वास्तु ज्ञानकाे सामान्य परिचय

वास्तुशास्त्र हाम्रो प्राचीनतम विधा हरुमध्ये एक हो । “वास्तु”को अर्थ हुन्छ प्रकृति र हाम्रो वरपरको वातावारण तथा उर्जालाई समन्वय तथा सन्तुलित तरिकाले मिलाउँदै प्राकृतिक शक्तिहरुलाई व्यवस्थापन गर्न सक्ने विज्ञान नै वास्तु विज्ञान हो ।

कुनै पनि घर, कार्यालय, कलकारखाना, वासस्थान, व्यापारिक प्रतिष्ठान या अन्य भौतिक वस्तु एवं पर्यावरणमा पर्ने पञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशबीचको ऊर्जा तथा शक्तिहरुको अध्ययन वास्तुशास्त्रमा गरिन्छ यिनै पञ्चत्त्वको उचित व्यवस्थापन गर्न नसक्नाले हानी तथा नोक्सानी हुने वास्तुशास्त्रीय मत छ ।

प्रसिद्ध ६४ कलामध्ये एक वास्तुविद्याको वर्णन अथर्व वेदको तृतीयकाण्ड र नवमकाण्डमा गृहनिर्माणसूक्त रहेको छ– जसमा गृहनिर्माण प्रसङ्ग, वास्तुशास्त्रको निर्देशन, प्रयोग, भवन, घर, सदन, स्तम्भ आदिको चर्चा पाईन्छ ।

शुक्ल यजुर्वेदअन्तर्गतको कात्यायन वाजसनेयी शाखामा वास्तुको वर्णन छ । शुक्लयजुर्वेदमा वास्तुदेवताको रुपमा शिवजीको स्तुति गरिएको पाईन्छ “नमो वास्तव्याय च वास्तुपाय च” यसको अतिरिक्त धेरै ठाउँमा वास्तुपुरुषको चर्चा गरिएको छ ।

यसैगरी शुक्ल यजुर्वेदकै पारस्कर गृह्यसूत्रमा शालाकर्म (वास्तुशान्ति)को विषयमा वर्णन गरिएको पाईन्छ । पुराण तथा वास्तुशास्त्रका ग्रन्थ आदिमा वास्तुशास्त्रका आचार्या तथा प्रवर्तक हरूको लामो नामावली रहेको पाईन्छ ।

मत्स्यपुराण अनुसार १८, मानसार अनुसार ३२, अग्निपुराण अनुसार २५, बराहमिहिरको बृहत्संहिताको प्रसङ्गानुसार गर्ग, मनु, वशिष्ट, पराशर, विश्वकर्मा, नग्नजिद्, मयआदि आचार्याको वर्णन छ भने वास्तुकौस्तुभग्रन्थमा शौनक, राम, रावण, परशुराम, गालव, गौतम, शोभित, वैद्यखचार्य, मयपुत्र, कार्तिकेय, च्यवन आदि आचार्यको नाम उल्लेखित भएको पाईन्छ ।

विश्वकर्माप्रकाशमा गर्ग, पराशर, वृहद्रथादयआदि वातुशास्त्रको प्रवर्तकाचार्यको रुपमा रहेकाछन् । कालान्तरमा यीनै आचार्यहरूको मत मतान्तरहरूलाई आधार बनाएर वास्तुशास्त्रका विभिन्न ग्रन्थ देखिए, यसरी वास्तुशास्त्रको विकासको लागि हजारौं वर्ष सम्म हाम्रा आचार्य प्रयत्नशील रहेको कुरा स्पष्ट हुन्छ ।

पौराणिक कथा अनुसार शिवजीको निधारबाट चुहिएको पसिनाबाट विकराल रूप भएको पुरुष उत्पन्न भयो, शिवको वरदानसँगै विशाल शरीर पाएको त्यो प्राणीले स्वर्ग, मर्त्य, पाताल तीनै लोकलाई अवरुद्ध पार्दै पृथ्वीमा मुख तल हुनेगरी घोप्टो परेर झरेको र उसको शरीरका विभिन्न भागमा देवतादि थिच्न आइपुगेको, यसरी विभिन्न देवता बास बसेको हुनाले उसको नाम वास्तुपुरुष रह्यो ।

वास्तुपुरुषलाई थिचेर बस्ने देवताको प्रकृतिअनुसार कुन स्थानमा के निर्माण गर्न हुने वा कुन स्थानमा के निर्माण गर्न नहुने भन्ने आधार बनाइयो । यसैगरी, दिशा उपदिशाका स्वामी र तिनको प्रकृतिका आधारमा पनि वास्तुलाई विस्तृत बनाइयो र यीनै दिशा र यिनका स्वामीको प्रकृतिअनुसार निर्माणकार्य गर्न थालियो ।

पौराणिक वा ज्योतिषीय ग्रन्थअनुसार आठ दिशाका अधिपतिदेवता क्रमश पूर्व–इन्द्र, आग्नेय–अग्नि, दक्षिण–यम, नैऋत्य–निऋति, पश्चिम–वरुण, वायव्य–वायु, उत्तर–कुवेर र इशान–इश मानिन्छ ।

विक्रमको छैटौं शताब्दीका बहुचर्चित वराहमिहिरले आफ्नो र ज्योतिशास्त्रको प्रामाणिक ग्रन्थ वृहत्संहिता ग्रन्थमा घर निर्माणका सन्दर्भमा आउने प्रक्रियालाई पहिलोपटक विस्तृत रूपमा उल्लेख गरेका छन् ।

घर, दरबार, मन्दिरआदि निर्माणको साइत र तिनका लागि आवश्यक पर्ने निर्माणसामग्री अन्य भौतिक संरचना लगायतका विषय, निर्माणका नियम, विधि र प्रक्रियाहरुको व्याख्या गरिएको छ ।

वर्तमान समयमा स्थापत्य वेद भनेको आजको वास्तुशास्त्र हो । पूर्वीय शास्त्र अनुसार अथर्ववेदको शाखा स्थापत्यमा वास्तु शिल्पशास्त्रको वर्णन गरिएको पाईन्छ । वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छः देवशिल्प र मानवशिल्प ।

देवशिल्पमा धार्मिक संरचना, मठमन्दिर, यज्ञशाला आदि निर्माणको विधि वर्णन गरिएको छ भने मानवशिल्पमा आवासीय भवन, व्यापारिक भवन, कलकारखाना, उद्योग भवन, सामाजिक भवन र मानवीय जीवन आदिका लागि आवस्यक पर्ने अन्य वस्तु तथा भौतिक संरचनाहरू निर्माण गर्दा ख्याल गर्नुपर्ने स्थान, आकार, दिशा, कोण आदिको विस्तृत चर्चा र प्रभाव वारे स्थापत्यमा विस्तृत वर्णन गरिएको पाईन्छ ।

आज स्थापत्य शास्त्र कला र विज्ञानको रुपमा विकसित भइसकेको छ । इञ्जिनीयरिंग र आर्कीटेक्चर लगायतका अन्य भौतिक संरचनाको क्षेत्रमा वास्तुशास्त्र सजिलै विकास भइरहेको छ अत: वास्तुशास्त्रलाई विज्ञानसँग सजिलै जोडेर हेर्ने सकिन्छ ।

वास्तुशास्त्रमा उल्लेख भएझैं मानिसका लागि ध्रुवीय व्यवस्थापन महत्त्वपूर्ण हुन्छ, आर्किटेक्ट र इञ्जिनीयरहरू कुन वस्तु कुन ठाउँमा राख्दा कस्तो राम्रो वा नराम्रो प्रभाव पर्छ भन्नेबारे अहिले अनुसन्धान गरिरहेको पाईन्छ जुन वास्तुशास्त्रका धारणा संग मेल खान जान्छ ।

वास्तुशास्त्रले भौकित संरचना कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ । वास्तुशास्त्रको निर्देशन पालन गरी बनाइएको घर एवं अन्य संरचना भित्र बेडरूम, किचन, लिभिङ्गरूम, भण्डारकोठा, अध्यनकक्ष, पूजाकोठा, सभागृह आदि वास्तुशास्त्र मिलेको घर या व्यापारिक प्रतिष्ठामा बस्दा उत्साह, उमङ्ग, खुशी र उल्लासको अनुभूति हुनुका साथै सुख, शान्ति, ऐश्वर्य, सद्बुद्धि र समृद्धि प्राप्त हुन्छ ।

हाम्रो समाजमा आफ्नो मेहनत एवं पौरखबाट सुन्दर घर निर्माण गर्नु महत्त्वपूर्ण उपलब्धि मानिन्छ तर मेहनेत र दुखले निर्माण हुन लागेका वा भैसकेका मठमन्दिर, घर एवं व्यापारिक प्रतिष्ठान वास्तु अनुकुल हुन सकेन भने पीडादायी हुन सक्छ ।

मेहनत एवं पौरखबाट गरेको कार्य नै गलत भए पश्चातापबाहेक अरू केही गर्न सकिदैन, यदि कुनै भौतिक संरचनामा वास्तुशास्त्रको प्रतिकुलताले व्याप्त छ भने त्यस्तो संरचनाबाट हामीलाई विपरित फल र प्रतिकुल स्वस्थ, कष्ट, चिन्ता, दुःख, हैरानी, मनमुटाव, ग्लानी, हानी, नोक्सानी एवं मानसिक द्धन्दबाट जीवनयापन गर्न बाध्य हुनुपर्ने हुन्छ, त्यसैले वास्तुशास्त्रको निर्देशन अनुरूप घर तथा अन्य भौतिक संरचना बनाउनु नै श्रेयस्कर हुन्छ ।

गृह निर्माणका लागि वस्तु शास्त्रको प्रयोग भूमी चयन हुँदै सम्पूर्ण घरको संरचना, विभिन्न रुमको रङ्ग, आकार, एवं आन्तरिक सजावटसम्म वास्तुअनुसार मिलाएर वस्तु स्थापना गर्नाले घर-परिवारमा सबै प्रकारको सुख प्राप्त हुन सक्दछ ।

आजको गृहविज्ञानले पनि घर व्यक्ति अनुकूलको हुनु पर्छ भन्ने कुरामा जोड दिन्छ । वास्तुशास्त्रअनुसार घर निर्माण गर्दा खुला ठाउँ, किचेन, बेडरूम, बैठक कोठा, शौचालय, शयनकक्ष, बालबालिकाको शयनकक्ष, अध्ययनकक्ष, भर्याङ्ग, पानी ट्याङ्की, लगायत सम्पूर्ण संरचनाका स्थूल र सूक्ष्म पक्षमा ध्यान दिन आवश्यक छ । अस्तु,


–वास्तुविद् पं. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *