प्रसिद्ध डिग्रे भगवतीको मन्दिर

दिनेश खड्का

राप्ती अञ्चलको रुकुम जिल्लामा रहेको प्रसिद्ध डिग्रे भगवतीको मन्दिर हिन्दू धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र मानिन्छ । रुकुम जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट १.५ घण्टामा पुग्न सकिने भगवती मन्दिरको दर्शन गर्न, भाकल पुरा गर्न दैनिक जसो मानिसहरूको भिड लाग्ने गर्दछ । भक्तजन मनोकांक्षा पुरा हुने दृढ विश्वासले विभिन्न जिल्लाबाट मन्दिरमा दर्शन गर्न दर्शनार्थीहरू आउने गर्दछन् ।

स–साना बुट्यानहरू तथा घनाजङगलको वीचमा रहेको पवित्र यस धार्मिक स्थलमा सधंै जसो पूजा–आरधना गरिए पनि प्रत्येक बर्ष कात्र्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष पूजा–आराधना गर्ने गरिन्छ भने यस पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ ।

मुसिकाेट नगरपालीका १ रुकुममा पर्ने श्री डिग्रे भगवतीको मन्दिर

यस मन्दिरको उत्पत्तिका विषयमा कुनै लिखित प्रमाण नभेटिए पनि जन विश्वास र किवदन्ती अनुसार करीब १७ आंै शताब्दिको अन्त्यतिर मुसिकोटे राजाले राज्य गर्दथे । उनको दरबारमा गाईहरू पालिएका थिए । हाल मन्दिर भएको जङलमा ती गाईहरु चराउन लगिन्थ्यो । त्यो जङगलमा पानी कतै थिएन । कुनै एक समय कार्तिक शुक्ल एकादशीको दिन गाईहरु पानीको खोजीमा भौतारिईरहेका थिए । एउटा गाई पानीकोलागि सानो ओडारमा रहेको ओसिलो भागदेखी गाई त्यही तिर लागे । बेलुकी गाईहरू दरबार फर्के तर एउटा गाई दरबार फर्केन । भोलि पल्ट गाईको खोजी गर्ने क्रममा गाई सानो ओडारमा बसिरहेको अबस्थामा भेटिएको थियो । गाठालोले गाई निकाल्न खोज्दा एक चम्किलो नारी स्वरुपा देखिइन र भनिन् तिमी गाई लैजान सक्दैनौ । यो गाई मेरो सेवा गर्न आएको हो । यो सुनेर गोठालोले प्रश्न गरे तिमी को हौ ? प्रतिउत्तरमा ती नारीले म साईकुमारी भगवती हँु । तिमीले गाई लिएमा तिम्रो नष्ट हुन्छ । यो सुनेर गोठालो बिन्ती गदै भन्यो यि गाई राजाका हुन मैले यो गाई लिएर नगए राजाले मलाई कारवाही गर्छन । उसको बिन्ती सुनेर ती नारीले भनिन् त्यसो भए तिमीले राजालाई मात्र भन्नु अबको एक बर्षपछि मेरो पुजा आराधना गरी मेरो रक्षा गर्नु यसो गरे तिम्रो कल्याण हुनेछ । यसरी भगवतीको कुरा सुनेर गोठालो दरबार पुगेर राजासँग विन्ती गरे, गोठालोको कुरा सुनेर भोलिपल्ट राजा त्यहाँ पुग्दा गाई हराई सकेका थिए । यसरी गाई हराएको ठाउँमा भगवतीको प्रतीमा स्थापना गरी दैनिक पूजा गर्न थाले ।

केहि समयपछि राजाले काठका छाना भएको ढुङगाको मन्दिर निर्माण गरी तत्कालिन समयमा त्यो क्षेत्र साँखका मानिसहरूको पर्ने भएकाले संगाललाई मन्दिरको संरक्षण गर्न र मन्दिरको आय–स्रोत ब्यबस्थापन गर्न जिम्मा दिएका थिए । यसरी प्रत्येक बर्ष कार्तिक शुक्ल एकादशीदेखि चतुर्दशीसम्म बोकाको बलि दिईनुका साथै पुजापाठ गरिन्छ भने पूर्णिमाका दिन पुजापाठ गरिनुका साथै भब्य मेला लाग्ने गर्दछ ।

आफन्तसँग भेटघाट गर्न र मनोकांक्षा पुरा हुने विश्वासमा मानिसहरू यहाँ आउने गर्दछन् । यसरी दैनिक पुजा गर्न थालेपछि भगवती प्रशन्न भएर पानीको मुहान फुटाई दिएको विश्वास गरिन्छ । अहिले मन्दिरको मुनि सधै एकैनासले बगिरहने चिसो पानीको ढुङगे धारा रहेको छ । सधै एकैनासले पानी बग्ने गरे पनि एकादशीदेखि मन्दिरमा पुजापाठको चहलपहल सुरु भएपछि पानीको मात्रा बढदै जाने विश्वास गरिन्छ । यो ठाउँमा धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ ।
कार्यव्यस्ततापछि विश्राम गर्न, वनभोज जान उपयुक्त रहेको छ । रुकुम सदरमुकामबाट करिब दुई घण्टाको उकालोमा पुग्न सकिने पवित्र धार्मिक स्थल साईकुमारी डिग्रे मन्दिरसम्म पुग्न पछिल्लो समयमा सडक निर्माण थालिएको छ । हाल यस मन्दिरमा संस्कृत विद्यापीठ स्थापना गरी संस्कृत विषयमा पढाई हुन लागेको छ ।

वि.स. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्ला विभाजनपछि साईकुमारी डिग्रे मन्दिर क्षेत्र खलंगा गा.वि.स.मा रहेपछि मन्दिर संरक्षण खलंगा गाउँ विकास समितिले गरेपनि संगालहरूको पुरानो परम्परा अहिले पनि कायम छ । उनीहरू पूर्णिमाका दिन हातमा काठ, काँडाहरूका बुटाहरू लिएर मेलामा पस्ने गर्दछन् । केही समय नाच्ने गर्दछन् । यसरी संगालहरूको यो नाच सकिएपछि विधिवत रूपमा मेला सकिएको मानिन्छ ।

साभार ; श्री दिनेश खड्काले लेख्नु भएकाे पर्यटकीय रुकुम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *