धर्तीको स्वर्गः गोसाइकुन्ड

समुन्द्री सतह भन्दा ४,३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड रसुवा जिल्लामा अवस्थित छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यस तालको क्षेत्रफल १३.८ हेक्टर रहेको छ । यस क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ ।

पापबाट मुक्ति खोज्न :
पवित्र स्थल गोसाइकुण्डप्रति हिन्दू धर्माबलम्बीहरुको ठूलो आस्था र श्रद्धा अझैँ पनि उत्तिकै कायम छ । पौराणिक किंबदन्तीअनुसार पहिले देवता र दानवबीच भयानक युद्ध हुने क्रममा दानवहरुले देवतालाई जिते ।

देवताहरु भगवान विष्णुको शरणमा पुगेपश्चात विष्णु भगवानको सल्लाह अनुसार राक्षस र देवता मिलेर समुन्द्र गर्ने, समुन्द्र मन्थनबाट निस्कने अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई मध पान गराएर उनीहरुको सर्वनास गर्ने सल्लाह दिएपछि देवताले दानवहरुलाई फकाईफुल्याई समुन्द्र मन्थन गर्न सहमत गराए ।

समुन्द्र मन्थन गर्दा विभिन्न वस्तुहरु निस्के । यसैक्रममा कालकुट विष पनि निस्कियो । कालकुट विष सहन नसकेकर देवता र दानव कोही मुर्छा परे त कोही मर्न लागे । जसलाई शान्त नपारेमा यो संसार तथा सृष्टिलाई नै भष्म गराउन सक्थ्यो ।

यो अवस्था देखेपछि सबै देव र दानव भगवान शिवको शरणमा पुगेपछि दयाकारी भगवान शिवले उक्त विष स्वयं आफैँले पनि सेवन गरेका थिए । पुनः समुन्द्र मन्थनमा देवता र दानव लागी परे । विष पिएका कारण भगवान शिवलाई डाहा भएर छटपटाउँदै भौँतारिएका उनले विषको डाहा शान्त पार्न हिमालय पर्वतमा पुगेर आफुसँग भएको त्रिशूलले भित्ता खोपे ।

त्यसबाट तिनधारा भएर निस्किएको जल पिएपछि डाहा शान्त भएको र त्यही त्रिशूलधाराबाट उक्त पानी बगेर गई हालको गोसाइकुण्ड उत्पती भएको प्रचलित किंवदन्ती धार्मिक ग्रन्थहरुमा पाइन्छ । सोही कुण्डको बीचमा अहिले पनि भगवान शिव अर्थात महादेव विराजमान रहनुभएको विश्वास गरिँदै आइएको छ ।

पुराणमा उल्लेख भएअनुसार जो कोही मानिस यो कुण्डमा साउनमास अर्थात जनैपूर्णिमामा आएर नुहाउँछ, उसले जीवनमा गरेका सबै पाप नष्ट हुन्छ भन्ने किंवदन्ती रहिआएको छ । गोसाइकुण्ड त्रिशूली नदिको उद्गम क्षेत्र पनि हो । विषले निस्लोट भएका शिवले पहाडको भित्तामा गाडेको त्रिशूलबाट निस्किएको पानीबाट नै नदी बगेको हुँदा नदीको नामसमेत त्रिशूली हुन पुगेको विश्वास छ ।
यहाँ कसरी पुग्ने ?
रसुवाको स्याफ्रु गाविसको उच्च स्थानमा पर्ने यस कुण्डमा पुग्न सदरमुकाम धुन्चेदेखि एकदिनको पैदलयात्रापछि गोसाइकुण्ड पुग्न सकिन्छ । धुुन्चेबाट देउराली, च्योलाङपाटी, चन्दनबारी, लौरिविनायकको उकालोपछि गोसाइकुण्ड पुगिन्छ । यात्राको क्रममा पटक पटक वर्षा भइरहने र अत्याधिक चिसो हुने हुनाले बाटोमा जुका लाग्ने समस्याले यात्रुहरुलाई सताउने गर्दछ ।

यसबाहेक ढिस्सा अर्थात तीन हजार मिटरदेखि माथीको उचाइमा पुगेपछि लेक लाग्न सुरु हुन्छ । चिसोले पेट फुल्ने, रिँगटा लाग्ने र बाटोमा हुने अनेकथरी फुलका कारण टाउको दुख्ने यात्रुहरुका लागी अर्को समस्या हो । गोसाइकुण्ड यात्राको क्रममा धेरै ताल र कुण्डहरु भेट्न सकिन्छ । यहाँबाट देखिने अन्नपूर्ण, गणेश हिमाल, मनास्लु, लाङटाङ लगायतका तिब्बतका हिम श्रृखलाहरुले पर्यटक तथा तिर्थालु भक्तजनहरुको मनलाई रोमाञ्चित तुल्याउँछ ।

यहाँबाट देखिने सुर्यास्तले पनि यात्रालाई सहज बनाउन हौसला दिनुको साथै अन्य प्राकृतिक मनोरमले सबैको मन लोभ्याउँछ । बाटो आसपासमा वौद्ध धर्म मान्नेहरुले टाँगेका प्रे फ्ल्यागहरुले आतिथ्यतापूर्वक आगन्तुक भक्तजनहरुको स्वागत गरिरहेको अनुभूति दिन्छ ।

एकसय भन्दा बढी प्रजातिका फुूल्ने फूल र बनस्पती, जटामसी, पदचामल लगायत यस भेगमा पाइने चखेवा चखेवी, खोयाहाँस, कालिजुरे, विश्वकै अति दुर्लभ वन्यजन्तु रेडपाण्डा जस्ता वन्यजन्तुको त्रियाकलाप र दृष्यले यहाँ अर्को छुट्टै मनोरञ्जन प्रदान गरिदिन्छ ।

तामाङ संस्कृतिको बाहुलयता रहेता पनि यो क्षेत्रमा अन्य जातिको पनि बसोवास रहेको छ । तर, गोसाइकुण्ड मानव वस्तीवाट एक दिनको पैदल दूरी आसपासमा मात्र भेटिन्छ । तामाङ जातीको बाहुलयता भएका कारण पनि यो पदमार्गले तामाङ हेरिटेज ट्रेल भनेर प्रख्याती कमाएको छ ।

संस्कृति र प्रकृति बुझ्ने थलो :
गोसाइकुण्ड क्षेत्र कुण्डैकुण्डको क्षेत्र पनि हो । यस क्षेत्रमा भैरव कुण्ड, सुर्यकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, दुधकुण्ड, पार्वती कुण्ड लगायतका महत्वपूर्ण मानिने १०८ वटा कुण्डहरु छन् । कतिपय कुण्डहरु भने प्रचारमा आउन सकेका छैनन् ।

लाङटाङ र गणेश हिमाल आसपासमा रहेका दर्जनौँ ताल र कुण्डका बारेमा पनि अध्ययन अनुसन्धान र नामाकरण हुन बाँकी नै छन् । विश्व सम्पदा सुचिमा सुचिकृत गोसाइकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको छ । निकुञ्जद्धारा संरक्षित क्षेत्र भएकोले पनि यस ठाउँको वातावरण अत्यन्त आकर्षक र मनमोहक देखिन्छ ।

गोसाइकुण्डमा घाम लागेका बेला महादेव शिवको आकृतिजस्तो गेरु रंगको चट्टान देखिन्छ । त्यसैले यसलाई शिवकुण्ड पनि भनिन्छ । धार्मिक मात्र होइन गोसाइकुण्डलाई अनेकौँ महत्वले साक्षत्कार गर्नैपर्ने अपरिहार्य क्षेत्रको मान्यता पाएको छ । ऐतिहासिक र पर्यटकिय रुपमा पनि उत्तिकै महत्वको ठाउँ गनिने गोसाइकुण्डको बारेमा खोजिनिति गर्न चाहनेका लागी यो क्षेत्र एउटा दस्तावेज बन्न सक्छ ।

भगवान शिवले विश्व रक्षाका लागी कालकुट विष सेवन गरेको प्रशंगसँग जोडिएको यो कुण्डको धार्मिक महत्वको वर्णन एकातिर छँदैछ, नेपालका विर योद्धा अमरसिँह थापाले आफ्नो जीवनको अन्तिम क्षण गुजारेको ऐतिहासिक महत्व र रामसार सूचिमा सूचिकृत भएको प्राकृतिक महत्व ज्यादा छ ।

यस कुण्डको सम्बन्ध नेपाली धर्म संकृति र इतिहाससँग मात्र नभएर विभिन्न जातजाती, कलासंस्कृति र साहित्यमा पनि उत्तिकै महत्वका साथ जोडिएको पाइन्छ । यो साँच्चिकै प्राकृतिक मनोरमताले भरिपूर्ण छ ।

जनैपूर्णिममा गोसाइकुण्ड पुग्ने जो कसैले त्यहाँको तामाङ संस्कृतिमा रहेका तामाङसेलो, मेन्दोमायाँ, ढ्याङ्ग्रे नाच र अन्य सम्प्रदायबाट प्रदर्शन गरिएका भजन कृतन, खैँजरी नाँच आदिले धार्मिक पर्यटकहरुलाई रमणिय वातावरण सिर्जना गरिदिन्छ ।

कुण्डको निलो पानी वरिपरि उभिएका भिमकाय र अग्ला पहाड, पहाड नजिकका चाादिझैँ टल्किरहने हिमाल र हिम श्रृखला, स्वच्छन्द हावा, मनमोहक वातावरण, त्यस्तो स्थान कसलाई मन नपर्ला र । बरु साँच्चै नै स्वर्गको अनुभूति गर्न सकिने गोसाइकुण्ड ध्यान, साधनामा लाग्ने मानिसहरुका लागी उत्कृष्ट तपोभूमि मानिन्छ ।

एकपटक गोसाइकुण्डको यात्रा गर्ने हो की । गोसाइकुण्डको यात्राले पर्यटकहरुलाई धार्मिक दृष्किोणले मात्र नभएर वातावरणिय धरातलमा समेत रहेर अवलोकन गर्ने मौका प्रदान गर्छ । लाङटाङ राष्ट्रिय निकुञ्जले संरक्षण गरेको जंगल र त्यहाँका हिमाली बन्यजन्तुले पनि गोसाइकुण्डमा जाने मानिसहरुलाई थप आकर्षण प्रदान गर्दछन् ।

जनजाती र संस्कृतिसँग रुचिराख्ने मानिसहरुको लागी रसुवा जिल्लामा तामाङसंस्कृतिको बारेमा अध्ययन अनुसन्धान गर्न समेत मौका मिल्छ । तिब्बतसँग भएको नेपालको लडाईँमा किल्ला बनाइएको रसुवागढीको ऐतिहासिक स्थल पनि गोसाइकुण्ड जाने बेलामा पुग्न सकिन्छ ।

रसुवा जिल्लाको दक्षिणी भेगका ग्रामिण वस्ती सरमथली, जिवजिवे, कालिकास्थान र राम्चे वरपरका पहाडी बस्तीहरुले पनि गोसाइकुण्ड जाने यात्रुहरुलाई रोमाञ्चित बनाउँछ । प्राकृतिक र धार्मिक सन्तुष्टिको प्राप्तिका लागी भनेपनि सके पटक पटक नसके एकपटक पुग्नैपर्ने गतिलो गन्तव्य गोसाइकुण्ड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *