क्यान्सरका अधिकांश प्रकार तथा लक्षण र उपचार तथा बच्ने उपाय

विश्वको तथ्याङ्क हेर्ने हो भने एक वर्षमा १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ । त्यस मध्ये पनि करिव ९० लाख मानिसको क्यान्सरबाटै मृत्यु भइरहेको उल्लेख गरिएको छ ।

नेपालमा आधिकारिक तथ्याङ्क नभएता पनि एक वर्षमा करिब २६ हजार मानिसहरु क्यान्सरबाट पीडित र १९ हजारको मृत्यु भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनीहरुका अनुसार नेपालमा करिब ५०–६० हजार क्यान्सरका विरामीको उपचार भइरको छ ।

चिकित्सकका अनुसार क्यान्सर जटिल रोगहरु मध्य एक हो । जटिल भएता पनि निको नहुने भन्ने पनि होइन । क्यान्सरको उपचार पद्धतिले अन्य जटिल रोगहरुको तुलनामा निकै फड्को मारिसकेको छ ।

तर पनि अझ धेरै मानिसहरुमा यसको उपचार महंगो र असम्भव छ भन्ने धारण रहेको छ । तर पछिल्लो ५ वर्षको अवधिमा ४३ हजार क्यान्सरका बिरामीले यसको उपचार गराए ।

निको भए र उनीहरुले क्यान्सरलाई जिते । क्यान्सरको उपचार पश्चात उनीहरु पुनः आफ्नो दैनिकीमा फर्किए ।

के हो क्यान्सर ?

मानिसको शरीरमा लाखौँ कोषहरु हुन्छन् । जस अन्तर्गत पुराना कोष मर्ने र नयाँ कोष जन्मिने प्रकृया चलिरहन्छ । शरीरका विभिन्न भागहरुमा कोषहरू मर्ने र असामान्य रूपमा ती कोषहरु वृद्धि हुन थालेपछि, त्यसले क्यान्सर पैदा गर्छ ।

शरीरमा भएका कोषमा असामान्य परिवर्तन आएर अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी, छालामा हुने परिवर्तन, रगत बग्ने र घाउ निको नहुने, उपचारपछि पनि लामो समयसम्म घाउ निको नहुने जस्ता विभिन्न लक्षण क्यान्सरका हुनसक्ने चिकित्सकले बताएका छन् ।

क्यान्सर हुनु भनेको जीवनको अन्त्य हुनु होइन । यो केवल एक रोग हो । समयमै यसको उपचारमा ध्यान दिन सकेको खण्डमा क्यान्सर पनि पूर्ण रुपमा निको हुने डा. विजेसराज घिमिरेले बताएका छन् । उनले भने, ‘स्वास्थ्य सम्बन्धी ज्ञानको कमीका कारण कतिपय मानिसलाई क्यान्सर भए पनि थाहा पाउन सकेका छैनन् ।’

क्यान्सरको उपचारका लागि समय एकदमै महत्वपूर्ण हुन्छ । समयमै क्यान्सर पत्ता लागेमा यसको उपचार गरेर सामान्य जीवनमा फर्कन सकिन्छ । क्यान्सरलाई जीतेका यस्ता कैयौँ व्यक्ति छन्, जसले क्यान्सरको उपचार पश्चात पनि सहज जीवनयापन गरिहेका छन् ।

सूर्ती जन्य पदार्थको सेवन, जीवनशैली, प्रदूषण, खानपान जस्ता विभिन्न कारणले कोषहरु जन्मिने र मर्ने ठाउँमा बाधा पुग्ने हुन्छ । जसले गर्दा क्यान्सरको सम्भावना धेरै हुने गर्छ । त्यस्तै शरीरको कुनै पनि एउटा अंगमा देखिएको क्यान्सर अन्य कुनै पनि अंगमा सर्न सक्छ ।

क्यान्सर जुन–जुन अंगमा सर्यो, त्यही अंगमा असर देखाउँछ । जसले गर्दा बेहोस हुने, प्यारालाइसिस हुने, अंग नचल्ने समस्या उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । त्यस्तै, फोक्सोमा गएमा खोकी लाग्ने, फोक्सोमा पानी जम्ने, स्वाँ स्वाँ हुने हुन्छ । जुन क्यान्सरको चौथो चरण हो ।

क्यान्सरका प्रमुख कारण ?

क्यान्सर यही कारणले हुनछ भनेर ठ्याक्केै भन्न नसकिने चिकित्सकहरुले बताउँदै आएका छन् । तर केही चिजहरु यस्ता छन्, जसले निश्चित क्यान्सर रोग बढाउनमा मद्दत गर्ने गर्दछन् ।

१. सुर्तीजन्य पदार्थको सेवन

२. खानपिन

३. प्रदूषित वातावरण

४. वंशाणुगत

५. विकिरण

६. व्यायमको कम अभ्यास

७. पाको उमेरसम्म बच्चा नजन्माउदा

८. स्तनपा नगराउने महिलाहरुमा

९. बोसोयुक्त मासु खाँदा

१०. तारेको, पोलेको खाना खाँदा

११. नुन तथा पुराना अचार खाँदा

क्यान्सरका लक्षणहरु

क्यान्सर धेरै प्रकारका हुन्छन् । त्यसकारण यसका लक्षण पनि लक्षण विभिन्न प्रकारका हुन्छन् । शरीरको कुनै ठाउँमा फोका वा गाँठो देखा पर्नु, अचानक शरीरको कुनै भागबाट रगत बग्नु, छालामा असामान्य बद्लाब आउनु, भोक कम लाग्नु, बढी खोकी लग्नु, क्यान्सरका सामान्य लक्षण रहेको चिकित्सहहरु बताउने गरेका छन् ।

शरीरको कुनै पनि ठाउँमा रोग देखा परेको एक महिनासम्ममा उपचार गरेर पनि निको नभएमा पनि ब्यान्सर हुने सम्भावना धेरै हुन्छ । त्यसैले शरीरमा यस्तो समस्याहरु द्येखा पर्ने बित्तिकै अस्पताल गएर क्यान्सर रोगको परीक्षण गराउन आवश्यक रहेका चिकित्सकले बताउने गरेका छन् ।

क्यान्सरका प्रकार

क्यान्सरका रागका प्रकार यति नै छन् भनेर यकिनका साथ भन्न सकिदैन । तर पनि केही प्रचलित क्यान्सर रोगलाई हामीले औल्याउने कोशिश गरेका छौँ ।

१. पाठेघरको मुखको क्यान्सर

२. स्तन क्यान्सर

३. फोक्सोको क्यान्सर

४. ब्लड् क्यान्सर

५. बोन म्यारो क्यान्सर

६. घाँटीको क्यान्सर

७. मुखको क्यान्सर

८. कलेजोको क्यान्सर

९. डिम्बासयको क्यान्सर आदि

पाठेघरको मुखको क्यान्सर

अन्य देशहरुको तुलनामा नेपालमा पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ । सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा यसको पाठेघरको मुखको क्यान्सर धेरै देखिने गरेको छ ।

जनचेतनाको कमीका कारण, सुविधाको पहुँच नहुनाले, समयमा उपचार गराएमा यो रोग निको हुन्छ भन्ने थाहा नभएकाले, महिलाको स्वास्थ्यलाई न्यून प्राथामिक्ता दिने वा आफ्नो रोग लुकाउनले वर्षेनी पाठेघरको मुखको क्यान्सरका कारण महिलाहहरुको मृत्यु भइरहेको चिकित्सकहरुले बताएका छन् ।

विभिन्न अनुसन्धानको निचोडका अनुसार ९९ प्रतिशत माहिलाहरु पाठेघरको मुखको क्यान्सरमा ह्युमण प्यापिलोमा भाईरस (एचपीभी) को संक्रमण देखिएको छ ।

ह्युमण प्यापिलोमा भाईरस (एचपीभी) को संक्रमण देखिनु सामान्य हो । यो यौन सम्पर्कद्वारा सर्ने गर्छ । यस्तो संक्रमण कुनै उपाचार नगरेरै हाम्रो शरिरले रोगसँग लड्ने क्षमताले नै निको पारिदिन्छ ।

तर यदि ह्युमण प्यापिलोमा भाईरस १६ र १८ ले संक्रमण गरेमा हाम्रो शरिरको रोगसँग लड्ने क्षमताले उक्त संक्रमणलाई हटाउँन नसकेमा पाठेघरको मुखको क्यान्सर हने सम्भावना धेरै हुन्छ ।

एचपीभीको संक्रमण हुने सम्भावना

१. कलिलै उमेरमा बिहे गरेकामा

२. सानै उमेरदेखि यौन क्रियाकलापमा सक्रिय भएमा

३. धेरै सन्तान जन्माएमा

४. असुरक्षित गर्भपतन गराएमा

५. एक वा एक भन्दा धेरै पुरुषसँग यौन सम्र्पक राखेमा

६. धुम्रपान तथा मध्यपान गरेमा

बच्ने उपायरु

१. गर्भासयको श्रव परीक्षण

२. ह्युमण प्यापिलोमा भाईरस (एचपीभी)को जाँच

३. पाठेघरको मुखको क्यान्सरको परीक्षण

४. प्याप स्मेयरको परीक्षण

स्तन क्यान्सर

शरीरका अन्य अंगहरुमा जस्तै महिलाको स्तनमा पनि कोषहरु बन्ने र नष्ट हुने क्रिया भैरहेको हुन्छ । स्तनमा रहेका कोषहरु मर्ने र असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना रहन्छ ।

कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुने गरेको चिकित्सक बताउँछन् । तर, जब छिटो–छिटो र अत्यधिक मात्रामा कोषहरूको वृद्धि र विभाजन हुन्छ, तब पुराना कोषहरू टाँसिएर पुरानै ठाउँमा रही रहन्छन् । त्यसपछि मात्र स्तनमा गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुने क्यान्सर विशेषज्ञ डा. घिमिरे बताउँछन् ।

स्तनमा भएका कोषमा असामान्य परिवर्तन आएर अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी, स्तनको छालामा हुने परिर्वतन, निप्पल भित्रतिर भासिने, स्तनबाट रगत बग्ने र घाउ निको नहुने, स्तन क्यान्सरका लक्षण हुन् । यस्ता लक्षणहरुले क्यान्सर नै हुन्छ भन्ने छैन।

कहिलेकाहिँ अरु कारणले पनि यस्ता लक्षणहरु देखिन सक्छन् । क्यान्सर हुने प्रकृतिका ट्युमरले आफ्नो वरिपरी रहेका तन्तुहरु नष्ट गर्छन् । यस्ता ट्युमर शरीरका अन्य भागहरुमा फैलिन सक्ने डा. घिमिरेको भनाई छ ।

यस्ता ट्युमरलाई शल्यक्रिया गरेर शरीरबाट फाले पनि फेरि उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । स्तन क्यान्सर प्रायजसो दूध उत्पादन हुने नलीबाट सुरु हुन्छ र शरीरको अन्य कुनै पनि भागमा फैलन सक्छ । स्तन क्यान्सर फैलिएर कलेजो, फोक्सो, मस्तिष्क जस्ता शरीरका अन्य भागमा पनि ट्युमर हुन सक्छ ।

विश्वभर महिलामा हुने क्यान्सर मध्ये स्तन क्यान्सर पहिलो नम्बरमा पर्छ। नेपालमा भने पाठेघरको मुखको क्यान्सर हुने बिरामीको संख्या सबै भन्दा धेरै छ । त्यसपछि स्तन क्यान्सर हुने बिरामीको संख्या दोस्रो नम्बरमा रहेको छ ।

जीवनशैली, मोटोपन, शरीरिक व्यायामको कमी, जाड रक्सीको सेवन, अस्वस्थकर खानपान, महिनावारी नियमित नहुनु, महिनावारी समयभन्दा ढिलो वा छिटो सुक्नु, बढी उमेरमा बच्चा जन्माउनु, वंशाणुगत लगाएतका कारणले महिलाहरुमा स्तन क्यान्सर हुने गर्छ ।

त्यस्तै स्तनपान नगराएका महिला, लामो समयसम्म गर्भनिरोध चक्कीको सेवन गरिरहेका महिलाहरुमा समेत स्तन क्यान्सर हुने जोखिम हुन्छ ।

महिलाहरुमा स्तन क्यान्सर सुरु हुने बित्तिकै पत्ता लगाउन सकिने डा.घिमिरे बताउँछन् । विदेशमा ९० प्रतिशत महिलाहरु स्तन क्यान्सरको पहिलो स्टेजमा नै अस्पताल पुग्छन् ।

नेपालमा अन्य क्यान्सरका करिब दुईतिहाई विरामी तेस्रो र चौथो स्टेजमा अस्पताल पुग्ने गरेको चिकित्सकले बताएका छन् । तर स्तन क्यान्सरमा भने धेरै बिरामी दोस्रो स्टेजमा नै अस्पताल पुग्ने गरेका छन् ।

स्तन क्यान्सर अन्य क्यान्सरको तुलनामा छिटो थाहा हुने भएका कारण अन्य क्यान्सरको तुलनामा स्तन क्यान्सरका बिरामी बाँच्ने दर बढी हुन्छ । पहिलेको तुलनामा अचेल क्यान्सरका बारेमा मानिस सचेत भइरहेका छन् ।

विकसित मुलुकमा ४० वर्ष पछि मात्र स्तन क्यान्सर हुने गरेको पाइएको छ । नेपालमा भने ३५ वर्षदेखि नै महिलाहरुमा स्तनको समस्या देखिने गरेको पाइएको छ ।

डा. घिमिरेले भने, ‘यसको कारण यही हो भनेर पत्ता लाग्न सकेको छैन, १७–१८ वर्षका किशोरीमा समेत स्तन क्यान्सर भएको पाइएको छ। तर सामान्यतयाः स्तन क्यान्सर ४० वर्ष भन्दा माथिका महिलामा देखिन्छ ।’

नियमित शारीरिक व्यायाम, स्वस्थकर खानपान, उपयुक्त उमेरमा बच्चा जन्माउने, स्तनपान गराउने, समय–समयमा स्तनको चेकजाँच गराउने, लामो समयसम्म गर्भ निरोधक चक्कीहरुको प्रयोग नगर्ने जस्ता कुरामा ध्यान दिन सके केही हदसम्म स्तन क्यान्सरबाट जोगिन सकिने डाक्टरहरुको सुझाव छ ।

अझै पनि महिलाहरुमा क्यान्सर भएमा बाँचिदैन भन्ने डर रहेको पाइन्छ । तर समयमै क्यान्सर पत्ता लागेर पहिलो र दोस्रो स्टेजमा नै उपचार हुन सकेमा क्यान्सरका बिरामी पनि अन्य सामान्य व्यक्ति सरह जीवनयापन गर्न सक्छन् ।

फोक्सोको क्यान्सर

अन्य विभिन्न क्यान्सर मध्ये फोक्सोको क्यान्सर पनि एक प्रमुख नै मानिन्छ । फोक्सोको क्यान्सर विशेष गरी सूर्तीजन्य पखार्थको सेवन गर्ने व्यक्तिहरुमा धेरै देखिने गरेको छ ।

ब्लड क्यान्सर

यसमा रगतमा रहेका कोष र प्लाज्मा हुने गर्दछ । जस अन्तर्गत रातो (रेडबीसी) वा सेतो (डब्लुबीसी) कोषमा क्यान्सर हुने गर्छ । नेपालमा अधिकांश रूपमा देखिने रगतको क्यान्सर लिक्युमिया हो, जुन सेतो रगतमा देखिन्छ ।

ब्लड क्यान्सर नेपालमा मात्र नभएर विश्वमै धेरै देखिने गरेको छ । यसको उपचारका लागि बिरामी अस्पताल ढिलो पुगेमा उनीहरुको ज्यान नै जाखिममा रहने चिकित्सहरुले बताए ।

क्यान्सरबाट बच्ने उपाय

विभिन्न उपाय अपनाएर सबै प्रकारका क्यान्सहरु बाच बच्न सकिन्छ भन्ने नभएता पनि यस्ता सावधानी अपनाउँ केही हदसम्म क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ ।

१. धुम्रपान तथा सुर्तिजन्य वस्तु सेवन नगर्ने

२. खानपानमा ध्यान पुर्याउने

३. पर्याप्त व्यायाम गर्ने

४. जीवनशैली परिवर्तन

५. बोसोयुक्त मासु नखाने

६. तारेको, पोलेको खाना नखाने

७. नुन तथा पुराना अचार कम खाने

८. समयमै बच्चा जन्माउने

९. बच्चालाई स्तनपान गराउने

१०. नियमित स्वास्थ्यपरिक्षण गराउने

११. सरसफाईमा विशेष ध्यान दिने

कुन अवस्थामा अस्पताल जाने ?

क्यान्सर भएको पहिलो र दोस्रो स्टेजमा अस्पताल पुगे भने समयमा नै क्यान्सर रोगका विरामी निको हुने गरेका छन् । नेपालको सन्दर्भमा प्रायः जसो क्यान्सर लागेका मानिसहरु तेश्रो र चौथो स्टेजमा अस्पताल पुग्ने गरेको पाईएको छ । यो स्टेजमा बिरामी अस्पताल पुग्दा धेरै ढिलो भएसको हुन्छ ।

क्यान्सरक जोखिम ४० वर्ष कटेका व्यक्तिहरुमा रहेको चिकित्सकले बताएका छन् । तर पछिल्लो समयमा क्यान्सर जुनसुकै उमेरमा पनि लाग्ने गरेको छ ।

यद्यपि ४० वर्ष पार गरिसको व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न जरुरी छ । यो उमेर पार गरेका व्यक्तिहरुले समय–समयमा स्वास्थ्य परीक्षण गराउनु पर्छ ।

क्यान्सरको उपचार

क्यान्सरको उपचार गर्ने चिकित्सकलाई अन्कोलोजिस्ट भनिन्छ । अन्कोलोजिस्टलाई तीन श्रेणीमा विभाजित गरिन्छ, जसमा सर्जिकल अन्कोलोेजिस्ट, मेडिकल अन्कोलोजिस्ट तथा रेडियो अन्कोलोजिस्ट पर्छन् ।

१.सर्जिकल अन्कोलोेजी–शल्यक्रियाद्वारा क्यान्सरको उपचार गर्ने विधिलाई सर्जिकल अन्कोलोजी भनिन्छ । यस विधीमा चिकित्सकहरुले क्यान्सरको प्रकृति र अंगको आधारमा शल्यक्रिया गर्ने गर्दछन् ।

२. मेडिकल अन्कोलोजी–औषधीको प्रयोगद्वारा क्यान्सर रोगको उपचार गर्ने विधिलाई मेडिकल अन्कोलोजी भनिन्छ । जस अन्र्तगत केमोथेरापी पनि पर्ने गर्दछ ।

३. रेडियो अन्कालोजी–यसले क्यान्सर रोगका आक्रमान्त कोषहरुलाई नष्ट गर्ने गर्छ । तर पछिल्लो समयमा क्यान्सरका कोषिका र तन्तुहरुलाई जोगाएर क्यान्सर रोगसँग लड्ने क्षमतालाई नष्ट गर्ने प्रविधि भित्री सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *