नेपालमा रहेकाे हिन्दुहरुकाे पवित्र धार्मिक स्थल श्री पशुपतिनाथकाे मन्दिर

हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको मन्दिर काठमाडौंको वाग्मती किनारमा अवस्थित छ । पशुपतिनाथका रूपमा यहाँ पञ्चमुखी शिवलिंगको पूजाआजा हुने गर्दछ । नेपाली तले शैलीको दुई तहयुक्त पशुपति मन्दिरको छानालाई धातुका पाताले मोरेर सुनको जलप लगाइएको छ । यसको गजुर पनि सुनको छ ।

चारतिरका चार ढोकामा चाँदीका पाता मोरिएका छन् । यहाँका तोरण, टुँडाल र अन्य वस्तुहरू पनि निकै कलात्मक छन् । पशुपतिनाथ र नेपालको उत्पत्ति सँगसँगै भएको किंवदन्ती पाइन्छ । वंशावलीहरूका अनुसार, नेपालका प्रारम्भिक शासक गोपालवंशका गोठालाहरूकी बहुह«ी नामक गाईले एउटा ढिस्कामा दूध चुहाउने गरेकी रहिछन् ।

गोठालाका नाइकेले त्यहाँ खन्दा पशुपतिको ज्योतिर्लिंग उत्पत्ति भएछ । पछि त्यहीँ पशुपतिनाथको प्रतिष्ठापन गरिएछ । नेपालको पहिलो राजवंश गोपालवंश हो । तसर्थ पशुपतिनाथ र नेपालको राज्य व्यवस्थाको सुरुआत एकसाथ भएको मानिन्छ ।

नेपाल माहात्म्य, वराह पुराण र शिव महापुराण लगायतका ग्रन्थहरूले पशुपतिनाथको महिमागान गरेका छन् । परापूर्वकालमा शिवजी पशुपति क्षेत्रको मृगदावनमा मृगको रूप धारण गरी बसेको विवरण पाइन्छ । पशुपति क्षेत्रमा पशुपतिका रूपमा रहेका शिवजीका साथमा ब्रह्मा, विष्णु, गणेश लगायतका थुप्रै देवीदेवताका मूर्ति र मन्दिरहरू छन् । पशुपतिनाथको पूर्वतिर प्रसिद्ध आर्यघाट छ । अलिकति पर गुह्येश्वरीको अवस्थिति छ । तसर्थ पशुपति भेग अति भव्य छ । यो स्थान श्राद्ध, संस्कार, स्नान, देवपूजन र अन्य धार्मिक तथा संस्कारगत कृत्यका लागि नेपालको सबैभन्दा महत्वपूर्ण र पवित्र तीर्थ मानिन्छ ।

शिवरात्रि, तीज र बालाचतुर्दशीका अवसरमा पशुपतिनाथमा ठूलठूला मेला लाग्ने गर्दछन् । काठमाडौंको भ्रमण गर्ने जोकोही पनि यहाँ नपुगी नफिर्ने हुनाले यहाँ सधैं मेला लागेजस्तो देखिन्छ । कलाकारिताका दृष्टिले सम्पन्न, सांस्कृतिक विविधतायुक्त र सर्वप्राचीन यस तीर्थमा स्वदेशी र विदेशी पर्यटकको सधैं घुइँचो लागेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *