थाहा पाउनुहोस् १६ संस्कारको रहस्य, जसले हामीलाई पथभ्रष्ट हुन दिँदैन

‘संस्कार’ यो शब्द सुन्दा हाम्रो कान त्यती ठाडो हुँदैन । किनभने हामीलाई लाग्छ, यी पुराना कुरा हुन् । तर, संस्कार भनेको भनेको अनुशासित जीवनपद्धतीमा डोहोर्‍याउने माध्याम हो । संस्कारले हामीलाई सही मार्गदर्शन गर्छ । त्यसैले त भन्ने गरिन्छ, ‘संस्कारी घरानामा जन्मेहुर्केका व्यक्ति विनयी, विनम्र, अनुशासित, मर्यादित हुन्छन् ।’

संस्कार शब्दको व्युत्पत्ति संस्कृतको ‘सम’ एवं कृञ धातुमा घञ प्रत्यय लागेर भएको हो । ऋग्वेदमा संस्कारको सट्टा संस्कृत शब्दको प्रयोग पाइन्छ, जसको अर्थ शुद्ध गरिएको भन्ने हुन्छ । जैमिनी सूत्रमा संस्कार शब्दलाई यज्ञलाई पवित्र र निर्मल बनाउने कार्यको अर्थमा भएको पाइन्छ । यस हिसाबले हेर्दा संस्कारको अर्थ शुद्ध वा पवित्र पार्नु भन्ने बुझिन्छ । सनातन धर्म एवं जीवनशैलीमा मानव जीवनलाई शुद्ध बनाउन विभिन्न संस्कारको व्यवस्था गरिएको पाइन्छ ।

मनुस्मृतिमा भनिएको पनि छ-

जन्मना जायते शूऽ संस्काराद् द्विज उच्यते ।
वेद-पाठात् भवेत् विप्रः ब्रहृम जानाति ब्राहृमणः ।।

अर्थात् जन्मदा सबै मानिस शूद्र हुन्छन्, संस्कार गरेपछि द्विज हुन्छन्, नियमपूर्वक वेद पाठ गर्नेहरू विप्र हुन्छन् भने ब्रहृमवेत्ताहरू ब्राहृमण हुन्छन् ।
हुन त संस्कार, धर्म, सम्प्रदाय, परम्परा, संस्कृति इत्यादि समानार्थी रूपमा प्रयोग गरिने चलन छ तर यिनमा फरक पनि उत्तिकै छ । संस्कार शब्दले पूर्ण गराइएको, तरासिएको, परिष्कार गरिएको वा सफा गरिएको भन्ने अर्थ बोध गराउँछ ।

संस्कारको अंग्रेजी समानान्तर शब्द हो कल्चर- यो कल्टबाट बनेको छ । यसबाट कृषि युग नै संस्कार र संस्कृतिको प्रारम्भ हो भन्ने स्पष्ट हुन्छ । कृषिको मूल शब्द पनि कृ नै हो । जसले क्रियालाई जनाउँछ । यसरी संस्कृति र कल्चर दुवै शब्दको मूल एउटै हो ।

बर्बर र सभ्य संसारबाट टाढा रहेका जातिहरूको मानसिक क्षमता अविकसित नै रहन्छ किनभने उनीहरूमा संस्कारको अभाव हुन्छ । तसर्थ मानव जीवनमा संस्कारको ठूलो महत्त्व छ।

बोलीचाली, पहिरन, धर्म, संस्कृति, श्रम, उत्पादन, वैज्ञानिक आविष्कार, आर्थिक क्रियाकलाप, शिष्टाचार आदि मानवीय सभ्यताका परिचायक हुन् । यी कुराहरु मानिसले आˆना नजिकका मानिसहरूसँग सिक्छ । यसलाई धार्मिक संस्कारसंग सम्बन्धित गराउनासाथ त्यसमा पवित्रता, त्याग र दिगोपन आउँछ । पशुपक्षी पनि भालेपोथी बस्छन् सन्तान जन्माउँछन्, हुर्काउँछन् । यो क्रियाकलापका दृष्टिले उनीहरू पनि मानव समाजभन्दा कम छैनन् । तर संस्कारले मानिस र पशुबीच फरक देखाउँछ ।

मानव जीवनमा संस्कारको विकास

भविष्यद्रष्टा, गहन मनोविज्ञानवेत्ता ऋषिहरूलाई मानिसभित्रको मानसिक कमजोरी थाहा थियो । यसै मनोवैज्ञानिक अनुसन्धानको क्रममा अनेक प्रकारका संस्कारको आविष्कार भएको छ । जसरी फलामको धाउलाई संस्कार र परिष्कार गरेपछि खिया नगाग्ने स्टील बन्छ । हीरा र मणिलाई तरासिएपछि चमक आउँछ । मानिसमा पनि संस्कारले त्यस्तै गुण आउँछभन्ने विश्वास संस्कार दर्शनको छ ।

विश्वका प्रायः सबै सभ्य संस्कृतिमा विविध संस्कारहरू पाइन्छन् । यी सबैको उद्देश्य मानिसलाई प्रतिभावान, अनुशासित र असल सामाजिक नागरिक बनाउनु हो । जो आफैं पनि सुखी रहन्छ र समाजमा पनि सुख शान्ति कायम राख्छ ।

समय क्रममा मानिसले यी संस्कारको मूलमा रहेको दर्शन बिर्संदै गए । पछि यी संस्कार केवल एक प्रचलन मात्र हुन पुगे । तर यस प्रचलनको मूलमा रहेको मनोवैज्ञानिक र सामाजिकताको वैज्ञानिक आधार आज पनि सान्दर्भिक छ । संस्कारको सूक्ष्म अध्ययन गर्ने जो कोहीले यस कुरालाई अनुभव गर्न सक्छ ।

मानिसको वरिपरिका वातावरणमा असलभन्दा खराब तत्त्व बढी पाइन्छन् । खराब तत्त्वमा आकर्षण पनि अलि बढ्ता हुन्छ । तिनीहरुको प्रभाव बालकको मनमा छिटो पर्छ र विस्तारै यो प्रभाव मनमा जमेर बस्न थाल्छ । ठूलो भएपछि मानिसले यस प्रभावलाई हटाउन चाहेर पनि हटाउन सक्दैन । प्राचीन ऋषिहरुले यस कठिनाइलाई बुझेर एक अत्यन्त सुन्दर र वैज्ञानिक उपाय निकाले । त्यो हो प्रत्येक बालकलाई आमाबाबुका अतिरिक्त एक अन्य यस्तो सुसंस्कारित व्यक्तिको जिम्मा लगाउने जसलाई मनोविज्ञानका सूक्ष्मताको जानकारी होस् । बालकभित्र भएका राम्रा नराम्रा संस्कार तत्काल पत्ता लगाई व्यक्तिको प्रवृत्ति अनुसार सुधार गर्न सक्ने होस् । यस्तो मानसिक नियन्त्रणकर्तालाई उनीहरूले आचार्य भन्ने नाम दिए ।

यसरी अनेक संस्कारको विकास भएको पाइन्छ । व्यक्तिलाई सभ्य बनाउनु, असल नागरिक बनाउनु, आफ्नो  समाज, संस्कृति र आफ्नो  देशप्रति जागरुक र गौरवान्वित बनाउनु निश्चय नै एक ठूलो घटना हो जुन संस्कारबाटै सम्भव छ ।

संस्कार कति छन् त ?

जन्मदेखि मृत्युसम्ममा पूरा गरिने हिन्दू संस्कारलाई समाजशास्त्रीहरूले विभिन्न वर्गमा विभाजन गरेका छन्। गौतम सुत्रानुसार संस्कार -४० वटा हुन्छ । मनु एवं याज्ञवल्क्यले १३ संस्कार -गर्भाधान, पुंसवन, सीमंतोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, उपनयन, केशांत, समावर्तन, विवाह र श्मशान)मा सीमित गरेका छन् । गौतम सुत्रले व्याख्या गरेको ४० संस्कार निम्न छन्-

१ गर्भाधान, २. पुंसवन, ३. सीमन्तोन्नयन, ४. जातकर्म, ५. नामकरण, ६. अन्नप्राशन, ७ चौल, ८. उपनयन, ९-१२. वेदमा वणिर्त चार व्रत, १३. स्नान, १४. विवाह, १५-१९ पञ्च दैनिक महायज्ञ, २० -२६सात पाकयज्ञ, २७-३३सात हविर्यज्ञ, ३४-४० सात सोमयज्ञ ।

सामान्यतया सोह्र संस्कार मानिन्छ । प्रचलनको भाषामा पनि सोह्र संस्कार नै भनिन्छ र यिनैलाई महत्त्व दिइन्छ। सोह्र संस्कारहरु यस प्रकार छन् स्

गर्भाधानो पुंसवनस्सीमन्तो वैष्णवोबलिः ।

जातकं नाम निष्क्रामोन्नप्राशनं चोलकर्म च।।

उपनीती महानाम्नी महाव्रतमनुत्तमम् ।

उपनिषच्च गोदानं समावार्तनमेव च ।

विवाहश्चेति संस्कारास् षोडशैताः प्रकीर्तिताः । ।

१. गर्भाधान, २. पुंसवन, ३. सीमन्तोन्नयन, ४. जातकर्म, ५. छैठी, ६. नामकरण, ७. निष्क्रमण, ८. अन्नप्राशन, ९. चूडाकर्म, १०. विद्यारम्भ, ११. कर्णवेध, १२. यज्ञोपवीत, १३. केशान्त, १४. समावर्तन, १५. विवाह र १६. अन्त्येष्टि ।

यीमध्ये पनि अहिले नामकरण, यज्ञोपवीत अर्थात् व्रतबन्ध, विवाह र मृत्यु संस्कार मात्र प्रचलित छन्।

संस्कार किन ?

मानव जीवनलाई उन्नत बनाउन संस्कारहरुको विशिष्ट महत्व हुन्छ । मानवको शारीरिक मानसिक तथा आत्मिक उन्नतिका लागि जन्मदेखि मृत्युपर्यन्त भिन्न भिन्न समयमा विविध संस्कारको व्यवस्था गरिएको छ । संस्कारहरुले नै मानवलाई द्विज बन्ने अधिकार मिल्दछ ।

महर्षि  मनुले भनेका छन् –  द्विजहरूको गर्भधान आदि संस्कार वैदिक पुण्य कर्मद्वारा सम्पन्न हुनु पर्दछ । किनभने संस्कारले यस लोक तथा परलोकमा पवित्र गर्दछ ।

गार्भैर्होमैर्जातकर्मचौडमौञ्जीनिबन्धनै: । बैकिं गार्भिकं चैनो द्विजानामपमृज्यते ।। अर्थात् गर्भ सम्बन्धी हवन  (गर्भाधान, पुंसवन तथा सीमान्तोन्नयन संस्कार) जातकर्म, चूडाकर्म र उपनयन संस्कारद्वारा द्विजहरूको गर्भ एवं वीर्य सम्बन्धी दोष रहदैन ।

यस प्रकारले संस्कारको विषयमा मनुको स्पष्ट निर्देश छ कि माता पिताको वीर्य एवं गर्भाशयको दोषहरु गर्भाधानादि संस्कारद्वारा हटाउन सकिन्छ । अत संस्कारले शरीरलाई शुद्धि गर्दछ । मनुले संस्कारद्वारा यज्ञ, व्रत आदिले मानव शरीर अनि आत्मालाई ब्रम्ह प्राप्तिका लागि योग्य बनाइन्छ भनेका छन् ।

महषिर् दयानन्दले संस्कारविधि नामक पुस्तकमा लेखेका छन् – ‘जे गर्दा शरीर र आत्मा सुसंस्कृत भएर धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन सक्दछ र सन्तान योग्य हुन्छन् । यसैले गर्दा संस्कारहरुलाई गर्नु सबै मनुष्यहरुका लागि उचित छ । संस्कारहरूले संस्कारितलाई पवित्र तथा असंस्कृतलाई अपवित्र भनिन्छ । शिक्षा तथा औषधिहरूले सुखवर्धक संस्कार गर्नका लागि बुद्धिमानहरूले सधै उद्यम गर्नु पर्दछ ।’

शुक्ल यजुर्वेदमा सोह्र संस्कारका विषयमा भनिएको छ स् षोडशिन एष ते योनिरिन्ऽाय त्वा षोडशिने । अर्थात् सोह्र संस्कारले युक्त परमैश्वर्य दिने गृह (आश्रम गर्नका लागि) तिमीलाई आज्ञा दिन्छु ।

यस मन्त्रमा परमेश्वरले गृहस्थहरूलाई सोह्र संस्कार गर्न स्पष्ट आज्ञा दिएका छन् ।

संस्कार गर्ने कहिले ?

तीन संस्कार बालक जन्मनुभन्दा पहिले गरिन्छ स् गर्भाधान, पुंसवन, सीमन्तोन्नयन । अन्त्येष्टि संस्कार मृत्युपछि गरिन्छ। बाँकी १२ वटा संस्कार जीवनको अस्तित्त्व रहँदा गरिन्छ ।

सामुहिक पुजा गर्दै श्रद्धालु भत्तजनहरु

संस्कार प्रक्रिया

गर्भाधान संस्कार – यो उत्तम सन्तान प्राप्तिका लागि गरिने पहिलो संस्कार हो । ऋतुदानको समय १६ दिनमा – पहिलेका ४ दिन निन्दित छन, त्यसैगरी ११ र १३औ रात्री पनि निन्दित छन् । पौर्णमासी, चतुर्दशी वा अष्टमी यी रात्रीलाई पनि छोडी दिनु भन्ने मनुस्मृतिको वचन छ । बाकी रहेका १० रात्रीमा वीर्य निषेचनद्वारा गर्भस्थापना गर्नु गृहस्थाश्रमको पहिलो कर्तव्य हो । पुत्र वा पुत्री जुन चाहेको हो सो प्राप्त गर्ने विधान बताइए पनि बुद्धिमान रोगरहित स्वस्थ शिशुमा बढता जोड दिइएको छ । यो संस्कार वास्तवमा दिव्य आत्माहरूलाई जन्म लिनका लागि भूमि तयार गर्नु हो । यसलाई पवित्रतासँग जोडिएको छ । सन्तुलित साकाहारी भोजन र स्त्री पुरुषको प्रसन्न मनःस्थितिले बालकको भविष्य निर्माणमा महत्त्व राख्छ ।

पुंसवन संस्कार – गर्भस्थ शिशुको बौद्धिक एवं मानसिक विकासका लागि गर्भ रहेको दोस्रो या तेस्रो महीनामा गरिने द्वितीय संस्कार हो । गोभिलीय र सौनक गृहसुत्रमा पनि यज्ञ गर्ने विधान अनि बरको कोमल पात र गुर्जो मसिनो पिसेर कपडामा छानेर गर्भिणीको दाया नाकमा सुघाउनु पर्दछ । गुर्जो वा ब्राही पनि खाने बिधान पनि छ ।

सीमन्तोन्नयन संस्कार – सीमन्त शब्दको अर्थ मतिष्क र उन्नयन शब्दको अर्थ विकास हो । आमालाई प्रसन्नचित्त राख्न, गर्भस्थ शिशु स्थिर उत्कृष्ट अनि सौभाग्य सम्पन्न होस् भनेर गर्भाधानको आठौं महिनामा गरिने तृतीय संस्कार हो यो । यसका लागि यज्ञमा खिचडीको आहुती दिनु पर्दछ । बचेको खिचडीमा घ्यु हालेर गर्भिणीले आˆनो प्रतिबिम्ब हेर्नु पर्दछ ।

जातकर्म संस्कार- नवजात शिशु बुद्धिमान, बलवान, स्वस्थ एवं दीर्घजीवी होस् भन्ने कामनाले गरिने चतुर्थ संस्कार हो यो ।

नामकरण संस्कार- जन्मेको ११औ वा कुनै सुखमय दिनमा शिशुलाई सुन्दर र सार्थक नाम राख्न गरिने पाँचौ संस्कार हो । बालकको नाम जोडा अक्षर र बालीकाको नाम बिजोड अक्षरमा राख्नु भन्ने मनुस्मृतीको वचन छ ।

निष्क्रमण संस्कार-शिशुको चार महिनामा पहिलो पटक घरबाट बाहिर भ्रमणमा लैजान प्रारम्भ गर्नु पर्दछ । यसले गर्दा शिशुमा संसारको वातावरणसँग भिज्ने क्षमताको विकास हुन्छ ।

अन्नप्राशन संस्कार – आमाको दुधसँगै सुपाच्य पौष्टिक अन्न पनि शिशुलाई छैठौ महिनामा दिन शुरु गर्नु पर्दछ । घ्यु , दही र मह मिसाएको भातले यज्ञमा आहुति दिनु पर्दछ । बचेको भात शिशुलाई चटाउनु पर्दछ।

चूड़ाकर्म (मुण्डन) संस्कार– शिशुको बौद्धिक, मानसिक एवं शारीरिक विकासको कामनाले जन्मपछि पहिला वा तेस्रो वर्षमा गर्भका मलिन कपाल खौरने आठौं संस्कार हो यो ।

कर्णवेध संस्कार– यो शिशुलाई शारीरिक व्याधिहरु हर्निया आदिबाट रक्षाको कामनाले गरिने संस्कार हो । जुन जन्मबाट तेस्रो वा पाँचौ वर्षमा गर्नु राम्रो हो भनेर आश्वालायन गृहसूत्रको वचन छ ।

यज्ञोपवीत (उपनयन) संस्कार- उप को अर्थ नजिक अनि नयनको अर्थ प्राप्त गर्नु वा हुनु हो । यसमा गुरुले यज्ञोपवीत धारण गराएर दीक्षा दिन्छन् अनि ऋषीऋण, पितृऋण र देवऋणबाट बाहिर उऋण हुन प्रेरणा दिन्छन् ।

वेदारम्भ संस्कार- पहिले बालकलाई उपनयन गरेकै दिन वा भोलिपल्ट गुरुकुलमा प्रवेश दिइन्थ्यो । गुरुको नजिक बसेर श्रेष्ठ शिक्षा दीक्षा ग्रहण गर्दै गायत्री मन्त्रदेखि पुरै वेदको अध्ययन गर्नका लागी नियम धारण गर्न लगाइन्थ्यो । वैदिक समयमा धनी गरीब सबैलाई समान निस्शुल्क शिक्षाको अवसर प्रदान गरिन्थ्यो ।

समावर्तन संस्कार- शिक्षा प्राप्त गरिसकेपछि विद्यालयले विदाई दिनु जसलाई आज ‘दीक्षान्त समारोह’ भनिन्छ । पहिले विवाह गरेर गृहस्थाश्रम धारण गर्ने उद्देश्यले विद्यालय छोडेर घर आउनुलाई समावर्तन भनिन्थ्यो ।

विवाह संस्कार- गृहस्थाश्रममा प्रवेश गर्न गुण कर्म स्वभाव मिल्ने स्त्री र पुरुषको सम्बन्ध गराउनु यसको उद्देश्य हो । यसमा पुरुष २५ वर्ष पुगेको आˆनो गोत्रभन्दा बाहिर र माताको तर्फको ६ पीढी बाहिरकी युवती १६ वर्ष पुगेको हुनुपर्ने विधान छ । यो संस्कारको उद्देश्य गृहस्थ धर्म र कार्यहरु पालन गर्दै सन्तानोत्पत्ति गर्नु अनि उचित शिक्षा दिक्षा दिएर सुयोग्य नागरिक तयार पार्नु हो ।

वानप्रस्थ संस्कार- सन्तानहरु स्वावलम्बी भएर छोराको पनि छोरा भए पश्चात ५० वर्ष नाघेपछि समाज र देश सेवाका लागि घरबाट निस्कनु हो । आजको सन्दर्भमा भन्नुपर्दा अवकाशपछि ईश्वर भक्ति गर्दै परोपकारको काममा लाग्नु हो ।

संन्यास संस्कार-सांसारिक भोग आदिको भावनाहरुको र सर्वस्व त्याग गरेर, पूर्ण वैरागी बनेर, परोपकारका लागि हिडने दीक्षा लिनु तथा ब्रहृममा लीन भएर मोक्षप्राप्तिका लागि प्रयत्न गर्नु हो । आजको सन्दर्भमा परोपकारको काम गर्दै मन, वचन, कर्मले परमात्माप्रति समर्पित भएर मोक्षको कामना लिनु नै संन्यासी बन्नु हो ।

अन्त्येष्टि संस्कार- मृत शरीरलाई दाहकर्म अन्यले गर्दछन् । यो नै अन्तिम संस्कार हो र यसपछि कुनै विधि गर्नु पर्दैन ।

प्रत्येक संस्कारले मानिसलाई नैतिक, आदर्श जीवन बिताउँदै जीवनको उच्चतामा पुग्न प्रेरित गर्छ । तसर्थ संस्कार गराउँदा आफू पनि शुद्ध रहनु पर्छ र पुरोहित पनि शुद्ध आचरणको व्यक्तिलाई लिनुपर्छ । अन्यथा संस्कारले दिनु पर्ने प्रतिफल प्राप्त हुँदैन भन्ने शास्त्रीय विधान छ ।

वर्तमान सभ्यताको विकाससँगै हामीकहाँ केही नयाँ संस्कार पनि थपिएका छन् । मानिसले जन्म दिवस र विवाह दिवसको संस्कार मनाउन थालेका छन् । यद्यपि त्यसमा केही कुरा हामीकहाँ प्रचलित परम्परा अनुसार छैन। उदाहरणका लागि जन्म दिवसमा बत्ती निभाउने युरोपियन परम्परा छ जुन हाम्रो संस्कार अनुसार अशुभ मानिन्छ । यस्ता केही कुरामा भने विचार गर्नु आवश्यक हुन्छ। संस्कारसँग मानिसको पहिचान गाँसिएको हुन्छ तसर्थ संस्कार पालन गर्दा चिनारी नगुमोस् भन्नेमा विवेक पुर्याउनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *