मुसिकाेट क्षेत्रमा पर्ने केहि मनाेरम तालहरु

दिनेश खड्का

साँख दह
रुकुम जिल्लाको साँख गा.वि.स.को वडा नंं. १ र २ मा रहेका साना उपत्यका र रमणीय गाउँहरूको वीचमा रहेको साँख दहलाई पापिनी दह पनि भनिन्छ । यो दहको उत्पत्तिका विषयमा कुनै प्रमाणित आधार नभए तापनि स्थानीय बासिन्दाका अनुसार करीव तेह्रौंै शताब्दीको सुरुतिर पजङ्गी घर्ती र रम्जा घर्तीहरू झाँरीगाउँ र डारीगाउँमा बस्ने गर्दथे ।

साख ठुली दहमा पर्ने घासे मैदान

उनीहरूको घरमा सुंगुरहरू थिए । सुंगुर आहाराका लागि दिनभरि झाडीमा जाने र बेलुकी घर फर्कन्थे । यसरी झाडीबाट फर्कदा एक दिन सुंगुर हिलो लागेर आएको देखेपछि ती घर्तीहरूले नजिक पानीको मुहान हुन सक्ने अनुमान गरेर सुंगुरसँगै आउने क्रममा उनीहरुले स–साना झाडीहरूको वीचमा सानो दह देखे । दहको वरीपरीको ठाउँ फराकिलो र चारैतिर हेर्दा रमाईलो देखेपछि उनीहरूले डारीगाउँ र झारीगाउँबाट बसाई सराई गरेर दह नजिक बस्ती बसाले ।

यसरी बस्ती बसाल्ने क्रममा दह वरिपरि रहेको स–साना बुट्यान र झाडीहरू फडानी गरेपछि दहको आकार बढेर साँख दहको उत्पत्ति भएको हुनसक्ने बताइन्छ । मध्य पहाडि सडकको नजिक रहेको यस दहमा बर्षेनी माघ १५ र १६ गते विहे संस्कारमा आधारित पृथक शैलीको भब्य पापिनी मेला लाग्ने गर्दछ ।

ठुली दह ः
घना जङ्गल र स–साना बुट्यानका वीचमा फराकिलो फाँटमा रहेको ठुलीदह साँख गा.वि.स.वडा नं. २ र ७ मा पर्ने लेकमा पर्दछ । बर्षाको समयमा मात्र करिब २ मिटर जति पानी जम्मा भएर जलमग्न हुने यो दह असार लागेपछि पानी जम्मा भएर असोज पछि क्रमशः सुक्दै जाने गर्दछ ।

साँख दहबाट करिव ४ घण्टाको पैदल उकालोमा रहेको यो दहमा प्रत्येक बर्ष साँख, खलंगा, स्यालापाखा गा.वि.स.का कृषकहरू खेतीपाती सकेर असार महिनामा यस दहमा पशुवस्तुहरू लिएर जाने गर्दछन र असोजसम्म बसेर फर्कने गर्दछन् । खुल्ला रुपमा रहेका यी फराकिला फाँटहरूमा पशुहरू चराउने गरिन्छ ।

यो समयमा करीव ८ हजार पशुहरू जम्मा हुने गर्दछन र कृषकहरु पशुहरूलाई छाडा छाडेर पाल तथा स–साना खरले बनेका अस्थायी घरहरू बनाएर बस्ने गर्दछन् । यो समयमा जिल्लाका विभिन्न ठाउँहरूबाट मानिसहरू वनभोजका लागि आउने गर्दछन भने असारे संक्रान्तिका दिन मेला लगाएर पुजा गर्ने गरिन्छ ।

भेडा चढाएर पूजा गरिन्छ । यसरी पूजा गरी चढाएको भेडालाई साँख गा.वि.स.का वडा नं. ७ र ८ का बासिन्दाहरू वीच एकआपसमा तानातान गर्ने गरिन्छ र जुन वडाले तान्न सक्यो त्यही वडाले भेडा लिएर सामूहिकरूपमा भोज खाने परम्परा रहँदै आएको छ । यसै दिन दह नजिक ठूलो मेला लाग्ने गर्दछ ।

मेलामा युवायुवती वीचको दोहोरी लगायत स्थानीय संस्कृृतिहरू अवलोकन गर्न र स्थानीय स्तरमा रहेका परिकारहरूको स्वाद लिन सकिन्छ ।

शितल पोखरी
रुकुम जिल्लाको सदमुकाम मुसिकोट खलंगा बजारदेखि चार किलोमिटर पूर्व ठाराढुंगा गाउँमा अवस्थित छ शितलपोखरी । अत्यन्त मनोरम वातावरणमा रहेको यो पोखरी धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । पूर्वमा समथर खेतीयोग्य जमिन र ढाराढुंगा गाउँ, पश्चिममा समशितोष्ण तरकारी बीऊ उत्पादन केन्द्र र ऐतिहासिक मुसिकोट राज्यको राजाधानी मुसिकोट गाउँ, उत्तर तथा दक्षिणमा साल तथा सल्लाको घना जंगलको वीचमा रहेको छ ।

धार्मिक किवंदन्ती अनुसार सत्ययुगमा वराह र सातसाले भुतबीच युद्ध हुँदा बराह भागेर त्यहाँ आएको र एक रात बास बसेर गएपछि त्यहाँ पोखरी बनेको भनाइ छ । मुसिकोटका राजाले मुसिकोट दरबार निर्माण गर्दा यहाँबाट माटो लिएको र त्यसमा पानी जमी पोखरी बनेपछि राजाले त्यसलाई विकसित गरेको बताईन्छ ।

परापूर्वकालमा शितल पोखरी देवीमन्दिरबाट जमिन मुनिबाटै डिग्रे मन्दिर जान आउन सकिने बाटो थियो । डिगं्रे मन्दिर र यहाँको देवी मन्दिरमा प्रयोग भएको पानी बगेर आई यो पोखरी निर्माण भएको भनाई छ ।

वर्षाकाे समयमा फुलेका घासे फुलहरु

छेउमा रहेको ढुंगाखानीको प्रयोगको कारण पहिरोको शिकार भएर अस्तित्वबाटै समाप्त हुने अवस्थामा पुगेको शितलपोखरी केही वर्ष पहिले पौडी खेल्न र मनोरञ्जनको लागि मात्र प्रयोग गरिन्थ्यो । करिब पाँच वर्ष पहिले रुकुमकोट निवासी चन्द्रप्रसाद शर्मा र स्थानीय देवराज शर्माको सहयोगमा रुकुमकोटमा रहेको कमलदहबाट कमल ल्याएर लगाएपछि शितलपोखरीमा कमलहरू पाइन्छन् ।

हाल शितल पोखरी वरिपरि मुसिकोट बुर्तिवाङ सडक निर्माण कार्य गणदलद्वारा निर्मित, शितल बालबाटिका, शितल बगैचा, शितल झरना, महिला समूहले बनाएको शान्ति चौतारी, प्रतिक्षालय, स्थानीय युवाले बनाएको महेन्द्र स्मृति पार्क छन् । फागुन चैत्रदेखि फुलेको कमलको फूलले पोखरीको शोभा बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *