रुकुमका केहि दृष्यहरु

सदरमुकाम मुसिकाेट
जिल्लाको वाफिकाेट गाउपालीका मा रहेकाे स्यार्पू ताल
रुकुम जिल्लाको चाैरजहारी फाट

राप्ती अञ्चलको उत्तरी भागमा अवस्थित यस जिल्लामा मध्यकालीन बाईसे राज्यहरू मध्ये रुकुमकोट, बाँफिकोट, गोतामकोट र जहारीकोट पर्दथे । रुकुमकोटमा रुक्मेणी नाम गरेकी देवीको मन्दिर छ । उनकै नामबाट रुकुमकोट नामाकरण भएको र त्यसैबाट शव्दको अपभ्रंस भई रुकुम नाम रहन गएको छ भन्ने भनाई छ । ऐतिहासिक अभिलेखको आधारमा जुम्लाका राजा मेदनी बर्माले आफ्ना माइला भाइ पिताम्बरलाई रुकुमको राज्य दिएका थिए ।

केही राज्यहरू स–साना नामका मात्र थिए । ती स–साना रजौटाहरूको अधिनमा थोरै जनसंख्या भएका गाउँहरू हुन्थे । राज्यको आम्दानी पनि थोरै हुन्थ्यो । उनीहरुलाई आफ्नो अस्तित्व जोगाउन कठिन थियो । शक्तिशाली राज्यहरूको इशारामा चल्नु पर्ने बाध्यात्मक स्थिति र वृहत नेपालको सृजना गर्ने दृढ संकल्पका साथ श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियान पूर्वतिर चलाई राखेका थिए ।

उनको मृत्युपछि राजा प्रताप सिंह शाहले बाबुको सपना साकार पार्न कविलासुरमा हमला गरी विजय प्राप्त गरे । उनको अल्पआयु मै निधन भएपछि राजमाता राज्यलक्ष्मीको नायवीकाल (रणबहादुर शाहको राज्य काल) मा बृहत नेपालको सृजना गर्ने महान अभियानलाई जारी राख्दै चौबिसे राज्यहरू लमजुङ्ग, तनहुँ, नुवाकोट, भिर्कोट, कास्की, रिसिङ्ग, धिसिङ्ग माथि विजय प्राप्त गरी राजमाताको देहान्त पछि बहादुर शाहले नायव भई काम गरे । बहादुर शाह (रणबहादुर शाहको राज्यकाल) ले पिता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सफल पार्न मद्दत लिने योजना बनाए ।

पश्चिमबाट बहादुर शाहले पाल्पा बाहेक सबै राज्यहरू विजय गरे । सल्यानले नेपाल सरकारलाई मद्दत गरेको देखेर दाङ, जाजरकोट र रुकुम राज्यले आपसमा मिलेर सल्यानमाथि सामूहिक हमला गर्ने मिलेमतो गरे तर काजी दामोदर पाण्डे, काजी जगजीत पाण्डे, सरदार परबल राना र सुब्बा फौदसिंको नेतृत्वमा नेपाली सैन्यले दाङमाथि विजय गरी सल्यानलाई सुम्पेको देखिन्छ ।

काजी जीप शाह, सरदार अमरसिंह थापा, सरदार पारथ भण्डारी र सुब्बा जोग मल्लले उपल्लो खसीको बाटो गरी जहारीटार पुगी जाजरकोटसँग सिढी सन्धी गरे । यसरी रुकुमकोट लगायत मुसीकोट, बाँफिकोट, जहारीकोट, आठबीसकोट, गोतामकोट जस्ता स–साना राज्यहरु रणबहादुर शाहको राज्यकालमा नेपाल अधिराज्यमा विलय भए ।

यसरी एकीकरण भएको रुकुम जिल्ला वि.सं. २०१८ सालमा १४ अञ्चल ७५ जिल्लामा मध्ये मध्यश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलको उत्तरी भेगमा सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम जिल्ला एक मध्य पहाडि जिल्लाको रुपमा चिनिन्छ ।

यहाँ आफ्नै खाले लोक संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज विद्यमान छन् । विविध जातजाति, भाषाभाषी, संस्कृति, भेषभुषा यस जिल्लाको विशेषता हो । अग्ला अग्ला पर्वतहरूको खोंचमा रुकुमकोट जिल्लाको पुरानो सदरमुकाम नामको सानो उपत्यका पनि छ ।

पोखरी आकारको साना साना खाल्टाखुल्टी र थुम्का टाकुराहरू भएको यस स्थानलाइ ५२ पोखरी र ५३ टाकुरी पनि भनिन्छ । वि.सं. २०३० सालमा रुकुमकोटबाट सदरमुकाम जुम्ली खलंगा मुसीकोट सारिएपछि यस जिल्लाको सदरमुकाम जुम्ली खलंगा मुसीकोटमा छ । आजभोलि यसलाई खलंगा मुसीकोट भन्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *