जब दाम्पत्य कलहले बिथोल्छ पारिवारिक सुख

एउटा पुरानो कथा छ, झगडाको ओखती । कथा अनुसार श्रीमान–श्रीमतीबीच स–सानो कुरामा ठाकठुक परिरहन्छ । कुनै निहुँ पाउनसाथ उनीहरु एकअर्कालाई आरोप–प्रत्यारोप लगाउन थाल्छन् । झगडा हुन्छ । दम्पतीबीच बेलाबखत झगडा हुनु स्वभाविक हो । तर, उनीहरुबीच बारम्बार झगडा हुन्छ । घरको माहौल नै खराब हुन्छ ।

एकदिन श्रीमती एक वैद्यकहाँ जान्छन् । आफ्नो सममस्या सुनाउँदै भन्छिन्, ‘के झगडा कम गर्ने कुनै ओखति पाइन्छ ?’

वैद्यले एउटा बोत्तलमा कुनै तरल पदार्थ दिन्छन् र त्यसको प्रयोगबारे सुझाउँछन्, ‘जब–जब झगडा सुरु हुन्छ, तब यो ओखति मुखमा राख्नु ।’ झगडाको ओखती पाएर ति महिला दंग पर्छिन् । वैद्यले अरु सर्तकता गराउँछन्, ‘तर, ओखती मुखमा लिइसकेपछि निल्न वा थुक्न हुँदैन । झगडा साम्य नभएसम्म मुखमै लिनुपर्छ ।’

महिला घर पुग्छिन् । कुनै निहुँमा उनीहरुको झगडा सुरु हुन्छ । जसै झगडा सुरु हुन्छ, महिलाले ओखति मुखमा राख्छिन् । मुखमा ओखति राखेर बोल्नै नमिल्ने । श्रीमान एक्लै कराउँछन्, कराउँछन् । श्रीमतीले कुनै जवाफ नफर्काएपछि श्रीमान थाक्छन् । यो क्रम दिनहुँ चल्छ । जब श्रीमान कुनै निहुँ निकालेर कराउन थाल्छन्, श्रीमती चुपचाप । श्रीमान छक्क पर्छन् । त्यतीका गाली गर्दा पनि किन जवाफ फर्काउँदैनन् ? किन चुपचाप बस्छे ? श्रीमतीले जवाफ नफर्काएपछि उनी एक्लै कति कराइरहने ? आखिर श्रीमान पनि अब चुपचाप लाग्न थाल्छन् । यसरी उनीहरुबीच झगडा नै हुन छाड्छ । एकदिन वैद्यलाई ति महिलाले सोध्छन्, ‘खासमा यो कुन ओखित थियो जसले हामीबीच झगडा हुने क्रम रोक्यो ।’

वैद्यले भन्छन्, ‘खासमा त्यो कुनै ओखति थिएन, पानी थियो । तिमीले मुखमा पानी लिएपछि बोल्न मिलेन । बोल्न नमिलेपछि झगडा नै भएन । वास्तवमा झगडाको ओखति भनेको मौनता हो । चुपचाप बस्नु नै हो ।’

दम्पतीबीच मनमुटाव हुनु, ठाकठुक पर्नु अस्वभाविक होइन । व्यवहारिक तालमेल मिलाउने क्रममा उनीहरुबीच कतिपय मत मिल्दैन । त्यही विषयमा उनीहरु तर्क–विर्तक गर्न थाल्छन् । कतिपयले यस्तै विवादबाट आफ्नो समस्याको समाधान खोज्छन् भने कतिपयका निम्ति भने यो अरु जटिल समस्या बन्दै जान्छ ।

दम्पतीबीच हुने झगडाको सबैभन्दा ठूलो असर बालबच्चामा पर्छ । आमाबुवाबीच हुने मनमुटाव, ठाकठुकले बालबालिकाको खुसी र उमंगमा ग्रहण लाग्छ । उनीहरु उदास र दुःखी हुन्छन् । विभिन्न अध्ययनबाट के पाइएको छ भने झगडालु आमाबुवाको कारण बच्चाहरु असुरक्षित महसुष गर्छन् । यसले उनीहरुमा हीनताबोध पैदा गरिदिन्छ । त्यही हीनताबोधका कारण उनीहरु समाज, साथीभाई, आफन्तसँग खुल्न सक्दैनन् । सबैबाट आफुलाई लुकाउन खोज्छन् । यो मनोविकारले उनीहरुको व्यक्तित्व विकासमा ठूलो असर पु¥याउँछ ।

के पनि पाइएको छ भने, यसरी हुर्कने बच्चाहरुमा आपराधिक मनोवृत्ति विकास हुन्छ । उनीहरु कुलत वा अपराधकर्ममा लाग्छन् । क्रुरतापूर्वक व्यवहार गर्ने वा अपराधकर्ममा लागेका कतिपय व्यक्तिको पारिवारिक इतिहास हेर्दा के पाइन्छ भने उनीहरुको बाल्यकाल यस्तै तनावपूर्ण माहौलमा वितेको थियो ।

पछिल्लो एउटा अध्ययनले के पनि देखाएको छ भने झगडालु आमाबुवाको कारण बच्चामा हृदयरोगको खतरा हुन्छ । यो खतरा उनीहरुले जीवनभर मोल्नुपर्ने हुनसक्छ ।

दम्पतीबीच झगडा हुनु स्वभाविक भएपनि त्यो कुन अवस्थामा जोखिमपूर्ण हुन्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ । बालबच्चाको अगाडि झगडा गर्नु, स–सना कुरालाई पनि झगडाको निहुँ बनाउने, लामो समय झगडा गर्ने जस्ता प्रवृत्तिले दाम्पत्य सम्बन्धलाई त धरापमा पार्छ नै, बालबच्चा एवं परिवारका सदस्यले पनि मानसिक यातना भोग्नुपर्ने हुन्छ ।

झगडा एवं क्रोधको स्थितिमा त हामीले आफुलाई सम्हाल्न गाहो हुन्छ । यद्यपि मन शान्त भएको अवस्थामा आफ्नो बालबच्चालाई हेरौं, उनीहरुलाई पर्न सक्ने भावनात्मक चोटको अनुभूत गरौं । यसैगरी झगडा भइरहँदा एकअर्काले बोलेको कुरालाई गंभिरतापूर्वक लिने नगरौं । नेपालीमा एउटा उखान छ, ‘बुढाबुढीको झगडा परालको आगो ।’ अर्थात क्षणमै सल्कने र क्षणमै निभ्ने । झगडालाई भुसको आगो जस्तो बनाएर भित्रभित्रै सल्कन वा लामो समय रहन दिनु उचित हुन्न ।

अनलाइन खवर वाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *