रुकुमको संक्षिप्त परिचय

दिनेश खड्का

ऐतिहासिक पृष्ठभूमि
राप्ती अञ्चलको उत्तरी भागमा अवस्थित यस जिल्लामा मध्यकालीन बाईसे राज्यहरू मध्ये रुकुमकोट, बाँफिकोट, गोतामकोट र जहारीकोट पर्दथे । रुकुमकोटमा रुक्मेणी नाम गरेकी देवीको मन्दिर छ । उनकै नामबाट रुकुमकोट नामाकरण भएको र त्यसैबाट शव्दको अपभ्रंस भई रुकुम नाम रहन गएको छ भन्ने भनाई छ । ऐतिहासिक अभिलेखको आधारमा जुम्लाका राजा मेदनी बर्माले आफ्ना माइला भाइ पिताम्बरलाई रुकुमको राज्य दिएका थिए । केही राज्यहरू स–साना नामका मात्र थिए । ती स–साना रजौटाहरूको अधिनमा थोरै जनसंख्या भएका गाउँहरू हुन्थे । राज्यको आम्दानी पनि थोरै हुन्थ्यो । उनीहरुलाई आफ्नो अस्तित्व जोगाउन कठिन थियो । शक्तिशाली राज्यहरूको इशारामा चल्नु पर्ने बाध्यात्मक स्थिति र वृहत नेपालको सृजना गर्ने दृढ संकल्पका साथ श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियान पूर्वतिर चलाई राखेका थिए । उनको मृत्युपछि राजा प्रताप सिंह शाहले बाबुको सपना साकार पार्न कविलासुरमा हमला गरी विजय प्राप्त गरे । उनको अल्पआयु मै निधन भएपछि राजमाता राज्यलक्ष्मीको नायवीकाल (रणबहादुर शाहको राज्य काल) मा बृहत नेपालको सृजना गर्ने महान अभियानलाई जारी राख्दै चौबिसे राज्यहरू लमजुङ्ग, तनहुँ, नुवाकोट, भिर्कोट, कास्की, रिसिङ्ग, धिसिङ्ग माथि विजय प्राप्त गरी राजमाताको देहान्त पछि बहादुर शाहले नायव भई काम गरे । बहादुर शाह (रणबहादुर शाहको राज्यकाल) ले पिता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सफल पार्न मद्दत लिने योजना बनाए । पश्चिमबाट बहादुर शाहले पाल्पा बाहेक सबै राज्यहरू विजय गरे । सल्यानले नेपाल सरकारलाई मद्दत गरेको देखेर दाङ, जाजरकोट र रुकुम राज्यले आपसमा मिलेर सल्यानमाथि सामूहिक हमला गर्ने मिलेमतो गरे तर काजी दामोदर पाण्डे, काजी जगजीत पाण्डे, सरदार परबल राना र सुब्बा फौदसिंको नेतृत्वमा नेपाली सैन्यले दाङमाथि विजय गरी सल्यानलाई सुम्पेको देखिन्छ । काजी जीप शाह, सरदार अमरसिंह थापा, सरदार पारथ भण्डारी र सुब्बा जोग मल्लले उपल्लो खसीको बाटो गरी जहारीटार पुगी जाजरकोटसँग सिढी सन्धी गरे । यसरी रुकुमकोट लगायत मुसीकोट, बाँफिकोट, जहारीकोट, आठबीसकोट, गोतामकोट जस्ता स–साना राज्यहरु रणबहादुर शाहको राज्यकालमा नेपाल अधिराज्यमा विलय भए । यसरी एकीकरण भएको रुकुम जिल्ला वि.सं. २०१८ सालमा १४ अञ्चल ७५ जिल्लामा मध्ये मध्यश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलको उत्तरी भेगमा सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम जिल्ला एक मध्य पहाडि जिल्लाको रुपमा चिनिन्छ ।


यहाँ आफ्नै खाले लोक संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज विद्यमान छन् । विविध जातजाति, भाषाभाषी, संस्कृति, भेषभुषा यस जिल्लाको विशेषता हो । अग्ला अग्ला पर्वतहरूको खोंचमा रुकुमकोट जिल्लाको पुरानो सदरमुकाम नामको सानो उपत्यका पनि छ । पोखरी आकारको साना साना खाल्टाखुल्टी र थुम्का टाकुराहरू भएको यस स्थानलाइ ५२ पोखरी र ५३ टाकुरी पनि भनिन्छ । वि.सं. २०३० सालमा रुकुमकोटबाट सदरमुकाम जुम्ली खलंगा मुसीकोट सारिएपछि यस जिल्लाको सदरमुकाम जुम्ली खलंगा मुसीकोटमा छ । आजभोलि यसलाई खलंगा मुसीकोट भन्ने गरिन्छ ।

एक परिचय
बाउन्न पोखरी त्रिपन्न टाकुरीको रूपमा परिचित मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने राप्ती अञ्चलको उत्तरी भागमा पर्ने रुकुम जिल्ला २८७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । ऐतिहासिक, सास्ँकृतिक, भौगोलिक दृष्टिले महत्वपूर्ण पर्यटकीय सम्भावना रहेको पहाडि जिल्ला रुकुम नेपालको राजधानी काठमाण्डौबाट करिब ३५० कि.मि.उत्तरमा पश्चिममा अवस्थित छ । रुकुम जिल्ला समुद्री सतहबाट ७५४ मी.देखि ६००० मि. उचाईसम्म फैलिएको छ । दुई निर्वाचन क्षेत्र, ११ इलाका र ४३ गाउँ विकास समितिमा विभाजन गरिएको रुकुम जिल्ला २८०२९ देखि २९०० उत्तरी आक्षांश ८२०१२ देखि ८२० ५३ पूर्वी देशान्तरसम्म फैलिएको छ । रुकुम जिल्लाको पूर्वमा बाग्लुङ, म्याग्दी, पश्चिममा जाजरकोट, उत्तरमा डोल्पा, दक्षिणमा सल्यान र रोल्पा पर्दछ । जिल्लाको कूल क्षेत्रफल २८७७०० हेक्टरमध्ये बेशी, पहाड, लेक, हिमाल, नदीनाला विभक्त भएर समुद्र सतहदेखि ७५४ मिटर उचाईमा पर्ने चौरजहारीको समथर भूभागबाट ६ हजार मिटरको पुथा हिमालसम्मको भूभागमा फैलिएको छ । सानी भेरी र ठुली भेरी नदीको प्रश्रय स्थल रुकुम जिल्लामा स–साना पहाड र उपत्यका एवं लोभ लाग्दा पाटनहरू, घना जङ्गल भएकाले थुप्रै दुर्लभ वन्यजन्तु, बहुमूल्य जडीबुटि र अपार प्राकृतिक सम्पदाले भरिपूर्ण मानिन्छ । स–साना उपत्यका, केही तराई, पहाड र केही हिमाली जलवायु पाईने रुकुममा ताल–तलैया, नदीनाला, झरना, मगर संस्कृति, भिन्न मानव सभ्यता, मठ–मन्दिर, यार्सागुम्वाको खोजी यात्रा तथा जैविक विविधताले सम्पन्न रुकुम जिल्लामा नेपालको एक मात्र बैधानिक रूपमा शिकार गर्नपाईने ढोरपाटन शिकार आरक्ष एवम् मध्य युगका राज्यहरू मुसिकोट, गोतामकोट, रुकुमकोट, बाफिकोट र जहारीकोट गरी पाँचवटा शक्तिशाली र समृद्ध राज्यका रूपमा रहेका राज्यका अवशेषहरू विद्यमान छन् ।

द्वन्दको उद्गमथलो रुकुम युद्ध पर्यटनको लागि समेत उत्तिकै महत्वपूर्ण मानिन्छ । तत्कालिन समयमा भएका आक्रमण, दोहरो भिडन्त, युद्धको समयमा भएका सम्झौता, युद्ध रणनीति निर्माणका लागि बसेका बैठकस्थलहरु लगायतका विषयमा स्थलगत खोजी गर्नेका लागि उपयुक्त गन्तब्य हो रुकुम जिल्ला ।


डिग्रे मन्दिर, सिस्ने हिमाल, पुथा हिमाल, स्यार्पु दह, कमल दह,गुप्त दह, साख दह, सानीभेरी, ठुलीभेरी नदी, ढोरपाटन, देउराली गुफा, सिद्ध गुफा, सात तले गुफा, सिमैछहरी झरना, मगर जीवन शैली, पुराना कला र संस्कृति, पृथक जीवन शैली, युद्धका स्मरणीय घटनाको अध्ययन, विभिन्न प्रकारका हावापानी हरित सडक, खोलाहरू तथा आकर्षक रूपमा रहेका तातो पानीका मुहानहरू जिल्लाका नौला र नयाँ आकर्षक पर्यटकीय सम्पदाहरू हुन् ।

रुकुमकाे सदरमुकाम मुसिकाेट

कसरी पुग्ने रुकुम
राजधानी काठमाण्डौंको त्रिभुवन विमान स्थलबाट हरेक शनिबार, सोमबार र विहिबार नेपाल वायुसेवा निगम तथा नीजि विमानहरूबाट रुकुमको चौरजहारी तथा सल्ले विमानस्थलमा र राजधानी काठमाण्डौमा रहेको गोंगबु बसपार्कबाट रुकुम जान दैनिक विहान १० बजेदेखि ११ः३० बजेसम्म विभिन्न गाडी तथा जीपमा सिधै अथवा पश्चिमका लागि संचालनमा आएका अन्य सवारी साधनमा दाङ हँुदै रुकुम पुग्न सकिन्छ ।

मुसिकोट
करिब सोह्रौं शताव्दीको अन्त्यसम्ममा मुसिकोटे राजाको साँख गा.वि.स.को वडा नं. ३ र चौखावाङ गा.वि.स. वार्ड नं. १ मा पर्ने कुप्रेकोट दरबार रहेको थियो । कुप्रेकोट दरबारमा मुसी नामकी महिलाले काम गर्थिन् । एक दिन ती मुसी सालको पात टिप्न जाँदा घना जंगलको बीचमा फराकिलो पहाड देखिन् । त्यो ठाउँ कुप्रेकोटभन्दा रमणीय लागेपछि ती मुुसीले सालको पात लिएर दरबार फर्केपछि राजालाई त्यस ठाउँका विषयमा बताइन् । उनको कुरा सुनेर राजाले आफ्ना मन्त्रीहरूलाई त्यस ठाउँको स्थलगत अध्ययनको लागि पठाए । मन्त्रीहरुले पनि राजाको लागि उपयुक्त ठाउँ रहेको बताएपछि सबैजनाको सहमतिमा कुप्रेकोटबाट दरबार सारियो । यसरी त्यहाँ सरेपछि राजा खुशी भएर यस ठाउँको नाम राजदरबारमा कामगर्ने मुसीको नामबाट मुसिकोट राखे । पछि यसैको नामबाट मुसीकोट रहन गएको हो ।

वि.सं. १८४३ सम्म ४ हजार घरधुरी भएको मुसिकोट राज्यको संस्थापक सुल्तान बम थिए भने अन्तिम राजा मानबहादुर शाही थिए । वि.सं. १८४३ मा यस राज्यलाई विशाल नेपालमा समावेश गरिएको थियो । एकीकरण भएपछि मुसिकोट दरबार संरक्षणको अभावमा लोप भएको थियो । ऐतिहासिक यस क्षेत्रको संरक्षणको लागि नेपाली सेनाको बाटो काजले सैनिक क्याम्प संचालन गरिरहेको छ । राप्ती लोकमार्गबाट करीब दशमिनेटको पैदल दुरीमा रहेको मुसिकोट दरबार रहेको ठाउँबाट रुकुम जिल्ला सदरमुकाम लगायत विभिन्न ठाउँहरुको अवलोकन गर्न सकिन्छ। घना जंगलको बीचमा रहेको पहाडको थुम्को भएको यस क्षेत्रमा प्राचीन मुसीकोट भवगती मन्दिर रहेको छ भने दरबारको भग्नावशेष रहेका छन् । पछिल्लो समयमा यस क्षेत्रको संरक्षणका लागि मुसिकोट दरबार क्षेत्र संरक्षण कोष स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *