जगदीशपुर ताल : अजीव चराहरुको आकर्षक घर

मानिसको जस्तै भौगोलिक सीमाको कानुन चराहरुलाई पनि लाग्ने भए ? सायद यतिबेला कपिलबस्तु जिल्लाको जगदीशपुर ताल स्वदेशी चराहरुको मात्रै उपस्तिथिमा रित्ता देखिन्थे होलान् । त्यहाँका नदी किनार र सानातिना तालहरुमा रहेका जलकुम्भीदेखि लेऊ र सानातिना किरा फट्यांग्राहरुले नदीलाई नै कुरुप बनाएका हुन्थे होलान् ।

शाक्यमुनि बुद्धले महाभिनिस्क्रमण गरेको स्थलमा शान्तिको केवल कथा मात्रै सुनिन्थ्यो होला । तर, यी सबै पारिस्थितिक पद्धतिका साक्षी बनेका छन् सात हजार किलोमिटर टाढाबाट विदेशी चराहरुको जगदीशपुर तालसम्मको यात्रा ।

मानव निर्मित जगदीशपुर ताल आफैंमा महत्वपूर्ण छैन । यसका गहनाहरु भनेको नै विभिन्न प्रजातिका चराहरु हुन् र यसको पहिचान नै विभिन्न प्रजातिका चराहरुको संगमस्थलको रुपमा बनेको हो । यो सीमसार क्षेत्रमा नेपाल मात्रै नभएर विश्वका समेत लोपोन्मुख चराहरुको आगमनले यो क्षेत्रको महत्वलाई बढाएको छ । शान्ति क्षेत्रको अनुभूति गराएको छ भने पारिस्थितिक पद्धतिको एउटा हिस्सा बनेर प्रस्तुत भएको छ ।

बुद्धले २९ वर्ष बिताएको शुद्धोधनको दरबार रहेको तिलौराकोटबाट झण्डै ७ किलोमिटरको दूरीमा पर्छ जगदीशपुर ताल । पहिलो कुरा त तिलौराकोट नै पर्यटकहरुको नजरमा पर्न सकेको छैन । भारत हुँदै आएका केही म्यानमार, थाइल्याण्ड जस्ता पर्यटकहरुको धेरै आवागमन हुने तिलौराकोटबाट ती पर्यटकहरु जगदीशपुर ताल जाने गरेका छैनन् । त्यसैले उचित प्रचारप्रसार र सहज रुपमा यात्राको बन्दोबस्त गर्न सकेको खण्डमा तिलौराकोट आउने पर्यटकहरुलाई जगदीशपुर ताल लैजान सकिने सरोकारवालाहरुको बुझाई छ ।

जगदीशपुर ताल अजीव अजीव चराहरुको घर हो । जहाँ उनीहरु चिसो छल्न आउने गर्छन् । यो तालमा हरेक वर्ष विश्वमा नै लोपोन्मुख मानिएका चराहरु समेत आउने भएकोले यो आफैंमा अजीव चराहरुको घरको रुपमा विकास हुँदै गएको छ । तालमा पेकिंग डग, नील टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानी हाँस, सारस, सुनजुरे, भुँडीफोर, ध्यानी बकुल्ला र सेतो गरुड जस्ता लापोन्मुख चराहरु आउने गर्छन् ।

एक सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ जगदीशपुर ताल । नेपालीभन्दा बाहिरबाट धेरै चराहरु आउने यो क्षेत्र नेपालकै सबैभन्दा धेरै चराहरु आउने सिमसार क्षेत्रको रुपमा समेत चिनिने गर्छ । अहिले रहेका कूल १० सिमसार क्षेत्र मध्येको एक यसलाई सन् २००३ मा विश्व सिमसारको सूचीमा राखिएको थियो ।

कात्तिक महिनाको अन्तिमदेखि फाल्गुन महिनाको अन्तिमसम्मको समयमा चिसो छल्न आएका विदेशी चराहरु नै त्यहाँका आकर्षणका केन्द्रहरु हुन् । त्यसैको छेऊमा छ एउटा ऐतिहासिक स्तल सगरहवा । बुद्धको शासनकालमा नै कोशलका राजा प्रसेनजीतका छोरा बिरुधकले तत्कालीन शाक्य वंशको विध्वंस गराएको सम्झनामा संरक्षण गरेर राखिएको सगरहवाको बीचमा रहेको लम्बु सागर । यही ताल जगदीशपुर तालमा आएका पर्यटक चराहरुको स्वाद फेर्ने सहायक पोखरी हो । यस बाहेक अन्य साना पोखरीहरु, नजिकै रहेको वाणगंगा नदी पनि पाहुना चराहरुको आहाराको केन्द्रहरु हुन् ।

चाँडै फर्किए पाहुना चराहरु

प्रायः फागुन महिनाको दोस्रो साताको सुरुवातदेखि तेस्रो सातासम्ममा फर्किइसक्ने गरेका विदेशी चराहरु यो साल जगदीशपुर तालबाट चाँडै नै फर्किए । यो साल माघ अन्तिमतिर जगदीशपुर तालको भ्रमणमा पुग्दा धेरै पाहुना चराहरु फर्किइसकेका थिए । यो वर्ष सामान्यभन्दा एक महिना अघि नै झण्डै ३५ प्रतिशत चराहरु फर्किएको जगदीशपुर जलाशय बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।

यो वर्ष अघिल्लो वर्षको तुलनामा ५८ सय बढी चराहरु चिसो छल्न जगदीशपुर तालमा आएको गुरुङले बताए । सिमसार क्षेत्रहरुमध्ये सबैभन्दा धेरै चराहरु आउने जगदिशपुर तालमा यो साल २० हजार ८ सय चराहरुको गणना भएको मञ्चले जनाएको छ । गुरुङका अनुसार अति चिसो हुने ठाउँहरुबाट कात्तिकको अन्तिमतिर आएर फाल्गुनको अन्तिमसम्म बस्ने ती चराहरु यो सालभने दिउँसो धेरै गर्मी हुन थालेपछि माघको अन्तिममा नै फर्किन थालेका हुन् ।

४ प्रकारका लोपोन्मुख चरा आए

कपिलवस्तु नगरपालिकाको वडा नं ९ मा पर्ने मानवनिर्मित विशाल जलाशयमा हरेक वर्ष विभिन्न लोपोन्मुख चराहरु आउने गरेका छन् । यो वर्ष अघिल्लो वर्षको तुलनामा कम लोपोन्मुख चराहरु आएको जानकारहरु बताउँछन् ।

मञ्चका अनुसार अघिल्लो वर्षमा कूल ११ प्रजातिका लोपोन्मुख चराहरु चिसो छल्न जगदीशपुर तालमा आएका थिए । यो संख्या यो वर्ष घटेको हो । चिसो छल्नको लागि साइबेरियादेखि मंगोलियासम्मबाट आएका चराहरु मध्ये यो साल विश्वमा नै लोपोन्मुख घोषणा गरिएका चराहरु आएको बताइएको छ ।

सात हजार किलोमिटर यात्रा 

मञ्चका अध्यक्ष गुरुङका अनुसार यो साल एक महिना अघि नै ३५ प्रतिशतभन्दा धेरै चराहरु फर्किएको छ । उनी भन्छन् ‘चीन, मंलिया, साइबेरिया, तुर्किस्तान आदि देशबाट कोही सातहजार किलोमिटर त कोही पाँचहजार किलोमिटर टाढाबाट चराहरु जगदीशपुर तालमा आउने गरेका छन् ।’ खुल्ला ठाउँ र चराको लागि पर्याप्त आहारा पाइने नदी एवं तालहरु धेरै भएकोले चराहरुको आकर्षण यो क्षेत्रमा बढेको हो ।

पंक्षी संरक्षण संघका अनुसार यो तालमा एक सय १८ भन्दा बढी प्रजातिका चराहरु पाइन्छ । त्यसमध्ये हरेक वर्ष ६५ प्रजातिका चराहरु जगदीशपुर ताल आएका छन् । गत वर्ष कूल ११ प्रजातिका लोपोन्मुख चराहरु जगदीशपुर ताल आएका थिए ।

किन आउँछन् विदेशी चराहरु ?

१० वटा सीमसार क्षेत्रहरु मध्ये नेपालमा चरालाई आहाराको हिसाबले सबैभन्दा सहज ठाउँ हो जगदीशपुर ताल क्षेत्र । यहाँ आउने धेरै चराहरु आहाराको लागि त्यसैको आसपासमा रहेका सानातिना नदी एवं तलाउहरुमा जाने गर्छन् । त्यही क्षेत्रमा हुने विभिन्न किराफट्यांग्रा, लेऊहरु र राति बस्नको लागि सुविधा भएको कारणले पनि यो क्षेत्रमा चराहरुको आकर्षण बढेको जानकारहरु बताउँछन् ।

यही चराहरुको गतिविधि हेर्नको लागि नै धेरै पर्यटकहरु आउने भएकोले प्रदेश नं ५ सरकारले यो ताललाई प्रमुख पर्यटकीय केन्द्रको रुपमा अघि सार्दै आएको छ ।

केही समय अघि बेलायतबाट चराविद् टोनी मेनबुड समेत यही तालमा आउने चराहरुको अध्ययनको लागि नेपाल आएका थिए ।

तस्विर सौजन्य : खग प्रसाद चापागाई  

Leave a Reply

Your email address will not be published. Required fields are marked *