समय व्यवस्थापन गर्ने तरीका

दिनमा जम्मा २४ घण्टा मात्रै हुन्छ । त्यसमा पनि एक चौथाइ जति समय हामी सुत्नमा खर्च गर्छौं । बाँकी भएको समयको केही हिस्सा खानपिन, पढाइ, यताउता हिड्नेलगायत काममा खर्च हुन्छ । दिनभरिमा हामीले गर्नुपर्ने काम धेरै हुन्छन्, तर समय भने उति नै हुन्छ, दिनरात गरेर २४ घण्टा ।

नियमित कार्य याेजना वनाउने, महत्वका आधारमा कामहरुकाे वर्गीकरण गर्ने, परिवारीक छलफल, मनाेरञ्जन आदी

कहिलेकाँही त काम पनि यति धेरै हुन्छ कि हामीलाई खाने, बस्ने र आराम गर्ने समेत फुर्सद हुँदैन । तर, थोरै समयकै कारण आफूले गर्नैपर्ने काम गर्न नसकेर पछाडि पर्नु भने हुँदैन ।

संसारमा सफल भएका व्यक्तिहरूले सङ्घर्षका दिनमा आफ्नो समय कसरी व्यवस्थापन गरेका थिए र सफलता हात पारेपछि पनि समयकोे व्यवस्थापन कसरी गरिरहेका छन् भन्ने थाहा पाउँदा समय व्यवस्थापन गर्न सजिलो हुन्छ । यसका लागि डार्टमाउथ कलेजको टक लिडरशिप सेण्टरका प्राध्यापक तथा फ्याकल्टी निर्देशक सिड्नी फिङ्केल्ष्टाइनले लेखेको ‘सुपरबोसेज : हाउ एक्सेप्शनल लिडर्स माष्टर द फ्लो अफ ट्यालेण्ट’ भन्ने पुस्तकबाट पनि धेरै कुरा थाहा पाउन सकिन्छ ।

फिङ्केल्ष्टाइनले समय व्यवस्थापनका विषयमा फेशन डिजाइनर राल्फ लरेन र जे क्रियुजका पूर्व सीईओ तथा विद्यमान अध्यक्ष माइकी ड्रेक्सलरजस्ता कार्यकारीहरूलाई दशकौंसम्म कोचिङ दिनुका साथै उनीहरूको समय व्यवस्थापनको तरीकालाई नजीकैबाट नियालेका समेत थिए ।

उनीहरूको सफलताले हजारौंलाई सफल जीवनयापन गर्न मद्दत मिल्न सक्छ । फिङ्केल्ष्टाइनले समय व्यवस्थापनका विभिन्न तरीका सुझाएका छन् । त्यसमध्ये केही तरीका निम्नलिखित छन् :


१. दिनमा एकपटकमात्रै मेल र ईमेल चेक गर्ने । ईमेलको उत्तर दिनुपर्नेछ भने पनि तत्कालै उत्तर दिइहाल्नुपर्दछ । पछि रिप्लाई गरौंला भनेर सेभ गर्नुहुँदैन ।  

२. समय कम भएको अवस्थामा मोबाइल अफ गरेर पूरै ‘डिस्कनेक्टेड’ भएर बस्नुपर्दछ ।


३. मिटिङ छ भने पनि लगालग एकपछि अर्को मिटिङ राख्नुपर्दछ । तर, अर्को मिटिङमा राख्नुपर्ने केही कुरा छुटेको छ भने त्यसबारे सोच्न र दिमागमा फुरेको कुरा टिप्न केही समय छुट्ट्याउनुपर्दछ ।


४.कहिलेकाँही लगालग धेरै मिटिङमा सहभागी हुनुपर्दछ । धेरै जनालाई भ्याई नभ्याई गरी यसरी मिटिङ बस्नु निकै झर्को लाग्दो र झ्याउ पनि लाग्न सक्छ । तर, जानैपर्छ के गर्नु भनेर मात्रै मिटिङ जानु चाहिँ राम्रो होइन । उपलब्धिमूलक हुन्छ भने मिटिङमा जाँदा हुन्छ । नत्र नगए पनि हुन्छ ।


५. आफ्नो समय कसरी केके काममा खर्च भइरहेको छ, हामीमध्ये कतिपयलाई पत्तै हुँदैन । त्यसैले बेलाबेलामा समय कसरी बितिरहेको छ भन्ने समीक्षा गर्नुपर्दछ । नचाहिँदा काममा धेरै समय बितिरहेको छ कि भनेर पत्ता लगाउने यो सबैभन्दा उत्तम तरीका हो ।

६. जति बेला पनि काममात्रै गरिरहँदा यसले हाम्रो उत्पादन क्षमतामा मात्रै नभएर र शरीरमा पनि नकारात्मक प्रभाव पारिरहको हुन्छ । त्यसैले कहिलेकाँही कामबाट थोरै फुर्सद निकाल्नुपर्दछ । यसले व्यक्तिलाई प्रभावकारी र थप उत्पादनमूलक बन्न ऊर्जा दिन्छ ।


७. हामीमध्ये कतिपयको बानी हुन्छ समय कम भए पनि यो काम पनि आफैं गर्छु त्यो काम पनि आफैं गर्छु भन्ने । तर, यस्तो गर्दा भनेको समयमा सबै काम पूरा गर्न सकिँदैन । त्यसैले आफुले भ्याउने कामका लागि कठोर तर वास्तविक समयसीमा तोक्नुहोस् । हरेक काम हामीले सोचेको समयमै पूरा गर्न सक्दैनौं । कहिलेकाँही काम पूरा गर्न सोचेकोभन्दा अलि बढी समय लाग्दछ । त्यसैले समयसीमा तोक्दा यी सबै कुरालाई पनि ध्यान दिनुपर्दछ ।


८. निद्रा हाम्रो लागि निकै महत्वपूर्ण हुन्छ । दिनभरि थाकेको शरीर र दिमागलाई आराम दिन पनि राति मस्तसँग निदाउनुहोस् । निद्रा बिगारेर अबेरसम्म काम गर्ने वा अन्य गतिविधि गर्नु पनि राम्रो हुँदैन । यसले समय व्यवस्थापनमा मात्रै नभएर उत्पादनशीलतामा पनि हानि पुर्‍याउँछ ।


९. कहिलेकाँही बस/प्लेनमा एक्लै यात्रा गर्दाको समयमा हड्बडी नगरी गर्न मिल्ने काम गर्न सकिन्छ । यस्तो बेलामा हाम्रो तनाव कम हुन्छ र बढी चिन्तनशील हुन सकिन्छ ।

१०.आफ्नो ई–मेलमा थु्रपिएका अनावश्यक इमेलमात्रै होइन डेस्क र दराजमा जम्मा भएका अनावश्यक कागजपत्रसमेत हटाउने गर्नुहोस् । यस्तो काम बेलाबेलामा गरिरहनुपर्दछ ।  

११.कहिलेकाँही धेरैओटा काम गर्दा दिमागले राम्ररी सोच्न सक्दैन । यस्तो स्थितिमा जुन काम गर्दा आफूलाई सजिलो हुन्छ त्यही काम गर्नुपर्दछ । एउटै काममा अल्झिएर बसिरहँदा त्यो काममा त प्रगति हुँदैन हुँदैन, पछि अरू काम गर्न पनि पर्याप्त समय मिल्दैन । 


१२. हरेक दिन आफूले गर्ने कामलार्ई त्यस्तो विन्दुमा पुगेर छोड्नुहोस् जहाँबाट भोलिपल्ट शुरू गर्न सजिलो होस् । 

१३‍. दैनिक कार्य याेजना वनाएर कार्यन्वयन गर्दा समयकाे वचत गर्न सकिन्छ ।

१४‍. दैनिक र नियमित गर्नु पर्ने कामहरु जस्तै ; पावारिक छलफल, घरायसी कामहरु, विभिन्न बैठकहरु आदीकाे पुर्व तयारी गर्न सकिन्छ ।

१५‍ कार्यहरुको वर्गिकरण गरेर महत्वका आधारमा काम गर्दा समय ब्यबस्थापन र अति महत्वपूर्ण कामहरु छुट्न पाउदैन र उत्कृष्ट कार्य गर्न सिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *