सगरमाथा

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर (२९,०२८ फिट) छ । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो । 

सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् । यसलाई कतै कतै देवढुङ्गा  पनि भन्ने गरेको पाइन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।

नामकरण र आरोहणको पृष्ठभूमि

सन् १८०९ मा माथिल्लो गंगा अर्थात कुमाउक्षेत्रको खोजीमा निस्केका डब्लूएस वेबले नेपालमा धौलागिरी हिमाल ८ हजार मिटरभन्दा माथिको उचाइमा रहेको रहस्योद्घाटन गरेका थिए अर्थात हिमालयका अग्ला पर्वतहरूमध्ये सबैभन्दा पहिले उचाई नापिएको हिमाल धौलागिरी हिमाल (८,१७२ मिटर) हो ।

यस हिमालको उचाई नापेपछि यसैलाई संसारको अग्लो हिमाल भनिएको थियो । पछि सन् १८४८ मा कञ्चनजङ्घाको उचाई नापियो र यसको उचाई ८ हजार ५ सय ८६ मिटर हो भन्ने निक्र्योल भएपछि कञ्चनजङ्घालाई संसारको अग्लो चुचुरो भनियो । त्यही वर्ष अन्य हिमालहरूको उचाई नापियो र रेकर्ड संकलन गरेर सर्वे अफ इन्डियाको कार्यालयमा पठाइयो । त्यसको करिब तीन वर्षपछि सन् १८५२ मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो ।

 सगरमाथालाई रोमन संकेतचिहृन ‘पिक १५’ नाम प्रदान गरियो । सन् १८५२ तिर पहाडहरूको उचाइ ‘कियोडा लाईट’ यन्त्रको प्रयोगबाट मापन गरिरहेका भारतको सर्वे विभागको एउटा टोलीका सदस्यहरूमध्ये एक बङ्गाली नागरिक राधानाथ सिकन्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरे । राधानाथका सहयोगिका रूपमा हेनेसी नामका उनका चेला थिए । उक्त विभागका सर्वे कर्मचारीहरू तेजवीर बुढाथोकी र राधानाथ सिक्दरले पत्ता लगाएको उक्त शिखरको उचाइ ८ हजार ८ सय ४० मिटर थियो । राधानाथ प्रतिभाशाली गणितज्ञ थिए ।

सर्वे अफ इन्डियामा जागीरे हुँदा उनको उमेर केबल १९ वर्षको थियो । बङ्गालमा आज पनि उनलाई सम्झनु पर्ने एउटा कारण छ किन भनें उनले ‘मासिक पत्र’ नामको हुलाक-पत्रिका निकाल्थे, जुन विशेषत महिलाहरूका लागि थियो । यस हुलाक-पत्रिकामा बङ्गाली भाषा प्रयोग हुन्थ्यो र महिलाहरूको सामाजिक चेतनाको स्तर उठाउने खालका सामग्रीहरू हुन्थे ।

सर्वोच्च शिखरको उचाइ नाप्ने विधि बेलायतका इन्जिनियर जर्ज एभरेष्टले विकास गरेका थिए । विश्वको सर्वोच्च शिखर खोज्ने कार्य सुरू भएपछि बिहार (भारत) को समतल मैदानको अध्ययन गरिरहेका भारतका सर्वेयर-जनरल सर एन्ड्रयू वाघले आफ्ना अग्रज जर्ज एभरेष्टका स्मरणमा पन्ध्रौँ चुचुरो भन्ने नामबाट फेरेर सन् १८६५ (वि.सं. १९२१)मा ‘माउण्ट एभरेष्ट’ नाम राखिदिए ।

एन्ड्रयू वाघको उक्त टोलीले नेपालको एक हिमशिखर संसारको सर्वोच्च भागका रूपमा रहेको दाबी पनि गरे । भारतको तत्कालीन कम्पनी सरकारद्वारा उक्त नामकरण गरिँदा जर्ज ७५ वर्षका थिए । जर्ज एभरेष्ट सन् १८२५ देखि सन् १८४३ सम्म भारतका सर्वेयर जनरल थिए ।

विसं २०१३ सालमा इतिहासशिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी ‘सगरमाथा’ नाम राखिदिएका हुन । उनले यस पर्वतको नेपाली नाम ‘शारदा’ नामक पत्रिकामार्फत गरेका थिए ।

प्रथम आरोहण

सन् १९५२ को ग्रीष्म ऋतुमा स्वीस नागरिकहरूलाई सगरमाथा आरोहण गर्ने स्वीकृति दिएपछि सन् १९५३ सम्ममा बेलायती नागरिकहरूलाई सफल आरोहणको लागि अन्तिम मौका दिइएको थियो ।

सन् १९५४ मा फ्रेन्च नागरिकहरूलाई र सन् १९५५ मा स्वीस नागरिकहरूलाई आरोहण अनुमति दिइएको थियो । बेलायती हिमालयन समितिले उच्च पहाड एवम् हिमाल चढाइमा कीर्तिमान प्राप्त गरेका एक सेना अधिकृत जोहन हन्टलाई समूह नेताको (टिम लिडर) रूपमा नियुक्त गरेको थियो । उनले नेतृत्व गरेको समूहले सन् १९३६ मा सगरमाथाको साहसिक यात्रामा सफलता हासिल गर्न सकेन । हन्टको समूह ठूलो थियो । सिपटनका साथमा सन् १९५२ मा चढेका मानिसहरू पनि त्यहा समावेश भएका थिए ।

उक्त समूहमा जर्ज व्याण्ड, टम वोर्र्डिन, चार्लस्, अल्फ ग्रेगरी, एडमण्ड हिलारी, जर्ज लोवे, माइकल वार्ड, टिम डाक्टर, मिखाइल वेष्टमाकोट र चार्लस वाइली समावेश भएका थिए । त्यसैबेला जेम्स मोरिसले पत्रिकाको लागि समाचार लेख्ने र टम स्टोवर्टले त्यस कार्यको फोटो खिच्ने कार्य गरेका थिए । तेन्जिङ्लाई शेर्पाहरूको सरदार भै आरोहण समूहमा समावेश हुन निमन्त्रणा गरिएको थियो ।

त्यस साहसिक यात्राका क्रममा आधार शिविरदेखि ल्होत्सेको मोहडासम्म पंक्तिबद्ध रूपमा शिविर स्थापना गरिएका थिए । उक्त यात्रामा दुई प्रकारका अक्सिजन उपकरणहरू प्रयोगमा ल्याइएका थिए । मे २६ मा विहान ७ बजे वोर्डेलो र इभान्स दुवैजना हन्ट एवम् नामग्याल शेर्पाको साथमा खोंचबाट शिविरतर्फ प्रस्थान गरे । वोर्डेलो र इभान्सले सुरूमा राम्रो प्रगति गरे पनि हिउँ र अक्सिजन सेटको कारणले आरोहणमा ढिलाई भयो ।

अन्त्यमा उनीहरूको प्रयास सफल भएन र तल झरे । २८ मे को दिन हिलारी र तेन्जिङ् लोवे एवम् आङनिमाको सहयोगमा नवौं शिविरमा पुगे । मे १९ को विहान ६.३० मा हिलारी र तेन्जिङ् माथि चढन सुरू गरे । दक्षिणी चुचुरोमा पुग्नुभन्दा अगाडि हिमपातका कारणले यात्रामा अवरोध आयो । यो अवस्थामा हिलारी त्रसित भए । एकातिर माथिबाट हिउाको पहिरो आइ ज्यान लिने स्थिति थियो, अर्कोतिर सगरमाथा शिखरमा पुग्ने एकमात्र मौका गुमाउन नहुने अवस्था थियो ।

उनीहरू विहान ९ बजे भिराले चढेर दक्षिणी टाकुरामा पुगिसकेका थिए । अन्तिम पर्वतधार चढन कठिन देखिन्थ्यो तर पनि उनीहरू धैर्यका साथ अगाडि बढे । यो नै अहिलेका प्रसिद्ध हिलारीको जटिल खुडकिलो थियो । त्यसपछि तेन्जिङ् र हिलारी सजिलैसाग शिखरमा पुगे । केहीबेरको आराम पछि बधाइको आदान प्रदान भयो । तेन्जिङ्बाट हिलारीले शिखरको फोटो लिए र मालोरी एवम् इरभाइनको सङ्केतका लागि उत्तरतिर चिहाए ।

पर्वतारोहणको ऐतिहासिक तालिका

  • सन् १८५२ – भारतीय अनुसन्धान : भारतीय नापी अनुसन्धानबाट सगरमाथालाई विश्वको सर्वोच्च शिखरको रूपमा पहिचान गरी महासर्भेएर सर आन्ड्रयू वाहले पन्ध्रौ चुली नामाकरण गरे ।
  • सन् १९२१ – संयुक्त अधिराज्य : हवार्ड वरी र जि.एल्.मालोरी २२,९०० फिट उचाइको उत्तरी पहाडी खोंचमा आरोहण गरे ।
  • सन् १९२२ – संयुक्त अधिराज्य: पहिलो सगरमाथा आरोहणको जनरल् चार्लसको नेतृत्वमा जि.एल्.मालोरी, ई.एफ्.नर्टन र हवार्ड समरभेल एवम् एकजना शेर्पा अक्सीजन विना २६००० फिटको – ७९३९ मिटर) आरोहण गरे । गर्ज फिन्च र जे.जि.व्रस अक्सीजन लिएर २७,३०० फिट -८३०० मिटरको उचाइमा पुगे ।
  • सन् १९२४ – संयुक्त अधिराज्य दोस्रो साहसिक यात्रामा जनरल चार्लसको नेतृत्वमा जनरल् चार्लस र ई.एफ्.नर्टन २८,१२६ फिट -७,५८० मिटर उचाइमा पुगे । मालोरी र आन्ड्रयू अरभिन २७,६०० फिटको उचाइमा वेपत्ता भए ।
  • सन् १९३३ – हृयू रटल्जको नेतृत्वमा गएको तेस्रो आरोहणमा २८१२६ फिट -७,५८० मिटर उचाई चढने काम भयो ।
  • सन् १९३५ – संयुक्त अधिराज्य: एरिक शिपटनले अनुसन्धान दलको नेतृत्व गरे ।
  • सन् १९३६ – संयुक्त अधिराज्य: हग रटल्जको नेतृत्वमा गएको चौथो आरोहण दल खराब मौसमका कारण फर्कियो ।
  • सन् १९३८ – संयुक्त अधिराज्य: एच. डब्लु. टिलमनको नेतृत्वमा भएको पाचौं आरोहण कार्य खराब मौसमको कारणले स्थगित गरियो ।
  • सन् १९५० – संयुक्त अधिराज्य: एच. डब्लु. टिलमन र चार्लस हुस्टनले खुम्बु हिमनदीको निरीक्षण गरे ।
  • सन् १९५१ – संयुक्त अधिराज्य: ई. शिपटनले शिखरमा जाने दक्षिण बाटोको निरीक्षण गरे ।
  • सन् १९५२ – स्वीजरल्याण्ड: ई. वाईस डुनन्टको नेतृत्वको प्रथम आरोहण कार्य वषरा अघिको मौषममा सम्पन्न भयो । रेमण्ड लम्बर्ट र तेन्जीङ्ग नोर्गे २८,२०० फिट -८,६०० मिटर उचाईमा पुगे ।
  • सन् १९५३ – संयुक्त अधिराज्य: कर्नेल जोहन हन्टको नेतृत्वमा आरोहण दलका एडमण्ड हिलारी र तेन्जीङ्ग नोर्गे मे २९ को दिन सगरमाथाको शिरमा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *