मुसिकोट, रुकुम
दिनेश खड्का

करिब सोह्रौं शताव्दीको अन्त्यसम्ममा मुसिकोटे राजाको साँख गा.वि.स.को वडा नं. ३ र चौखावाङ गा.वि.स. वार्ड नं. १ मा पर्ने कुप्रेकोट दरबार रहेको थियो । कुप्रेकोट दरबारमा मुसी नामकी महिलाले काम गर्थिन् । एक दिन ती मुसी सालको पात टिप्न जाँदा घना जंगलको बीचमा फराकिलो पहाड देखिन् । त्यो ठाउँ कुप्रेकोटभन्दा रमणीय लागेपछि ती मुुसीले सालको पात लिएर दरबार फर्केपछि राजालाई त्यस ठाउँका विषयमा बताइन् ।

उनको कुरा सुनेर राजाले आफ्ना मन्त्रीहरूलाई त्यस ठाउँको स्थलगत अध्ययनको लागि पठाए । मन्त्रीहरुले पनि राजाको लागि उपयुक्त ठाउँ रहेको बताएपछि सबैजनाको सहमतिमा कुप्रेकोटबाट दरबार सारियो । यसरी त्यहाँ सरेपछि राजा खुशी भएर यस ठाउँको नाम राजदरबारमा कामगर्ने मुसीको नामबाट मुसिकोट राखे । पछि यसैको नामबाट मुसीकोट रहन गएको हो ।

वि.सं. १८४३ सम्म ४ हजार घरधुरी भएको मुसिकोट राज्यको संस्थापक सुल्तान बम थिए भने अन्तिम राजा मानबहादुर शाही थिए । वि.सं. १८४३ मा यस राज्यलाई विशाल नेपालमा समावेश गरिएको थियो । एकीकरण भएपछि मुसिकोट दरबार संरक्षणको अभावमा लोप भएको थियो । ऐतिहासिक यस क्षेत्रको संरक्षणको लागि नेपाली सेनाको बाटो काजले सैनिक क्याम्प संचालन गरिरहेको छ ।

राप्ती लोकमार्गबाट करीब दशमिनेटको पैदल दुरीमा रहेको मुसिकोट दरबार रहेको ठाउँबाट रुकुम जिल्ला सदरमुकाम लगायत विभिन्न ठाउँहरुको अवलोकन गर्न सकिन्छ। घना जंगलको बीचमा रहेको पहाडको थुम्को भएको यस क्षेत्रमा प्राचीन मुसीकोट भवगती मन्दिर रहेको छ भने दरबारको भग्नावशेष रहेका छन् । पछिल्लो समयमा यस क्षेत्रको संरक्षणका लागि मुसिकोट दरबार क्षेत्र संरक्षण कोष स्थापना गरिएको छ ।