ध्यान के हो ? कसरी गर्ने ?

https://www.oshoarena.com/wp-content/uploads/2016/12/%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A8.jpg
http://www.ghatanarabichar.com/wp-content/uploads/2017/06/%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A8-%E0%A4%B0.jpeg

ध्यान यस युगको बहुचर्चित शब्द हो । यस सम्बन्धी मानिसहरुका आ–आफ्ना धारणाहरु छन् । विभिन्न खाले धर्म सम्प्रदायहरुले पनि आ–आफ्नो मान्यता, सिद्धान्त, विश्वास अनुसार ध्यानको परिभाषा गर्ने गरेका छन् ।

एक ध्यान केन्द्र या सम्प्रदायले अर्को ध्यान केन्द्रको विरोध गरिरहेको र आफ्नो ध्यान लाई मात्र ध्यान र अन्यको ध्यानलाई हिन, कमसल, नादान इत्यादि भन्ने गरेको पनि पाइन्छ । यस्ता केन्द सयौंको संख्यामा भेटिन्छन् ।

कसैले ध्यानलाई आफ्ना इष्टदेवको स्मरणको रुपमा परिभाषित गर्छन् भने कसैले अन्य प्रतिकमा एकाग्रता अभ्यास गर्ने कुरालाई जोड दिन्छन् । कसैले नृत्यलाई ध्यान भनेका छन् भने कसैले मूर्ति वा फोटो अगाडि धुप बाली सघन मनका साथ बस्नुलाई ध्यान भनेका छन् ।

ध्यान सम्बन्धी यति धेरै मान्यताहरु देखा परेको स्थितिमा एक साधारण व्यक्तिले यो घन चक्करलाई कसरी बुझ्ने ? ध्यान केलाई भन्ने ? ध्यानका लाभहरु क्सरी प्राप्त गर्ने ? कुन ठाउँ गएर ध्यान गर्ने ? उपाय के होला ? यो अहं प्रश्न छ ।

खाँचो वैज्ञानिक परिभाषाको

आचार्यश्री पथिक भन्नु हुन्छ “जब कुनै दर्शन, अध्यात्म, राजनीतिक ज्ञान, अर्थशास्त्र या कुनै पनि विद्या या क्षेत्र नै किन नहुन, यदि विज्ञानलाई छोडेर जान्छन् भने ती क्षेत्रमा विभिन्न खालका मत, मान्यता, सिद्धान्त र सम्प्रदायहरु खडा हुन्छन्, जसले सत्यको परिपूर्ण व्याख्या गर्न सक्दैनन् । अनि त्यहाँ थुप्रै मतभेद सिर्जना हुन्छ, कलह सिर्जना हुन्छ, एक आपसमा अस्तित्वको संघर्ष शुरु हुन्छ ।”

जसरी गणित र बाह्य विज्ञानको क्षेत्रमा, भौतिक विज्ञानका क्षेत्रमा भएका ज्ञान तथा उपलब्धिहरुमा आम मानिसको एक मत छ, त्यो त्यसभित्रको विज्ञानलाई स्वीकार्नुका कारणले भएको हो । आचार्यश्री पथिक भन्नु हुन्छ “ध्यानमा यदि विज्ञान जोडिन्छ भने यसले ध्यान सम्बन्धी चलेका सबै खाले बिखण्डनकारी मान्यता तथा भ्रमहरुलाई निर्मुल गर्नुका साथै सबै मनुष्यलाई स्वास्थ्य, शान्ति, प्रेम, सद्भाव र आनन्द प्रदान गर्नेछन् र मनुष्य जीवनको गरिमा प्रदान गर्ने छन् । ”


थाहा पाउनु होस जागृत हुनु,जानकारीमा आउनु, सचेत हुने क्रियाकलापबाट ध्यान शुरु हुन्छ

ध्यान शब्दलाई विश्लेषण गर्दा यसको अर्थ लाग्छ थाहा पाउनु  या , होश पुर्याउनु, देख्नु, निरिक्षण गर्नु इत्यादिलाई बुझाउँछ । यसलाई दुई आयामबाट व्यक्त गर्न सकिन्छ ।

१) बस्तुगत सचेतता

जब हामी बाह्य जगतमा घटेका घटनाहरुको बारेमा थाहा पाउँछौं, वस्तुको प्रकृति, स्वभाव, अवस्थिति इत्यादिको बारेमा थाहा पाउँछौं, त्यसलाई वस्तुगत सचेतता भनिन्छ । उदाहरणको लागि गाडिहरुको गतिविधि तथा आवाज, मानिसहरुको क्रियाकलाप, बोटविरुवा, पशुपंक्षी इत्यादिका क्रियाकलापकोे निरपेक्ष निरिक्षण ।

२) आत्मगत सचेतता

जब व्यक्तिले आफ्नो शरीर देखि भित्र मन, विचार, श्वासप्रश्वास प्रक्रिया लगायतका गतिविधिहरुको बारेमा सचेततापूर्वक थाहा पाउँछ, त्यसलाई आत्मगत सचेतता भनिन्छ । यो स्वयं पनि निरपेक्ष निरिक्षण हो । एक ध्यानी व्यक्तिले विशेषगरी आफ्नो चित्तमा चलेका अनेक प्रकारका रीपुहरु मार्न सचेत तथा जागरुक हुन्छ ।
समग्रमा ध्यान एक निरिपेक्ष निरिक्षणको कला हो, विज्ञान हो। यसका निम्न विशेषताहरु छन् –

यो निरिक्षणको कलामा व्यक्तिले कुनै पनि विचारलाई न अस्वीकार गर्छ, न राम्रो या नराम्रो ठानी प्रतिकृया गर्छ ।

वस्तु वा प्रकृतिको स्वभावलाई देख्ने क्रममा न त्यो घटनाप्रति कुनै प्रकारको आसक्त्ती देखाउँछ न शिकायतमा जान्छ ।

 घटना या स्थिति प्रति निर्णय लिंदैन ।

यो एक वाइनाकुलरले जंगल, पहाड, बस्तीको निरिक्षण गरे जस्तै हो, जसले रेकर्ड गर्ने कार्य गर्दैन तर सचेत तथा होश बनाएर राख्दछ ।

माथिका विशेषताहरुलाई हाम्रो शरीरको गतिविधि जस्तै श्वास प्रश्वास प्रक्रियालाई हेर्ने क्रममा निम्न तरीकाले बुझ्न सकिन्छ । श्वास निरन्तर प्रवाहमान प्रक्रिया हो, यो हाम्रो नियन्त्रणमा छैन । हामी यो श्वास प्रश्वासको बारेमा सचेत हुन सक्छौं ।

त्यस्तै मस्तिष्कमा अनेक खालका विचारहरु चलिरहेको प्रति सचेत हुन सक्छौं , यिनलाई न हामी ध्यानमा रोक्छौं, न अस्वीकार गर्छौं न प्रतिकार गर्छौं । विचारहरु आफ्नो संस्कार अनुसार राम्रा हुन पनि सक्छन्, नराम्रा हुन पनि सक्छन्, काम लाग्ने पनि हुन सक्छन्, काम नलाग्ने पनि हुन सक्छन्, शुरुमा ध्यान गर्ने व्यक्ति यी विचार तरंगको बारेमा थाहा पाउँछ ।

यसरी थाहा पाउँदै जागरुक हुँदै जाँदा चित्तवृत्तिहरु शान्त हुन्छन् । जब उसले आफ्नो क्षेत्र सँग सम्बन्धित समस्याहरुको बारेमा यथाभुत जानकारी पाउँछ, त्यहीं भित्र नै उसले समस्या समाधानको उपाय निकाल्छ । समस्या समाधानको सन्दर्भमा ओशो भन्नु हुन्छ “समस्याहरु हजार हुन सक्छन्, समाधान एक छ त्यो हो ध्यान” ।

ध्यानका सन्दर्भमा विभिन्न ऋषिहरुले आफ्नो समयमा दिनु भएका भनाईहरु निकै मननिय छन् –

१) पतञ्जलि भन्नुहुन्छ “प्रत्याहार सिद्ध गरेर नै ध्यानमा प्रवेश गर्न सकिन्छ । प्रत्याहार सिद्ध गर्नु भनेको चित्तका वृत्तिहरु पूर्णरुपले निरोध भई इन्द्रियहरु सांसारिक रसबाट मुक्त भएको अवस्था हो ।”

२) गोरखनाथ भन्नुहुन्छ “हाँस्दै खेल्दै ध्यान गर, दिन रात ब्रह्ममा विचरण गर ।”

३) श्रीकृष्ण र अष्टावक्र भन्नुहुन्छ “निर्विषय चेतनाको अवस्थामा ध्यान घटित हुन्छ । अष्टावक्र गीताका अनुसार विषयहरुमा जबसम्म रस रहन्छ तबसम्म ध्यान (मुक्ति) त्यस व्यक्तिसित निरस रहन्छ ।” विषय वासना, काम, फलाकांक्षा र व्यवसायसित खेलेर ध्यानको गहनतालाई अनुभवमा ल्याउन सकिंदैन ।

४) आचार्यश्री पथिक भन्नुहुन्छ “ध्यान भनेको अमनि दशा हो । स्वयं र वस्तु स्थिति प्रतिको जागरुकता हो । यो न त एकाग्रता हो, न धारणा नै । एकाग्रतामा मन एकाग्र हुन्छ भने धारणामा मन एकोहोरो हुन्छ । ध्यानमा मन हराउँछ । ध्यान स्वयंतिर फर्कने यात्रा हो । ध्यानमा सबै बाह्रय वृत्तिहरु छुट्छन् तर जागरणको सघनता रहिरन्छ ।”

विश्व शक्तिको आवश्यकता तथा ध्यानको अपरिहार्यता

हामी सबै मनुष्यको एउटै खोज छ, त्यो हो अच्छा स्वास्थ्य, शान्ति, सम्वृद्धी, सुख र आनन्द । यही प्राप्तिको लगि नै हामी अनेक खालका कर्म तथा सम्बन्धमा, व्यवहारमा लाग्छौं, कडा मिहिनेत गर्छौं । के त्यो साँच्चिकै प्राप्त गर्न सकिन्छ ?

सम्बुद्ध रहस्यदर्शी, ऋषिहरु भन्नुहुन्छ “अवश्य त्यो प्राप्त गर्न सकिन्छ । त्यसको लागि हामीलाई अस्तित्वको शक्ति याने विश्व शक्ति चाहिन्छ । यो शक्ति पूरा विश्वमा व्याप्त छ, यसले नै सारा ब्रह्माण्ड, तारापुञ्ज, मनुष्य, पशुपंक्षी इत्यादि चराचर जगतलाई बेरेको छ । विश्व शक्ति नै जीवन शक्ति हो, दिव्य शक्ति हो । यो हाम्रो जीवनको सन्तुलन र चेतनाको लागि जरुरत छ । यो हाम्रो हरेक क्रिया र कामको लागि आवश्यक छ । गहिरो निन्द्रा तथा मौनमा थोरै विश्व शक्ति मिल्दछ । यस शक्तिलाई हामी हाम्रो दैनिक क्रियाकलाप जस्तै हेर्ने, बोल्ने, सोच्ने तथा शरीरका हरेक गतिविधिमा खर्च गर्छौं । तर यो शक्ति थोरै हुन्छ । यसैले हामी थाक्दछौं, तनावबाट भरिन्छौं । शारीरिक तथा मानसिक झन्झटमा फस्छौं । यी सबै समस्याबाट छुट्करा पाउनको लागि हामीलाई ज्यादा भन्दा ज्यादा विश्व शक्ति चाहिन्छ । विश्व शक्तिको आवश्यकता हामीलाई निम्न चीजको लागि छ –

सुखी तथा स्वस्थ जीवनको लागि

हरेक काम तथा चुनौती सँग सामना गर्नको लागि

आफ्नो चेतना बढाउनको लागि

हामीलाई भरपुर विश्व शक्ति ध्यानबाट मिल्दछ । निन्द्राबाट मिल्ने शक्ति भन्दा कैयौं गुणा यो शक्ति ध्यानबाट मिल्दछ । यसलाई विशुद्ध सामर्थ्यको नियम Law of pure potentiality को रुपमा पनि अध्ययन गर्न सकिन्छ । 

ध्यानको अवस्थालाई कसरी प्राप्त गर्ने ?

ध्यान तथा यसका विधिहरु

हरेका युगका ऋषिहरुले देश, काल परिस्थिति अनुसार व्यक्तिको स्वभाव (अन्तर्मुखि या बर्हिमुखि), ऊर्जा र चैतन्यको स्थिति अनुसार पहिले चलिआएका विधिलाई सञ्चालन, संसोधन, परिमार्जन तथा नयाँ विधिहरुको आविश्कार गर्नुहुन्छ र मनुष्य कल्याणको लागि बाँड्नुहुन्छ ।

उहाँहरु भन्नुहुन्छ “ध्यानका विधिहरु साधन हुन्, उपाय हुन् ध्यानमा प्रवेशको लागि । तिनीहरु स्वयं नै साध्य होइनन् । ती ध्यान प्रवेशका लागि आलम्वन हुन् । एक्काइसौं शताब्दीको मनुष्यको जटिलता, कठिनाई तथा समस्याहरुलाई हेरेर ओशो, गुर्जिएफ तथा आचार्यश्री पथिक ज्युले अनेक खालका सक्रिय तथा निष्कृय ध्यान विधिहरु दिनु भएको छ । व्यक्तिको स्वभाव, प्रकृति, उमेर, ऊर्जा, चेतनालाई ख्याल गरिकन गराइएका, व्यक्तिको दक्षता, रुची, प्रतिभालाई हेरेर कर्म साधना तथा उत्पादन प्रक्रिया सँग जोडिएका ध्यान विधिहरुले अहिलेको मनुष्यलाई ध्यानको दिशा तथा नेतृत्व प्रदान गरेका छन् ।

ध्यानमा गुरुको आवश्यकता 

पढाइ–लेखालेखाइ तथा जीवनको सामान्य क्रियाकलाप सञ्चालन गर्न लाई गाइड चाहिन्छ भने ध्यान जस्तो मनुष्यलाई अन्तिम खजाना उपलब्ध गराउने आयाममा गुरुको अपरिहार्यता गहिरो छ । यसलाई नजरअन्दाज गर्न सकिंदैन ।

गुरुको निर्देशन, निरिक्षणको अभावमा गरिएका ध्यान साधनाबाट थुप्रै ध्याताहरु अल्मलिएको, भड्किएको तथा कतै फसेको पाइन्छ । यसरी भड्किनु, अड्किनु र फस्नुको कठिनाईलाई पार गर्नको लागि एक कुशल गुरु जसले ध्यानको गुढतम रहस्यलाई खोलिदिन्छ, उसको पछि लाग्नु नितान्त श्रेयष्कर छ । सामान्य मनोरञ्जन पूर्ण तथा सामान्य स्वास्थ्य आर्जनको लागि पुस्तकमा लेखिएका ध्यान विधिले गाइड गर्न सकेपनि ध्यानका लाभ प्राप्तिको लागि युग युग देखि नै एक जीवन्त गुरुको आवश्यकताको महिमा गाइएको छ ।

ध्यानका केही प्राविधिक प्रश्नहरु

१) कस्तो आसन ध्यानको लागि सहि छ ? के ध्यान जुनसुकै अवस्थामा गर्न सकिन्छ ?
– शरीरको अवस्था हेरी सहज आसनमा बसी ध्यान गर्न सक्रिन्छ । कुर्सी या म्याटमा बसेर पनि ध्यान गर्न सकिन्छ । शरीरमा ऊर्जाको उध्र्वोगमनको लागि मेरुदण्ड सीधा राखिनु पर्छ ।
२) ध्यानको लागि आवश्यक शारीरिक स्वास्थ्य, रहनसहन, आचारव्यवहार के के हुन् ?
– प्रत्येक व्यक्तिको शरीरको प्रकृतिलाई ख्याल गरी गाइडको सहयोगमा चल्ने ।
३) ध्यान गर्दा आँखा किन बन्द गरिन्छ ?
 – बाहिरी दृश्यबाट मुक्त हुन ।
४) ध्यान गर्नको लागि कुन समय उपर्युक्त हुन्छ ?
– बिहान, बेलुका र राती अथवा एकान्त स्थानमा कुनै पनि समय ।
५) ध्यान कति समयमा गर्ने ?
 – एकपटकमा ४५ मिनेट भन्दा बढी ।
६) कुन ध्यान विधि मेरो लागि सही छ कसरी छुट्याउने ?
 — गाइडको सहयोग लिने ।

ध्यानको परिणाम
ध्यान भएको थाहा पाउने के के मापदण्डहरु छन् जस्तै 

१) चेतना र बोधको अवस्था कति विकसित भयो ?
२) आत्म निरिक्षणको कला, आफ्ना कमजोरी सच्याउने, चित्तदशा प्राप्त भयो कि भएन ?
३) अहंकार र चितका वृतिहरु निरोध भइरहेका छन कि छैनन ?
४) सजगता र जागरण कति विकसित भयो ?
५) आहार,निद्रा,कामवासनामा कति परिवर्तन भयो? के सार्थक हो र के निरर्थक कति छुटयाउन सकियो?
६) नकारात्मक भावनाहरु हराउंदै जाने, दान भाव,सेवाभाव बढदै जाने अवस्थाको सृजना भयो कि भएन ?
७) काम गर्ने, सोच्ने, बोल्ने तरीका लगायत समग्र जीवनशैलीमा सकारात्मक परीवर्तन देखा पर्दै गएको स्थिति छ कि छैन ?

निष्कर्ष
आजको मान्छेले सामना गरेका समस्याहरु चाहे स्वास्थ्यको क्षेत्रमा होस्, शिक्षाको क्षेत्रमा होस् अथवा सामाजिक वा अन्य कुनै क्षेत्रमा किन नहोस्, ती सबैको सामाधानको लागि एक नव मानवको आवश्यकता छ, जो प्रेम र सद्भावले भरिएको होस्, जसमा निष्काम सेवाभाव पलाएको होस्, संस्कार, संस्कृतिको चपेटामा नपरी उम्किएको होस्, जो भ्रष्टाचार र अन्य अमानवीय कार्यबाट मुक्त भई आफु वरिपरीको वातावरणलाई स्वच्छता दिन सकोस् ।

यस खालको नवमानव जसले युग अनुसारको प्रविधि, विज्ञानलाई आत्मसाथ गरोस् र उच्चतम आध्यात्मिक चैतन्यले युक्त होस्, जसले घर, परिवार, अफिस लगायतका क्षेत्रहरुमा सन्तुलन ल्याउन सकोस्, त्यस व्यक्तिको सृजना गर्नको लागि ध्यान एक आवश्यकता मात्र होइन, अपरिहार्य विषय हो। ध्यानलाई नितान्त नयाँ ढाँचाबाट अवलम्वन गरी जीवनको एक अभिन्न अंग बनाउन आवश्यक छ । यसलाई जडसुत्रीय चिन्तन तथा अन्धपरम्पराबाट मुक्त गरी एक वैज्ञानिक आयाम दिइनु जरुरी छ।
विभिन्न अनलाइन वाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *