साततले गुफा

साततले गुफा रुकुम जिल्लाको सदरमुकाम मुसिकोट खलंगादेखि उत्तर पश्चिममा करिब १४ कोष टाढा रहेको घेत्मा गा.वि.स. अन्तर्गत वडा न.ं १ मा रहेको छ । घना जङ्गलको वीचमा रहेको यस गुफामा विभिन्न सातवटा खण्डमा रहेकाले यसगुफाको नाम साततले गुफा रहेको स्थानीयहरूको भनाई रहेको छ ।

गुफाका भित्रि भाग

ठुली भेरी नदीको किनारबाट करिव २५ मिनेटको उकालोमा रहेको साततले गुफा घेत्मा गा.वि.स.अन्तर्गत पूर्वमा काप्राचौर, पश्चिममा च्याप्चे, उत्तरमा नहरखोला, दक्षिणमा गाडखोलाको वीचमा पर्दछ । चारखण्डसम्म सजिलै आवत जावत गर्न सकिने यस गुफामा बाँकी ३ खण्ड साँघुरो भएकाले खोजी गर्न सकिएको छैन ।

नेपाल एकीकरणको समयमा आफ्नो सुरक्षकालागि विभिन्न ठाउँबाट राजाहरू आएर बस्ने गरेको स्थानीयहरूको भनाई रहेको छ । खुल्ला मैदान, घना जङ्गल ,नजिकै रहेका नदी एवं खोला, एकान्त र सुनसान वातावरण रहेको यस ठाउँमा केहीदिनको विश्राम तथा पिकनिक जानका लागि उपयुक्त मानिन्छ ।

यस गुफाबाट करिव ३० मिनेट पश्चिम तर्फ लागेपछि ठूली भेरी नदीको किनार भएर पवित्र रिम्ना दोभानमा पर्ने मन्दिर तथा दोभान अवलोकन गर्न सकिन्छ ।

जहाँ सानी भेरी र ठूली भेरी नदीको मिलनपछि भेरी नदीका रूपमा बग्ने गर्दछ । भेरी नदीमा पौडिखेल्न र माछा मार्न सकिने भएकाले पनि नयाँ र नौलो अनुभवका लागि जानैपर्ने हुन्छ यस क्षेत्रमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *