ढोरपाटन शिकार आरक्ष

दिनेश खडका


१३२५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको नेपालको एक मात्र शिकार आरक्ष वि.स. २०३९ सालमा स्थापना भै वि.स. २०४४ साल बैसाख १४ गते राजपत्रमा प्रकाशन गरी नेपाल सरकारबाट ढोरपाटन शिकार आरक्षको विधिवत् रूपमा स्थापना गरिएको हो ।

पश्चिमी उच्च पहाडि क्षेत्रको जैविक विविधताको संरक्षण गरी कानुनी शिकार गराउने उद्देश्यले स्थापना गरिएको यस सिकार आरक्ष रुकुम, बाग्लुङ र म्याग्दी जिल्लाको करिब २,००० मिटरदेखि ७४२६ मिटरको उचाईमा फैलिएको छ । आरक्षको करिब ६० प्रतिशत भू–भाग रुकुम, २६ प्रतिशत भू–भाग बाग्लुङ र १४ प्रतिशत भू–भाग म्याग्दी जिल्लामा पर्दछ ।

आरक्षको करिब एक तिहाई भू–भाग हिमाली चरन÷खर्कले ढाकेको छ । आरक्षको करिव २ प्रतिशत (२६.३८ वर्ग कि.मि.भू–भाग कृषि एवं बसोबास क्षेत्र रहेको छ । यस क्षेत्रमा धेरै जसो अति सिमान्तकृत समुदायको बसोबास रहेको छ । ढोर पाटनमा सन् १९५९ देखि तिब्बती शरणार्थीहरू बसोबास गर्दै आएका छन् ।

ढोरपाटन शिकार आरक्ष अन्तर्गत पर्ने उच्च पहाडी क्षेत्र

असोजदेखि यस क्षेत्रमा अलिअलि जाडो सुरु हुने र मंसिर महिनाको अन्ततिर हिमपात सुरु हुने गर्दछ । हिउँदमा २ देखि ३ फिटसम्मको हिउँ पर्ने हुनाले यहाँका मानिसहरू हिउँदमा बेसीतिर बसाई सर्ने गर्दछन । करिब ८ महिना हिउँ भैरहने गर्दछ । सधै जसो चिसो हुने हुनाले यस क्षेत्रमा मानिसहरू ८ महिना जति वसोवास गर्दछन । भौगोलिक रूपमा दुर्गम यस क्षेत्रमा साक्षरता दर न्यून रहेको छ । सामाजिक पछौटेपनका कारण जनसंख्या वृद्धिदर उच्च छ र गरिवीसमेत व्याप्त रहेको छ । त्यसैले यस क्षेत्रमा मानववस्ती तीव्र वृद्धि भईरहेको छ । ढोरपाढन आरक्षको प्राकृतिक भू–दृश्य निकै मनमोहक रहेको छ ।

आरक्षमा पर्ने ठूला–ठूला घाँसे मैदान, हिमश्रृंखला, हरिया पहाड, घना वन, विभिन्न वन्यजन्तुका स्वरहरू र स–साना उपत्यका एवं छिनछिनमा बदलिईरहने मौसम यस शिकार आरक्षका विशेषता हुन् । यसको अद्वितीय प्राकृतिक सौन्दर्यलाई अवलोकन गर्न वाह्य तथा अन्तरिक पर्यटकहरूको वर्षेनि चैत देखि कात्तिकसम्म आवत–जावत भईरहन्छ ।

पर्यटनका लागि नेपालकै उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना रहेको छ । आरक्षमा अधिकांश सल्ला प्रजातिको वनले ढाकेको छ भने बहुमुल्य जडिबुटिहरू पाईन्छन । आरक्षले उच्च पहाडि क्षेत्रका १४ पारिस्थितिक प्रणालीमा (इकोसिष्टम) प्रणालीहरूको प्रतिनिधित्व गर्दछ । यिनै पारिस्थितिक प्रणालीमा ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ जातिका चरा आरक्षले रेकर्ड गरेको छ ।

यहाँ पाइने वन्यजन्तुहरू हिमचितुवा, ब्वाँसो, नाउर, झारल, वँदेल, हिमाली कालोभालु, कस्तुरी, मृग, थारल, घोरल, हाव्रे हुन् । यस्तै चराका मुख्य प्रजाति चिल, कालिज, डाँफे, मलेवा रहेका छन् । यहाँका मुख्य रूख प्रजातिहरू गोव्रे सल्ला, धुपी, खस्र्रु, गुराँस, चिमाल, भोजपत्र, ओखर हुन । जडीवुटी प्रजातिहरूमा यार्सागुम्वा, जटामसी, पाँचऔले, पाखनवेद, कुट्की, पदमचाल रहेका छन । यहाँ पाईने माछा, सरिसृप उभयचर र किरा प्रजातिको अध्ययन हुन वाँकी नै छ । यिनै जीवजन्तु वनस्पतिको कुल संख्या र तिनीहरूमा पाईने भिन्नतालाई जैविक विविधता भनिन्छ ।

ढोरपाटन शिकार आरक्ष शिकारी पर्यटकहरूकोलागि नेपालको एक मात्र गन्तव्य स्थल हो । यहाँ मुख्यतः नाउर, झारलको कानूनी शिकार गर्न विश्वभरवाट शिकारी पर्यटकहरू आउने गर्दछन । आरक्षको अधिकांश क्षेत्र घना वन तथा फराकिला खर्कहरूले ढाकेको हुँदा ढोरपाटन शिकार आरक्ष अन्तर्गत पर्ने रुकुमको मैकोटमा पाईने यार्सागुम्बा यही क्षेत्रमा पर्दछ । नेपालका अन्य उच्च पहाडी क्षेत्रका संरक्षित क्षेत्रहरूको तुलनामा यहाँ वन्यजन्तुको घनत्व वढी रहेको पाईएको छ । यहाँको घना वनमा डाँफे र हाव्रेको संख्या अन्यत्र भन्दावढी संख्यामा रहेको अनुमान गरिएको छ ।

आरक्षको वन क्षेत्रमा चील, कालिजको वासस्थानकोलागि विश्व प्रसिद्ध रहेको छ । यहाँ रहेका सल्ला, खसु (खर्सु) को वनमा चील तथा कालिजका १००–२०० वटा प्रजनन समूह फेला परेका छन् जुन विश्वमै वढी संख्यामा रहेका प्रजनन समूहहरू मध्ये एक हो । त्यस्तै मैकोटको खर्क नेपालमै उत्कृष्ट यार्सागुम्वा उत्पादन हुने क्षेत्रहरू मध्ये पर्दछ । त्यसैगरी गुर्जाखानी क्षेत्र भीरमौरीको महउत्पादनको लागि प्रसिद्ध रहेको छ । ढोरपाटन तथा आपसको क्षेत्र धार्मिक, साँस्कृतिक दृष्टिकोणले समेत उत्तिकै महत्वपूर्ण रहेको छ ।

रुकुम जिल्लाको ६०० मिटर उचाईमा पर्ने पुथा हिमाल यसै आरक्षमा पर्दछ । ढोरवराह (उत्तरगंगा) रुद्रताल, मैकोट, सुनदह यहाँका प्रसिद्ध धार्मिक स्थलहरू हुन् । ढोरपाटन आसपासको क्षेत्रमा खाम मगर र छन्त्याल जातिका वस्ती रहेका छन् । यि नै विशेषताहरूले गर्दा नेपाल सरकारले ढोरपाटन

क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थलहरूको सुचिमा सुचिकृत गरेको छ । उपयुक्त पर्यटन पूर्वाधारहरूको निर्माण गरेमा यो क्षेत्र पदयात्रीको लागि उपयुक्त गन्तव्य स्थलको रूपमा विकसित हँुदै जाने सम्भावना रहेको छ ।

आरक्ष क्षेत्रमा वोवाङ्ग, अधिकारीचौर, निसी, तकसेरा, रन्मामैकोट र हुकाम गा.वि.स.का गरी ४७ वटा वस्ती रहेका छन् । यी वस्तीमा २८३७ घरधुरी परिवार वसोवास गर्दछन् । ढोरपाटनका वासिन्दाको मुख्य पेशा पशुपालन हो ।

वर्षात्को समयमा आरक्षका खर्कहरूमा २२०० गाई, भंैसीका र ७०० भेडावाख्राका गोठ राख्ने गरिन्छ । उक्त समयमा आरक्षभित्र झण्डै ३,५०० भैसी, २०,००० गाईगोरु, ७५,००० भेडावाख्रा र २,३०० घोडा खच्चडले चरिचरन गर्दछन ।

स्थानीय वासिन्दाका काठ, दाउरा, निगालो, डालेघास, जडीवुटी जस्ता वन पैदावारको माग आरक्ष क्षेत्रबाट पूर्ति हुने गरेको छ । यसबाट ढोरपाटन क्षेत्रको प्राकृतिक श्रोतसँग स्थानीय जनताको जीविकोपार्जनको सम्वन्धलाई सहजै अनुमान गर्न सकिन्छ ।

शिकार आरक्ष आसपास तथा भित्र रहेको भू–भाग नै मध्यवर्ती क्षेत्र हो । यस अन्तर्गत वन तथा खर्क क्षेत्र, वस्तीहरू नम्वरी, आवादी एवं ऐलानी, पर्ति तथा सार्वजनिक जमिन र खोलानाला पर्दछन् । यी नै भू–भागको चार किल्ला छुट्टयाई कानूनी मान्यता दिएको क्षेत्रलाई मध्यवर्ती क्षेत्र भनिने गरिन्छ ।

नेपालमा मध्यवर्ती क्षेत्रको निर्धारण प्रभावित क्षेत्र को आधारमा गरिएको छ । क्षेत्र निर्धारण गर्दा वन्यजन्तुहरू रहेको संरक्षित क्षेत्र आसपासको प्रभावित क्षेत्रलाई मात्र समेटेको पाइन्छ । मध्यवर्ती क्षेत्रलाई वातावरण मैत्री एवं स्थानीय वासिन्दाको जीविकोपार्जनमा सहयोग पुग्ने सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गरी व्यवस्थापन गरिएको हुन्छ । यसबाट यहाँ रहेको प्राकृतिक वातावरणलाई हालकै स्थितिमा कायम राखिरहन सहयोग पुग्ने हुन्छ ।

आरक्षको मुख्य आकर्षण नाउर हो । यसको मुख्य वासस्थान पूर्वमा चुरेन हिमालदेखि पश्चिममा कुल्टा भञ्ज्याङ्गसम्मको हिमालय श्रृङखलाको चट्टाने क्षेत्र हो । वि.स. २०६४ मा ढोरपाटन आरक्षले गरिएको नाउर गणनामा ८५२ वटा नाउरको रेकर्ड गरिएको छ ।

ढोरपाटन शिकार आरक्ष अन्तर्गत पर्ने पहाडी क्षेत्र

शिकार व्यवस्थापनको लागि आरक्षलाई सातवटा ब्लकहरूमा विभाजन गरिएको छ । ति ब्लकहरू क्रमशः फागुने, वार्से, घुस्तुङ्ग वाहेकका व्लकहरूवाट ४ देखि ६ वटाका दरले वर्षेनि २६ वटासम्म नाउरको शिकार गर्न सकिने गरी कोटा निर्धारण गरिएको छ । त्यसै गरी झारलको हकमा १ देखि २ वर्षको अन्तरालमा ११ देखि १६ ओटासम्म शिकार गर्न सकिने १९७६ को प्रतिवेदनमा उल्लेख छ ।

यस आरक्षको सुरक्षाकालागि नेपाली सेना तथा नेपाल प्रहरी परिचालन गरेको छैन । स्थानीय बासिन्दा तथा आरक्षमा कार्यरत कर्मचारी खटिएका छन । पछिल्लो समयमा बढ्दै गएका विभिन्न चुनौतिहरू तत्कालिन सुरक्षा ब्यवस्थाले ढोरपाटन शिकार आरक्षको संरक्षणमा जटिलता देखिएको छ ।

पर्यटन विकासका तथा जैविक विविधताको अनुसन्धानका लागि समेत उर्वर यस क्षेत्रको संरक्षणकालागि दीर्धकालीन योजना आवश्यक छ ।

श्री दिनेश खड्काले लेख्नु भएकाे पर्यटकीय रुकुमवाट साभार गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *