दश घातक रोग, लक्षण र बच्ने तरिका
‘स्वास्थ्य नै धन हो’ त्यसकारण मानिसहरु आफ्नो स्वास्थ्यप्रति जागरुक हुनैपर्छ । आफ्नो शरिरलाई राम्रोसँग बुझ्नसके रोग लाग्नुपूर्व नै रोकथाम गर्न पनि सकिन्छ ।
आज हामी तपाईंलाई यस्ता १० रोगबारे बताउँदैछौं जसबाट संसारको धेरैजसो जनसंख्या प्रभावित छन् । विश्व स्वास्थ्य संगठनले संसारका १० घातक रोगबारे जानकारी दिएको छ, जसबारे यहाँ कुरा गरिएको छ ।
१. कोरोनरी आर्टरी डिजिज (मुटु रोग)
अहिलेको अवस्थामा संसारको सबैभन्दा घातक रोग कोरोनरी आर्टरी डिजिज हो जसका कारण सन् २०१५ मा संसारभरीका ८८ लाखको मृत्यु भएको थियो । संसारभरीका १५.५ प्रतिशत मानिसहरुको मृत्युमा यही रोग जिम्मेवार छ ।
सन् २००० मा यो रोगबाट मृत्यु हुनेको संख्या ६० लाख थियो जुन सन् २०१५ सम्म बढेर ८८ लाख पुगेको छ । मुटुसम्म रगत पुग्ने रक्तनली संकुचित भएपछि छाती दुख्ने र हार्टफेल हुनेलगायतका समस्यालाई कोरोनरी आर्टरी डिजिज भनिन्छ ।
कोरोनरी आर्टरी डिजिजका कारक तत्व
उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, धुम्रपान, वंशानुगत, मधुमेह र मोटोपना
बच्ने तरिका
नियमित व्यायाम, सन्तुलित तौल, सन्तुलित आहारको सेवन, खानामा फलफूल तथा सागसब्जीलाई समावेश, धुम्रपान मद्यपानबाट टाढा बस्ने ।
२. ब्रेन स्ट्रोक
सबैभन्दा घातक रोगको सूचीको दोस्रो नम्बरमा छ, ब्रेन स्ट्रोक जसका कारण सन् २०१५ मा ६२ लाखको मृत्यु भएको थियो भने संसारभरी भएको मृत्युमा ११.१ प्रतिशत मृत्यु यो रोगका कारण भयो । स्ट्रोक त्यतिबेला हुन्छ जब मस्तिष्कको कुनै धमनी कि त ब्लक हुन्छ कि त लिक ।
यस्तोमा ब्रेन सेल्सले अक्सिजन पाउँदैन र केही मिनेटभित्रै बिरामीको ब्रेन डेड हुने गर्दछ । स्ट्रोकको क्रममा बिरामी अचानक संवेदनशून्य हुने गर्दछ । बिरामीलाई हेर्न र हिँड्न समस्या हुनथाल्छ ।
कारक तत्व
उच्च रक्तचाप, बंशानुगत, धुम्रपान (साथै गर्भनिरोधक औषधी खाइरहेकाहरुका लागि थप खतरा) महिलामा थप खतरा ।
बच्ने तरिका
स्वस्थ जीवनशैली अपनाउनुपर्छ
रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ
नियमित रुपमा व्यायाम गर्नुपर्ने
स्वस्थ खानपान अपनाउनुपर्ने
३. लोअर रेस्परेट्री इन्फेक्शन (श्वास सम्बन्धि संक्रमण)
श्वास सम्बन्धि संक्रमणका कारण सन् २०१५ मा ३२ लाखको मृत्यु भएको थियो । यद्यपी, सन् २००० सँग तुलना गर्ने हो भने यो रोगमा कमी आएको छ । सन् २००० मा जहाँ श्वास सम्बन्धि संक्रमणबाट ३४ लाखको मृत्यु भएको थियो ।
यस्तै सन् २०१५ मा यो संख्या घटेर ३२ लाख भएको छ । यो संक्रमणले हाम्रो शरिरको वायु मार्ग र फोक्सोलाई प्रभावित गर्दछ जसका कारण फ्लू, निमोनिया, ब्रोन्काइटिस र टिबीसम्म हुनसक्छ ।
कारक तत्व
फ्लू, हावाको खराब क्वालिटी, धुम्रपान, कमजोर प्रतिरक्षा प्रणाली, दम, एचआइभी
बच्ने तरिका
हरेक वर्ष फ्लूको सूई लगाउनुहोस्
नियमित रुपमा साबुन–पानीले हात धुनुहोस्
यदि संक्रमण भए घरमा आराम गर्नुहोस्
४. क्रोनिक अब्ट्रक्टिव पल्मनरी डिजिज
यो फोक्सोसँग सम्बन्धित दीर्घ रोग हो जसका कारण सास फेर्न गाह्रो हुन्छ । यो रोग दुई प्रकारका छन् । क्रोनिक ब्रोन्काइटिस र इन्फिसेमा ।
सन् २००४ मा संसारभरीका ६ करोड ४१ लाख मानिस यो रोगबाट ग्रसित थिए जबकी सन् २०१५ मा करिब ३१ लाख मानिसहरुको यो रोगबाट मृत्यु भएको छ । सन् २०१५ मा संसारभरीका ५.६ प्रतिशत मानिसहरुको यो रोगका कारण मृत्यु भएको थियो ।
कारक तत्व
एक्टिभ–प्यासिभि दुबै प्रकारको धुम्रपान, केमिकलको धुँवाका कारण फोक्सोमा जलन, वंशानुगत, वाल्यकालमा सास सम्बन्धि संक्रमण भएको भए ।
बच्ने तरिका
यो रोगलाई पूर्ण रुपमा निको पार्न सकिन्नँ । औषधीले कम मात्र गर्न सकिन्छ । धुम्रपानबाट बच्नुहोस्, यदि फोक्सोमा समस्या छ भने डाक्टरलाई तुरुन्त भेट्नुहोस् ।
५. श्वास सम्बन्धि क्यान्सर
श्वास सम्बन्धि क्यान्सरमा श्वासनली, ब्रोन्कस र फोक्सोको क्यान्सर समावेश हुन्छ । यसका दुई कारण छन् – धुम्रपान वा अरुले धुम्रपान गरेको धुँवामा सास लिँदा र दोस्रो वातावरणमा रहेको विषालु कण ।
सन् २०१५ को एक अनुसन्धान अनुसार सास सम्बन्धि क्यान्सरका कारण संसारभरी ४० लाखको मृत्यु हुने गर्दछ । विकाशशील देशमा प्रदुषण र धुम्रपानका कारण यसको संख्या लगातार बढिरहेको छ ।
कारक तत्व
हुन त सास सम्बन्धि क्यान्सर जोसुकैलाई पनि हुनसक्छ तर धुम्रपान गर्नेहरुलाई यसको खतरा धेरै हुन्छ । वंशानुगत र वातावरण पनि यसका कारक तत्व हुन् ।
बच्ने तरिका
फोक्सोको क्यान्सरबाट बच्नका लागि धुँवा धुलोबाट बच्नुहोस् ।
६. मधुमेह
मधुमेह एक्लो रोग नभई विभिन्न रोगको समूह हो जसका कारण शरिरमा इन्सुलिनको उत्पादन र प्रयोग प्रभावित हुन्छ । टाइप ‘वान’ र ‘टु’ दुबै प्रकारको मधुमेहमा शरिरमा रहेको प्यान्क्रियाले इन्सुलिनको उत्पादन गर्न सक्दैन जसका कारण शरिरमा चीनीको मात्रा बढ्न थाल्छ ।
कारक तत्व
धेरै तौल, उच्च रक्तचाप, बढ्दो उमेर, व्यायाम नगर्नु, अस्वस्थकर खाना
बच्ने तरिका
मधुमेहलाई पनि पूर्ण रुपमा निको पार्न सकिँदैन तर यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ । नियमित रुपमा व्यायाम गर्नुहोस्, डाइटमा फाइबर समावेश गर्नुहोस्, पोषक तत्वले भरपुर खानेकुरा खानुहोस् ।
७. एल्जाइमर
एल्जाइमर वा स्मरण शक्ति गुम्ने यो रोगले तपाईंको स्मरण शक्तिलाई क्षती पुर्याएर सामान्य मानसिक क्रियामा रोकावट पुर्याउने गर्दछ । यसले सोच्ने सम्झने शक्ति, तर्क विवेकको क्षमता र सामान्य व्यवहार समावेश छन् ।
कारक तत्व
६५ वर्षभन्दा माथि, वंशानुगत, अस्वस्थ जीवनशैली, टाउकोमा लागेको चोट, मानिसहरु सँग लामो समयसँग कुराकानी र सम्पर्क नहुनु
बच्ने तरिका
यो रोगको जोखिमलाई कम गर्नका लागि स्वस्थ खानपान अपनाउनुपर्छ । स्वस्थ खाँदा तपाईंको मुटुसँगै दिमाग पनि यो रोगबाट सुरक्षित हुन्छ ।
८. निर्जलीकरण वा झाडा
यदि केही दिनसम्म लगातार झाडा लागिरह्यो भने शरिरमा पानी र नुनको कमी हुन थाल्छ जसका कारण शरिरमा पानीको मात्रा कम हुने गर्दछ । गम्भीर परिस्थितीमा मृत्युसमेत हुने गर्दछ ।
झाडा भाइरस र ब्याक्टेरियाका कारण हुने गर्दछ जुन दुषित खाना वा पानीको माध्यमबाट हाम्रो शरिरमा पुग्ने गर्दछ । जुन देशमा सर–सफाईको कमी हुन्छ त्यहाँ यस्तो रोग धेरै हुन्छ ।
कारक तत्व
फोहोर ठाउँमा बस्नु, सफा पानी नपिउनु, कुपोषण, कमजोर प्रतिरोधी क्षमता
बच्ने तरिका
युनिसेफलाई मान्ने हो भने झाडाबाट बच्ने सबैभन्दा राम्रो तरिका सर–सफाइलाई ध्यानमा दिनु हो, खाना खानुभन्दा अघि हात धुनुहोस्, सफा पानी पिउनुहोस् ।
९. क्षयरोग
क्षयरोग फोक्सोसम्बन्धि रोग हो जुन ब्याक्टेरियाका कारण उत्पन्न हुन्छ । यद्यपी, यो रोगको उपचार सम्भव छ तर गम्भीर परिस्थितीमा बिरामीको मृत्यु पनि हुनसक्छ ।
करिब ३५ एचआइभी सम्बन्धि मृत्यु क्षयरोगका कारण हुने गर्दछ । यद्यपी, सन् २००३ देखि अहिलेसम्म हरेक वर्ष क्षयरोग १.५ प्रतिशतले कमी भएको छ र सन् २०३० सम्म क्षयरोग उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।
कारक तत्व
मधुमेह, एचआइभी संक्रमण, तौलमा कमी, क्षयरोग बिरामीसँग नजिक बस्दा, कमजोर प्रतिरोधी क्षमता
बच्ने तरिका
क्षयरोगबाट बच्ने सबैभन्दा राम्रो तरिका बिसिजी सूई लगाउनु हो ।
१०. लिभर सिरोसिस
कलेजोलाई लामो समयसम्म हुने नोक्सानीलाई सिरोसिस भनिन्छ । मृगौलासम्बन्धि रोगका कारण वा हेपाटाइटिस वा आवश्यकताभन्दा धेरै मद्यपान गर्दा लिवर सिरोसिस हुने गर्दछ ।
जतिजति कलेजोमा क्षती हुन्छ त्यति नै त्यसको तन्तुमा घाउ हुन्छ जसका कारण कलेजोलाई काम गर्न मुश्किल हुन्छ । यसो भइरहे कलेजोले पूर्ण रुपमा काम गर्न बन्द गर्छ । यो रोगका कारण हरेक वर्ष संसारभरी १२ लाखको मृत्यु हुन्छ ।
कारक तत्व
अत्यधिक मद्यपान गर्दा, कलेजो वरिपरि बोसो जम्दा, क्रोनिक भाइरल हेपाटाइटिस
बच्ने तरिका
सिरोसिसबाट बच्नका लागि कलेजोलाई क्षती पुर्याउने खानेकुराबाट बच्नुहोस् जस्तै धेरै रक्सी नपिउनुहोस्, स्वस्थ खानपान अपनाउनुहोस्, चिनी र बोसो पनि कम खानुहोस् ।