नौधारी झरना

दिनेश खड्का

साँख गा.वि.स.वडा नं. ५ र ६ मा पर्ने घना जङ्गलको वीचमा रहेको नौधारी झरना रुकुम जिल्लाको ऐतिहासिकता बोकेको प्राकृतिक सम्पदा हो । प्राकृतिक रूपमै नौ वटा मुलहरू निस्केर बग्ने भएकाले यसको नामाकरण नौधारी झरना रहन गएको हो ।

करीव ३ सय मिटरको उचाईबाट झरेको यो झरना सामाजिक संस्कारसंग सम्बन्धित भएको मानिन्छ । स्थानीयका अनुसार कुनै समय शोभा नामको झाँक्रीलाई आफ्ना इष्ट देवताले छ महिना सम्म गुप्तबास राखेछन् । यसरी छ महिना सम्म बेपत्ता भएपछि शोभा झाँक्रीकी पत्नीले काजक्रिया गरी विधवाको रूपमा बस्न थालिन् ।

पत्नी विधवा भएर बसेको केहि समयपछि शोभा झाँक्री फर्केर घर आउँदा आफ्नी पत्नीको रूप देखेर आफ्ना सम्पूर्ण सामाग्रीहरू सहित आफ्नी बहिनी र छोरीहरुलाई दाँयाबाँया च्यापेर घना जङ्गलको वीचमा गएर अलप भएपछि नौवटा छहराहरूको उत्पति भएको बताईन्छ ।

बाह्रै महिना एकै नासको चिसो पानी बग्ने यी झरनाहरुसम्म पुग्न साँख दहबाट करीव एक घण्टाको पैदल यात्रा गर्नु पर्दछ । झरनाको विविधता थाहा पाउन र नयाँ अनुभव गर्न जानै पर्ने हुन्छ साँख गा.वि.स.मा ।


बराह मन्दिर चयरी

साँख गा.वि.स.वडा नं. ५ मा पर्ने चयरी बराह मन्दिर घना जङ्गल तथा बुट्यानको वीचमा रहेको छ । बर्षेनी २ पल्ट यस मन्दिरमा पुजा अर्चना तथा मेला लाग्ने गर्दछ । जेष्ठ पुर्णिमा र रक्षा बन्धनका दिन भगवान बराहको भब्य पुजा आराधना गरी मेला लगाउने गरिन्छ ।

मगर पुजारीले मात्र पुजाअर्चना गर्ने यस मन्दिरमा विशेष गरी जेष्ठ पूर्णिमाका दिन साँढे र रक्षा बन्धनका दिन साढेहरू सँगै कुखुराहरू चढाएर पुजा गरिन्छ । मानिसहरू आफ्नो मनोकांक्षा पुरा हुने विश्वासमा यस मन्दिरमा पुजा गर्ने गर्दछन् ।

एक हजार भन्दा बढी साढे र दश हजारभन्दा बढी कुखुराहरू चढाईने यस मन्दिरमा भब्य रुपमा मेला लाग्ने गर्दछ । मेलामा आफन्तसंग भेटघाट गर्न, स्थानीय उत्पादनको व्यापार गर्न र मनोरञ्जन गर्न जिल्लाका विभिन्न गा.वि.स.तथा छिमेकी जिल्ला रोल्पा, सल्यान, जाजरकोट लगायतका ठाउँहरूबाट मानिसहरू आउने गर्दछन् । यसका साथै यस मेलामा युवायुवतीहरूको प्रेम गर्ने तथा विहे समेत हुने गर्दछ ।


धाके चरी र फुर्के चरी छहरा
साँख गा.वि.स.को वडा नं. ४ मा पर्ने घना जङ्गलको वीचमा पर्ने धाकेचरी र फुर्केचरी छहरा सुन्दर प्राकृतिक खोचमा १५० मिटरको उचाईको वीचमा रहेको छ । रमणीय साँख गाउँबाट करिब १ घण्टा १५ मिनेटको पैदल दुरीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *