्छ ।

ऋग्वेद

ऋक् को अर्थ हुन्छ- स्थिति एवं ज्ञान । यसमा भौगोलिक स्थिति एवं देवताहरूलाई  आवाहन गर्ने मन्त्रहरू छन् । ऋग्वेदका ऋचाहरूमा देवताहरूको प्रार्थना, स्तुति एवं देवलोकमा उनीहरूको स्थिति वर्णन गरिएको छ । यसमा जल चिकित्सा, वायु चिकित्सा, सौर चिकित्सा, मानस चिकित्सा एवं हवनद्वारा चिकित्साका विषयमा जानकारी पाइन्छ ।

यजुर्वेद

यजु को अर्थ हुन्छ- गतिशील आकाश एवं कर्म । यजुर्वेदमा विभिन्न यज्ञ विधि एवं यज्ञहरूमा प्रयोग गरिने मन्त्रहरू छन् । यसमा तत्वज्ञान अर्थात् रहस्यमयी ज्ञानको वर्णन पनि पाइन्छ । जसअन्तर्गत ब्रह्माण्ड, आत्मा, ईश्वर एवं पदार्थको ज्ञान पर्दछन् । यो वेदका दुई शाखा शुक्ल यजुर्वेद एवं कृष्ण यजुर्वेद छन् ।

सामवेद

साम को अर्थ हुन्छ- रूपान्तरण एवं संगीत । यो वेदमा ऋग्वेदकै ऋचाहरूको संगीतमय रूप पाइनछ । यसमा सविता, अग्नि, इन्द्र आदि देवताको उल्लेख पाइन्छ । यसमा शास्त्रीय संगीत एवं नृत्यको उल्लेख गरिएको छ । यो वेदलाई संगीत शास्त्रको मूल स्रोत मानिन्छ । यसमा संगीतको विज्ञान तथा मनोविज्ञानको वर्णन पनि पाइन्छ ।

अथर्ववेद

थर्वको अर्थ कम्पन हो भने अथर्व को अर्थ हुन्छ- अकम्पन । या वेदमा रहस्यमयी विद्या, जडिबुटी, जादू तथा चमत्कार, आयुर्वेद आदिको उल्लेख पाइन्छ । यसमा भारतवषर्ीय परम्परा एवं ज्योतिषीय ज्ञान समेत पाइन्छ ।

उपनिषद् के हो

उपनिषद् वेदको सार अर्थात् निचोड हो । उपनिषद् भारतवर्षीय आध्यात्मिक चिन्तनको मूल आधार हो । आध्यात्मिक दर्शनको स्रोत हो । ईश्वर छ कि छैन, आत्मा छ कि छैन, ब्रह्माण्ड कस्तो छ आदि सम्पूर्ण गम्भीर विषय, तत्व ज्ञान, योग, ध्यान, समाधि तथा मोक्षको कुरा उपनिषद्मै पाइन्छ । उपनिषद्को अध्ययन गर्नु प्रत्येक हिन्दूको कर्तव्य हो । उपनिषद्को अध्ययन गर्नाले ईश्वर, आत्मा, मोक्ष एवं जगतका विषयमा वास्तविक ज्ञान प्राप्त हुन्छ ।

उपनिषद्लाई वेदान्त पनि भनिन्छ । वेदान्तको अर्थ हुन्छ- वेदको अन्तिम भाग । उपनिषद्मा तत्वज्ञानको चर्चा छ । उपनिषद्को संख्या १०८ वटा भए पनि १२ वटालाई मुख्य मानिएको छ । ती हुन्- ईशावास्योपनिषद्, केनोपनिषद्, कठोपनिषद्, प्रश्नोपनिषद्, मुण्डकोपनिषद्, माण्डूक्योपनिषद्, तैत्तिरियोपनिषद्, ऐतरेयोपनिषद्, छान्दोग्योपनिषद्, बृहदारण्यकोपनिषद्, कौषीतकि उपनिषद् तथा श्वेताश्वेतरोपनिषद् ।

षड्दर्शन के हो ?

षड्दर्शन वेदबाटै निक्लिएको हो । वेद तथा उपनिषद्हरूको अध्ययन गरेर त्यसकै आधारमा ६ जना ऋषिहरूले ६ वटा मौलिक दर्शन निर्माण गरे जुन षड्दर्शनका रूपले चिनिन्छ । षड्दर्शन हुन्- न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्त । वेदका अनुसार सत्य अर्थात् ईश्वरलाई कुनै एउटा माध्यमबाट मात्र जान्न सकिँदैन । यसैकारण वेदले थुप्रै मार्ग तथा माध्यमको चर्चा गरेको पाइन्छ ।

गीतामा के छ ?

महाभारतको १८ पर्वमध्ये एक भीष्मपर्वको हिस्सा हो गीता । गीतामा पनि जम्मा १८ अध्याय नै छ । यसमा जम्मा श्लोकसंख्या ७०० छ । श्रीकृष्णले वेद तथा वेदान्तको ज्ञानलाई नयाँ तरिकाले व्यवस्थित गरेका छन् जुन गीता हो । यसकारण वेदको सर्वमान्य अर्थात् सार संस्करण हो गीता । जोसँग वेद तथा उपनिषद्को अध्ययन गर्ने समय छैन उनीहरू गीता पढेर मात्रै पनि हिन्दू धर्मको मूल मर्म बुभ\mन सक्छन् । गीतालाई बारम्बार मनोयोगपूर्वक अध्ययन गर्नाले त्यसको वास्तविक ज्ञान खुल्न थाल्दछ ।

गीतामा भक्ति, ज्ञान तथा कर्म मार्गको चर्चा गरिएको छ । यसमा यम, नियम एवं धर्मकर्मका विषयमा पनि बताइएको छ । गीताले भन्दछ- ब्रह्म -ईश्वर) एउटै मात्र छ । गीता त्यस्तो ग्रन्थ हो जसको प्रत्येक शब्दमाथि फरक फरक ग्रन्थ लेख्न सकिन्छ ।

गीतामा प्रकृति, सृष्टि, जीव विकास क्रम, हिन्दू सन्देशवाहक क्रम, मानव उत्पत्ति, योग, धर्म, कर्म, ईश्वर, भगवान्, देवी-देवता, उपासना, प्रार्थना, यम, नियम, राजनीति, युद्ध, मोक्ष, अन्तरिक्ष, आकाश, धर्ती, संस्कार, वंश, कुल, नीति, अर्थ, पूर्वजन्म, जीवन व्यवस्थापन, राष्ट्र निर्माण, आत्मा, कर्मसिद्धान्त, त्रिगुणको कल्पना, सम्पूर्ण प्राणीप्रति मैत्रीभाव आदि कुराको जानकारी पाइन्छ ।

गीता योगेश्वर श्रीकृष्णको वाणी हो । यसको प्रत्येक श्लोकमा ज्ञानरूपी प्रकाश छ, जुन प्रस्फुटित भएसँगै अज्ञानरूपी अन्धकार नष्ट हुन्छ । गीताले निर्दिष्ट गरेको मार्ग अनुसरण गर्ने व्यक्ति निश्चय पनि परमपदको अधिकारी हुन्छ ।

माथि उल्लेखित ग्रन्थहरूको ज्ञान सार

१. ईश्वर

ब्रह्म (परमात्मा, परमेश्वर) एउटै छ जसलाई कसैले सगुण -साकार) त कसैले निर्गुण -निराकार) मान्छन् । जब कि ऊ अजन्मा एवं अप्रकट छ । उसको न कोही पितामाता छन् न त कुनै पुत्र छन् । ऊ कसैको भाग्य वा कर्मलाई नियन्त्रित गर्दैन । न त कसैलाई दण्ड वा पुरस्कार नै दिन्छ । उसको न कुनै प्रारम्भ छ न त कुनै अन्त । ऊ अनादि एवं अनन्त छ । उसको उपस्थिति मात्रले नै सम्पूर्ण ब्रह्माण्ड चलायमान छ । जे जति छ सम्पूर्ण उसैबाट उत्पन्न भएर उसैमा लीन हुन्छन् । ब्रह्मलीन ।

२. ब्रह्माण्ड

यो देखिने संसार फैलँदै गइरहेको छ र अर्कोतर्फबाट यो खुम्चँदै पनि गइरहेको छ । खरबौँ सूर्य, तारा एव. धर्तीको जन्म छ भने साथमा अन्त्य पनि । जो जन्मिन्छ त्यो मर्छ । सम्पूर्ण उही ब्रह्मबाट जन्मन्छन् भने उसैमा लीन पनि हुन्छन् । ब्रह्माण्ड परिवर्तनशील छ । यो ब्रह्माण्डको सञ्चालन उसकै शक्तिका कारण स्वतः भइरहन्छ । जसरी सूर्यको आकर्षण शक्तिका कारण पृथ्वी आप\mनो कक्षमा अडिएर चलायमान छ । त्यसैगरी लाखौँ सूर्य एवं तारा एउटा महासूर्यको आकर्षणका कारण अडिएर सञ्चालित भइरहन्छन् । त्यसरी नै लाखौं महासूर्य पनि एउटा ब्रह्माको शक्तिका कारण ब्रह्माण्डमा विद्यमान छन् ।

३. आत्मा

आत्माको स्वरूप ब्रह्म -परमात्मा) कै जस्तो छ । जसरी सूर्य र बत्तीमा फरक छ त्यही फरक आत्मा र परमात्माका बीच रहेको छ । आत्मा शरीरमा रहेकै कारण शरीर सञ्चालन भइरहेको छ । जसरी सम्पूर्ण ब्रह्माण्ड, सूर्य, ग्रह, नक्षत्र आदि परमात्माको उपस्थितिका कारण सञ्चालित भइरहेका छन् ।

आत्मा न जन्मन्छ न त मर्छ । आत्माले एउटा शरीर छाडेर अर्को शरीर धारण गर्छ । आत्मा अजर एवं अमर छ । आत्मालाई प्रकृतिप्रदत्त तीन शरीर प्राप्त हुन्छन्- स्थूल, सूक्ष्म र कारण शरीर । हामीले देख्ने शरीर स्थूल शरीर हो । सूक्ष्म शरीर ध्यानमा पारंगत भइसकेका योगीहरूले मात्र देख्न सक्छन् । कारण शरीरलाई भने देख्न अत्यन्त मुस्किल छ । उक्त शरीरलाई त्यही आत्माले मात्र महसुस गर्न सक्छ जो उक्त शरीरमा रहेको हुन्छ । सम्पूर्ण प्राणी बाहिरी रूपमा वा स्थूल शरीरका कारण, नामभेदका कारण फरक देखा परे पनि आत्माका रूपमा एउटै हुन् । भित्री स्वरूप सबैको एउटै हुन्छ ।

४. स्वर्ग तथा नर्क

वेदका अनुसार पुराणमा वणिर्त स्वर्ग वा नर्कलाई गतिका नामले बुभ\mन सकिन्छ । सवर्ग र नर्क दुई फरक गति हुन् । आत्माले जब शरीर त्याग गर्छ, मुख्य रूपमा उसको दुई गति हुन्छ – गति र अगति ।

क) गति

गतिमा जीवलाई कुनै अन्य लोकमा जानुपर्छ वा उ;mे आफ्नो कर्मका कारण मोक्ष पनि प्राप्त गर्नसक्छ । गति ४ प्रकारका छन् अर्थात् यसमा ४ वटा लोक पर्छन्ः

अ) ब्रह्मलोक आ) देवलोक इ) पितृलोक र ई) नर्कलोक

जीव आफूले गरेको कर्मअनुसार यी ४ लोकमध्ये कुनै एकमा पुग्छ ।

ख) अगति

अगतिमा व्यक्तिलाई मोक्ष मिल्दैन अर्थात् उसले फेरि जन्म लिनुपर्ने हुन्छ । अगति पनि ४ प्रकारका छन् ः अ) क्षिणोदर्क आ) भूमोदर्क इ) अगति र ई) दुर्गति

क्षिणेदर्कमा जीव पुनः पुण्यात्माका रूपमा मत्र्यलोकमा जन्म लिन्छ । उसको जीवन सन्तजस्तो हुन्छ । भूमोदर्कमा उसले सुखी एवं सम्पन्नशाली जीवन प्राप्त गर्दछ । अगतिमा नीच अर्थात् पशु योनिमा जन्मन्छ भने दुर्गतिमा परेको जीव कीरा, फट्याङ्ग्राको जुनीमा पुग्छ ।

यात्राका तीन मार्ग

जब कुनै मानिस मर्छ वा आत्माले शरीर त्यागेर यात्रा प्रारम्भ गर्छ, त्यतिबेला उसलाई तीनवटा बाटो फेला पर्छ । आत्मा कुन मार्गमा अघि बढ्छ भन्ने कुरा उसको कर्ममाथि निर्भर हुन्छ । यी तीन मार्ग हुन्- अर्चि मार्ग, धूम मार्ग एवं उत्पत्ति-विनाश मार्ग । अर्चि मार्ग भएर ब्रह्मलोक तथा देवलोक पुगिन्छ । धूममार्गको यात्रामा पितृलोक पुगिन्छ भने उत्पत्ति-विनाशको मार्गबाट नर्क पुगिन्छ ।

५. धर्म एवं मोक्ष

यम एवं नियमको अर्थ बुझेर त्यसलाई पालन गर्नु नै धर्म हो । नियम नै धर्म हो । धर्म, अर्थ, काम एवं मोक्षमध्ये मानिसको अन्तिम लक्ष्य हो – मोक्ष । हिन्दू धर्मले मानिसलाई मोक्ष मार्गमा लाग्न निर्देश गरेको छ । मोक्ष के हो त ? स्थितप्रज्ञ आत्मालाई मोक्ष प्राप्त हुन्छ । आत्मा शरीर होइन भन्ने सत्यलाई अनुभव गरेर अशरीरी भइसकेपछि स्वयंको अस्तित्वबोध हुनुलाई मोक्षमार्गको प्रथम सिँढी मानिन्छ ।

६. व्रत तथा पर्व

हिन्दू धर्मका सबै व्रत तथा पर्व वा तीर्थ मोक्ष प्राप्तिकै उद्देश्यले निर्माण भएका हुन् । मोक्ष तब मात्र मिल्छ जब कुनै व्यक्तिले स्वस्थ एवं प्रसन्न भएर सुखपूर्ण जीवन  व्यतीत गर्छ । व्रतले शरीर तथा मन स्वस्थ राख्छ । पर्वले मन प्रसन्न पार्छ भने तीर्थले मनमस्तिष्कमा वैराग्य तथा अध्यात्मको जन्म हुन्छ ।

मौसम तथा ग्रहनक्षत्रका गतिलाई ध्यानमा राखेर बनाइएका व्रत तथा पर्वको महत्व पनि बढी नै हुन्छ । चतुर्थी, एकादशी, प्रदोष, औंसी, पूणिर्मा, साउन महिना तथा कात्तिक महिनाको व्रत बस्नु उत्तम मानिन्छ । यी सबै व्रत नसके पूरै साउन महिनाको व्रत गर्दा पनि हुन्छ । पर्वहरूमा माघे संक्रान्ति, महाशिवरात्रि, नवरात्रि, रामनवमी, कृष्णजन्माष्टमी एवं हनुमान जन्मोत्सव मनाउनु उत्तम मानिन्छ । पर्वमा श्राद्ध तथा कुम्भ मेला मनाउनु श्रेष्ठ मानिन्छ ।

व्रत गर्नाले शरीर निरोगी हुन्छ र जीवनमा शान्ति मिल्छ । एक वर्षमा सूर्यको १२ र चन्द्रमाको १२ वटा संक्रान्ति हुन्छ । सूर्य संक्रान्तिमा उत्सव तथा चन्द्र संक्रान्तिमा व्रतको महत्व बढी छ । साउन महिनाको व्रत उत्तम हुन्छ भने हरेक महिनाको एकादशी, चतुर्दशी, चतुर्थी, पूणिर्मा तथा औंसीका साथै अधिकमासका व्रतको फरक महत्व छ । सौरमास तथा चन्द्रमासका बीच बढेका दिनलाई अधिकमास वा मलमास भनिन्छ । यो वर्ष अर्थात् विक्रम संवत २०७५ को जेठ महिनामा मलमास परेको छ । यसैगरी चतुर्मास अर्थात् साउन, भदौ, असोज र कार्तिकको व्रत पनि अत्युत्तम मानिन्छ ।

उत्सव, पर्व तथा चाडबाड सबैको अलग-अलग महतव छ । प्रत्येक ऋतु एक उत्सव हो । स्थानीय परम्परा वा संस्कृतिका कारण सिर्जित चाडपर्व तथा मेलाभन्दा वैदिक धर्मग्रन्थ, धर्मसूत्र, स्मृति एवं आचार संहिता आधारमा निर्मित चाडपर्व तथा मेलालाई उत्तम मानिन्छ । सूर्यका १२ संक्रान्तिमध्ये मकर, मेष, तुला तथा कर्कट संक्रान्ति अर्थात् माघ, वैशाख, कात्तिक तथा साउन महिनाका संक्रान्ति महत्वपूर्ण मानिन्छन् । सूर्यको उपासनाका लागि प्रसिद्ध पर्व हुन्- छठ, संक्रान्ति एवं कुम्भ मेला । सबै पर्वमध्ये माघे संक्रान्ति तथा कुम्भ मेलालाई उत्तम मानिएको छ ।

७. तीर्थ

तीर्थको यात्रा गर्नु सबैभन्दा ठूलो पुण्यकर्म हो । सनातन धर्मसँग सम्बन्धित तीर्थ यात्राले मात्र पुण्य प्राप्त हुन्छ मनोमानी हिसाबका तीर्थयात्राले हुँदैन । तीर्थहरूमा चार धाम, बार्‍ह ज्योतिर्लिङ्ग, अमरनाथ, शक्तिपीठ एवं सप्तपुरीको यात्रा शुभ मानिन्छ । अयोध्या, मथुरा, काशी र प्रयागलाई तीर्थहरूको प्रमुख केन्द्र मानिन्छ जब कि हिमालय क्षेत्र एवं कैलाश मानसरोवरलाई सर्वोच्च तीर्थ मानिएको छ । बद्रीनाथ, द्वारका, रामेश्वरम एवं जगन्नाथ पुरी चार धाम हुन् । सोमनाथ, द्वारका, महाकालेश्वर, श्रीशैल, भीमाशंकर, ॐकारेश्वर, केदारनाथ, विश्वनाथ, त्र्यम्बकेश्वर, रामेश्वरम, घृष्णेश्वर एवं बैजनाथ द्वादश ज्योतिर्लिङ्ग हुन् । काशी, मथुरा, अयोध्या, द्वारका, माया, कांची एवं अवन्ति सप्तपुरी हुन् । यी तीर्थको यात्रा गर्नुलाई धर्मसम्मत मानिएको छ ।

८. संस्कार

संस्कारहरू सोर्‍हवटा छन् जसको पालना गर्नु प्रत्येक हिन्दूको कर्तव्य हो । यी संस्कार हुन्- गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडा, कर्णवेध, विद्यारम्भ, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह एवं अन्त्येष्टि । प्रत्येक हिन्दूले यी संस्कारको यथोक्त नियमपूर्वक पालना गर्नुपर्छ । यी संस्कारहरूलाई वैदिक नियमद्वारा सम्पन्न गर्नु नै हिन्दूको पहिचान हो ।

९. पाठ

वेद, उपनिषद् वा गीता पाठ गर्नु नसके सुन्नु प्रत्येक हिन्दूको कर्तव्य हो । उपनिषद् एवं गीताको स्वाध्ययन गरेर त्यसका विषयमा जिज्ञासुसमक्ष चर्चा गर्नु पुण्यकार्य मानिन्छ तर कुनै बहसकर्ता वा भ्रमित व्यक्तिका अगाडि वेद वचन सुनाउनु निषेध छ । प्रत्येक दिन धर्मग्रन्थको पाठ गर्नाले दैवीशक्तिको कृपा प्राप्त हुन्छ । हिजोआज विभिन्न पुराण तथा त्यसैका कथाको चलन सुरु गरिएको भए पनि वेद तथा गीता पाठ गर्नुजस्तो पुण्यकार्य अरू कुनै छैन ।

१०. धर्म, कर्म एवं सेवा

धर्म, कर्म एवं सेवा गर्नुको उद्देश्य हो- मनमस्तिष्कको शान्ति तथा मोक्षप्राप्ति । यसबाट समाज तथा राज्यको हितसमेत हुन्छ । धर्म, कर्म एवं सेवा यस्ता कार्य हुन् जसबाट परिवार, समाज, राज्य एवं स्वयंलाई लाभ मिल्छ । धर्मकर्मलाई व्रत, सेवा, दान, यज्ञ, प्रायश्चित्त आदि विभिन्न तरिकाले साधना गर्न सकिन्छ ।

आमाबाबु, छोरी तथा दिदीबहिनी, दाजुभाइ आदिलाई कुनै पनि प्रकारले सहयोग गर्नु सेवा हो । यसका साथै गुरु, अपाङ्ग, विद्यार्थी, सन्यासी, चिकित्सक एवं धर्मको रक्षा गर्ने कार्यमा लागेका व्यक्तिको सेवा गर्नुलाई पुण्यको काम मानिएको छ । यसबाहेक सबै प्राणी, पशुपक्षी आदिलाई अन्नजल दिनु, उनीहरूको जीवन रक्षाको प्रयास गर्नुलाई पनि यज्ञ अर्थात् पुण्यकर्म मानिएको छ ।

११. दान

दान गर्नाले इन्दि्रयहरूको भोगप्रतिको आशक्ति छुट्छ । मनका गाँठो फुक्छन् र मर्न सजिलो हुन्छ । परमात्माको सेवा गर्ने सबैभन्दा उत्तम उपाय दान नै हो । वेदमा तीन प्रकारका दाताको उल्लेख पाइन्छ- उत्तम, मध्यम एवं निकृष्ट । धर्मको उन्नतिस्वरूप सत्यविद्याका लागि दिइने दान उत्तम दान हो । कीर्ति वा स्वार्थप्रेरित भएर दिइने दान मध्यम हो भने वेश्यागमनका लागि, अनावश्यक एवं अयोग्य प्रशंसा गर्ने व्यक्तिलाई दिइने दान तथा पण्डालाई दिइने दान निकृष्ट मानिएको छ । पुराणमा अन्नदान, वस्त्रदान, विद्यादान, अभयदान एवं धनदानलाई श्रेष्ठ मानिएको छ जुन पुण्यकर्म पनि हो ।

१२. यज्ञ

यज्ञ पाँच प्रकारका छन्- ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, भूतयज्ञ एवं अतिथि यज्ञ । यी यज्ञ गर्नाले ऋषि ऋण, देवऋण, पितृऋण, धर्मऋण, प्रकृति ऋण एवं मातृऋण समाप्त हुन्छ । नित्य सन्ध्यावन्दन, स्वाध्याय तथा वेदपाठ गर्नु ब्रह्मयज्ञ हो । सत्संग तथा अग्निहोत्र गर्नाले देवयज्ञ सम्पन्न हुन्छ । श्राद्धकर्म पनि पितृयज्ञ हो । पिण्डदान, तर्पण एवं सन्तानोत्पत्ति गर्नाले यो यज्ञ सम्पन्न हुन्छ । सम्पूर्ण प्राणी तथा वनस्पतिप्रति करुणा एवं कर्तव्य बुझेर उनीहरू अन्न एवं जलदान दिनु भूतयज्ञ हो । यसलाई वैश्वदेव यज्ञ पनि भनिन्छ । पाहुनाको सेवा गर्नु अतिथि यज्ञ हो ।  साथै गुरु, अपाङ्ग, विद्यार्थी, सन्यासी, चिकित्सक एवं धर्मको रक्षा गर्ने कार्यमा लागेका व्यक्तिको सेवा गर्नु पनि अतिथि यज्ञ हो । यीबाहेक यजुर्वेदमा अग्निहोत्र, अश्वमेध, वाजपेय, सोमयज्ञ, राजसूय एवं अग्निचयनको वर्णन पाइन्छ ।

१३. मन्दिर दर्शन

प्रत्येक विहिवार मन्दिर जानुपर्छ । मन्दिर घरमा बनाउनु हुँदैन । मन्दिर गएर परिक्रमा गर्नुपर्छ । मन्दिर, तीर्थ एवं यज्ञको परिक्रमा गर्ने प्रचलन प्राचीन कालदेखि नै चलिरहेको पाइन्छ । प्रदक्षिणा गर्नु षोडशोपचार पूजाको एक अंग पनि हो । मन्दिरमा ७ पटक परिवर्तन गर्नु पर्छ भन्ने भनाइ छ । मन्दिर जानुअघि शुद्ध हुनु आवश्यक छ ।

१४. सन्ध्यावन्दन

सन्धयावन्दनलाई सन्ध्योपासना पनि भनिन्छ । मन्दिर तथा नदीमा गएर सन्धिकालमा सन्ध्यावन्दन गरिन्छ । एक दिनमा आठ सन्धि मानिएको छ । त्यसमा पनि पाँचवटा महत्वपूर्ण मानिन्छ । पाँचमध्ये पनि सूर्योदय एवं सूर्यास्त समयको सन्धि महत्वपूर्ण मानिन्छ । यो बेलामा मन्दिर एवं एकान्तमा शौच, आचमन, प्राणायाम आदि गरेपश्चात गायत्री मन्त्रद्वारा निराकार ईश्वरको प्रार्थना गरिन्छ । सन्ध्यावन्दनका चार प्रकार छन्- प्रार्थना, ध्यान, कीर्तन एवं पूजा आरती । यी चारमध्ये जसलाई जेमाथि श्रद्धा छ उसले त्यसैअनुसार गर्नसक्छ ।

१५. धर्मको सेवा

धर्मको प्रशंसा गर्नु र धर्मको बारेमा सही जानकारी फैलाउनु प्रत्येक हिन्दूको कर्तव्य हो । धर्मप्रचारका क्रममा वेद, उपनिषद एवं गीताको प्रचार गर्नु उत्तम मानिन्छ । धर्म प्रचार गर्नुअघि हिन्दू धर्मका विषयमा पढ्नु र बुभ\mनु आवश्यक हुन्छ । प्रत्येक हिन्दूले धर्म प्रचारकका रूपमा धर्मको वास्तविक ज्ञान बाँड्नु जरुरी हुन्छ । यसका लागि गेरु बस्त्र धारण गर्न वा सन्यास ग्रहण गर्नैपर्छ भन्ने पनि छैन । धर्मको प्रशंसा गर्नु र खराब वा नीच कुराहरूलाई नसुन्नु नै धर्मको साँचो सेवा हो ।

१६. मन्त्र

वेदमा धेरैथरी मन्त्रहरूको उल्लेख पाइन्छ तर जप गर्नका लागि केवल प्रणव -ॐ) एवं गायत्री मन्त्र बताइएको छ । बाँकी मन्त्र कुनै विशेष अनुष्ठान एवं धार्मिक कार्यका लागि हुन् । वेदमा गायत्री नामको छन्द छ जसमा हजारौं मन्त्र छन् तर प्रथम मन्त्रलाई मात्र गायत्री मन्त्र मानिन्छ । उक्त मन्त्र बाहेक कुनै अन्य मन्त्रको जप गर्नु समय एवं ऊर्जाको बर्बादी मात्र हो । गायत्री मन्त्रको महिमा सर्वविदित नै छ । अर्को मन्त्र हो-महामृत्युञ्जय मन्त्र । तर उक्त मन्त्रको जप तथा नियम कठिन भएकाले कुनै जानकारसँग सोधेर मात्र जप गर्नुपर्ने हुन्छ ।

१७. प्रायश्चित्त

प्राचीन कालदेखि नै हिन्दूहरूले मन्दिरमा गएर आफूबाट भएगरेका पापको प्रायश्चित्त गर्ने चलन थियो । प्रायश्चित्तका विषयमा स्मृति एवं पुराणहरूमा विस्तारपूर्वक बताइएको छ । गुरु शिष्य परम्परामा गुरुले शिष्यलाई प्रायश्चित्तका थुप्रै तरिका बताएका छन् । दुष्कर्मका लागि प्रायश्चित्त गर्नु तपस्याकै दोस्रो रूप हो । मूलतः हिन्दू धर्ममा आफूले गरेको पापको क्षमा भगवान् शिव एवं वरुणदेवसँग मानिन्छ किनभने क्षमा दिने अधिकार उनीहरूलाई मात्र छ ।

१८. दीक्षा

दीक्षाको प्रचलन वैदिक ऋषिहरूले सुरु गरेका थिए । प्राचीन कालमा पहिले शिष्य एवं ब्राह्मण बनाउनका लागि दीक्षा दिइन्थ्यो । आमाबाबुले बालकलाई शिक्षाका लागि गुरुकहाँ पठाएपछि गुरुले उसलाई दीक्षा दिन्थे । हिन्दू धर्मका अनुसार दिशाहीन जीवनलाई दिशा दिनु नै दीक्षा हो । दीक्षा एक प्रकारको प्रतिज्ञा, अनुबन्ध एवं संकल्प हो । दीक्षा प्राप्त गरिसकेपछि मानिस द्विज बन्दछ । द्विजको अर्थ हो दोस्रो जन्म । दोस्रो व्यक्तित्व ।

यसैलाई पछि अन्य विभिन्न धर्मसम्प्रदायले पनि अँगाले र पछि पछि त दीक्षालाई धर्म परिवर्तनका लागि समेत प्रयोग गराउन थालियो । यो क्रम अहिलेसम्म चलिरहेको पाइन्छ ।

प्रस्तुतिः दीपक दर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *